बर्दिया राष्ट्रिय निकुञ्जमा रातिको समयमा यात्रा प्रतिबन्ध

बर्दिया राष्ट्रिय निकुञ्जमा रातिको समयमा यात्रा प्रतिबन्ध लगाइएको छ। राति यात्रा गर्दा मानवीय क्षति हुने उच्च जोखिम बढेको भन्दै निकुञ्जले  रातिको समयमा यात्रा प्रतिबन्ध लगाएको  हो।

शनिबार एक सूचना जारी गर्दै निकुञ्जले राति ८ बजे देखि ६ बजे बिहानसम्म यात्रा गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको हो। 

शुक्रबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने सेनाको अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम राजमार्गको कुँवाभार भन्ने ठाउँ नजिकै गुडिरहेको मोटरसाइकलमा एक्कासी बाघले आक्रमण गरेको थियो। 

बाघको आक्रमणबाट कैलाली लम्कीचुहा नगरपालिका–४ का ५० वर्षीय आमा नन्दकला थापाको मृत्यु भयो।  

उनलाई बाघले गर्घनमा समातेर भुँईमा पछारेको थियो। ती महिलालाई उनका छोरा सन्तोष थापाले मोटरसाइकलमा पछाडि राखेका थिए।

उक्त आक्रमणमा परी मोटरसाइकलमा सवार सन्तोष पनि घाइते भएका छन्। बाघले महिला माथि आक्रमण गरेको सूचनापछि निकुञ्ज कर्मचारी र सेनाको टोलीले रातभर खोजी गरेको थियो। 

शनिबार विहान करिब सवा ९ बजे बल्ल नन्दकलाको शव क्षतविक्ष्त् अवस्थामा निकुञ्ज भित्र भेटिएको थियो। खोजी कार्यमा जुटेका निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले बाघले नन्दकलाको शरिरको कम्मरदेखि तलको भाग पुरै खाएको अवस्थामा भेटिएको जानकारी दिए।

उनका अनुसार पूर्वपश्चिम राजमार्गको निकुञ्ज क्षेत्र भित्र पर्ने अम्रेनीदेखि कर्णाली चिसापानी क्षेत्र निकै जोखिम मानिन्छ। यस क्षेत्रमा बाघ,गैँडा र हात्तीलगायतका वन्यजन्तुको बढी आवागमन हुनेगर्छ। 

वन्यजन्तुबाट मानविय क्षती कम गर्न यस क्षेत्रमा रातिको समयमा सवारीसाधनलाई एक्ला एक्लै हिँड्न नदिइ ४/५ वटा सवारीसाधन एकैसाथ जान निकुञ्जले निर्देशन दिने गरेको छ। 

यता बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले दिन दहाडै मानिसलाई आक्रमण गर्न थालेपछि रातिको समयमा यात्रा प्रतिबन्द लगाइएको बिएल नेपाली सेवालाई बताए। 

पूर्वपश्चिम राजमार्गको अम्रेनीदेखि कर्णाली चिसापानी क्षेत्रमा वन्यजन्तुको बढी आवतजावत हुने गरेको र रातिमा समयमा मोटरसाइकलमा यात्रा गर्दा वन्यजन्तुबाट जोखिम बढी हुने भएकाले यात्रुहरुको सुरक्षाका लागि मोटरसाइकलमा यात्रा गर्न निषेध गरिएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठको भनाइ छ।

प्रकाशित मिति: : 2021-01-02 21:14:00

प्रतिकृया दिनुहोस्