विप्लव समूहले हत्या गरेका प्रधानाध्यापक श्रेष्ठको अन्त्येष्टि

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले बर्बरतापूर्वक ढंगले हत्या गरिएका मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको अन्त्येष्टि गरिएको छ।

प्रधानाध्यापक श्रेष्ठको बिहीबार मिक्लाजुङ–७ स्थित नुनसरी खोलामा र अन्त्येष्टि गरिएको हो। उनको शवमा छोरा छत्रले दागवत्ती दिएका थिए। 

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम पछि हिजो आफन्तले शव बुझेर घर ल्याएको पारिवारिक स्रोतले जनाएको छ। 

प्रधानाध्यापक श्रेष्ठको अन्त्येष्टिमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गुरुप्रसाद बराल, मोरङ क्षेत्र नं. १ का संघीय सांसद घनश्याम खतिवडा, प्रदेश सांसदहरु कुलप्रसाद साम्बा लिम्बू, उपेन्द्र घिमिरे, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य, स्थानीय तहका जनप्रतिनिधि, शिक्षक संगठनलगायतको उल्लेखिय सहभागिता रहेको थियो। 

शोक सभामा बोल्दै नेकपाका केन्द्रीय सदस्य गुरुप्रसाद बरालले प्रधानाध्यापक श्रेष्ठको बर्बरतापूर्वक ढंगले हत्या गर्नेलाई कडाभन्दा कडा कार्वाही गर्न सरकारसँग माग गरे। 

 विप्लव समूहले शिक्षकको हत्या गरी हिंसात्मक गतिविधि अगाडि बढाएकाले सरकार कठोर बन्नु पर्ने उनको भनाई छ। 

त्यस्तै, मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बाले शिक्षकको विभत्स तरिकाले हत्या गर्नु निन्दनीय कार्य भएको भन्दै दोषीलाई तत्काल पक्राउ गरी कार्वाही गर्न प्रदेश र केन्द्रीय सरकारको ध्यानाकर्षण गराए। 

उनले प्रधानाध्यापक श्रेष्ठलाई सहिद घोषणा गर्नु पर्ने माग गरेका छन्। 

सांसद लिम्बूले शिक्षासेवी तथा सामाजिक अगुवाको हत्या गर्दैमा क्रान्ति सफल नहुने भएकाले हिंसात्मक गतिबिधि रोक्न नेत्रविक्रम चन्दलाई अपिल गरे। पीडित परिवारले पनि दोषीलाई कडा कार्वाही गर्न माग गरेका छन्।

५४ वर्षीय प्रधानाध्यपक श्रेष्ठको विप्लव समूहले मंगलवार बिहान अपहरण पछि जङ्गलमा लगेर हत्या गरेको थियो। 

आफ्नोविरुद्ध सुराकी गरेको, नेता तथा कार्यकर्ता पक्राउ गराउनतर्फ लागेको र पार्टीका गतिविधि सुरक्षा निकायलाई जानकारी गराउन थालेको पाइए पछि हत्या गरेको विप्लव समूहले मंगलबार नै प्रेस वक्तव्य जारी गरी दाबी गरेको छ। 

प्रधानाध्यपक श्रेष्ठको हत्यापछि मिक्लाजुङ शोकमा डुबेको छ। विभिन्न संघ सङ्गठनले विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका छन्। 

शिक्षक संघ सङ्गठन, मानव अधिकारवादी संस्थाहरू, राजनीति दल, स्थानीय संघ संस्था, नागरिक समाजसमेतले विज्ञप्ति जारी गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।

प्रकाशित मिति: : 2020-12-10 16:15:00

प्रतिकृया दिनुहोस्