लागुऔषध कारोबारी गिरोहको कनेक्सन काठमाडौंदेखि झापासम्म (भिडियाे)

डिल्ली पाण्डे

काठमाडाै‌ं

दक्षिण अफ्रिकामा उत्पादित लागुऔषध नेपाल ट्रान्जिट हुँदै भारत पुग्ने गर्छ। अनि भारतबाट विभिन्न बजारमा फैलिने गरेको पाइएको छ । 

त्यस्तै, भारतबाट लागुऔषधजन्य औषधि नेपाल भित्रिने गर्छ। खुला सिमानाका कारण प्रहरीलाई भारतबाट नेपाल आउने अवैध लागुऔषधलाई नियन्त्रण गर्न निकै मुस्किल पर्ने गरेको छ। भारतबाट नेपाल आउने लागुऔषधमा औषधिका रुपमा प्रयोग हुने र खैरो हेरोइन रहेको प्रहरीको निष्कर्ष छ । 

त्यसै गरी, नेपालबाट गाँजा, अफिम तथा चरेश बाहिर जाने गर्छ भने, कोकिनलगायत महंगो लागुऔषध अन्य मुलुकबाट नेपाल हुँदै भारत पुगेर विभिन्न देश फैलन्छ। 

प्रहरीले पटक–पटक लागुऔषध सहित मानिस पक्राउ गर्ने गरे पनि यो कारोबारलाई भने निमिट्यान्न पार्न सकेको छैन। 
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले बुधबार ठुलो परिमाणको खैरो हिरोइन सहित नौ जनालाई सार्वजनिक गरेको छ। प्रहरीले सार्वजनिक गरेका नौ जना लागुऔषधका कारोबारी हुन्। 

प्रहरीले उनीहरुको साथबाट ५ सय ३६ ग्राम अवैध लागुऔषध खैरो हेरोइन बरामद गरेको जनाएको छ। 

पक्राउ पर्नेमा इलाम जिल्लाको माई नगरपालिका–४ का सन्दीप राई, दीपक राई, केसाङ योल्मु, मनाङका टासीसण्डुप गुरुङ र पाँचथरको फालेलुङ्गका भीमप्रसाद लोवा छन्। 

त्यस्तै, झापाको बुद्धशान्ति गाउँपालिका–३ का दिनेश कुमाल, सन्तोष सापकोटा, राजेश श्रेष्ठ र इलामको माई जोगमाईका सोनाम कागते रहेका छन्। 

प्रहरीले उनीहरुको साथबाट खैरोहेरोइन पाँच सय ३६.३ ग्राम, एम्फेटामाइन ७.५ ग्राम, नेपाली रुपैयाँ छ लाख ७१ हजार पाँच सय र अमेरिकी डलर छ हजार एक सय, लागुऔषध जोख्ने २ थान मेसिन तथा तीन वटा सवारी साधन बरामद गरेको जनाएको  छ।
 
पक्राउ परेको गिरोहका मुख्य नाइके इलामका केसाङ योल्मु भएको प्रहरीले जनाएको छ। पक्राउ परेका अन्यलाई नाइके योल्मुले नै सञ्चालन गर्नेगरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

‘पक्राउ परेको गिरोहले ‘होलसेल’ मा लागुऔषध बिक्री गर्ने गरेको पाइयो’, नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोका प्रमुख एसएसपी दीलिप चौधरीले भने, ‘उनीहरुले काठमाडौं उपत्यकाभरि लागुऔषध बेचविखन गर्दै आएको खुल्यो । हामी थप अनुसन्धान गरिरहेका छौँ।’ 

पक्राउ परेको गिरोहको काठमाडौंदेखि  पूर्व झापासम्म ‘कनेक्सन’ भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-01-20 18:09:00

प्रतिकृया दिनुहोस्