असत्यसँग नझुकेकी सत्यवती (भिडियाे)

प्रेरणादायी महिला–५

‘दश वर्षको उमेरमा विवाह भयो। ६ महिनामै  श्रीमान बित्नुभो। पछि ससुराली गए। उता देवर र देउरानीको गाली बेइज्जती खेप्नु पर्‍यो। माइतमा आएँ। डाका, बदमास लगाए। पछि माइतमै आए। पछि अंश पाउ भनि अदालतमा मुद्धा हाले। अंश पनि लिए। बुवा बित्नुभो। आमा हुनुहुन्थ्यो। भाउजुसँग पनि कुरा मिलेन। त्यसपछि एक्लै बस्न थाले,’ यो भनाइ हो, कुनै बेला मधेश राजनीतिमा आफ्नो बलियो उपस्थिति जनाएकी प्रभावशाली नेतृ सत्यवती कुर्मीको। 

बुवा राजाराम कुर्मी र आमा चन्द्रकला कुर्मीको कोखबाट दोस्रो सन्तानको रुपमा उनको जन्म २०१० सालमा तत्कालिन बेलारी गाविस वडा नम्बर ७ बकाकु ९हाल,खजुरा गाउँपालिका० मा भएको थियो। विवाह भने २०२० सालमा भयो।  

फागुन महिनामा मागी विवाह गरेकी सत्यवतीको दुभाग्यवस भदौं महिनामा सिउँदो पुछियो। उनलाई ६ महिना मात्र श्रीमानसँग बिताएको पल याद छ। १० वर्षको कलिलो उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी उनलाई श्रीमान बितेको पनि याद छैन। विहेको कुरा त परै जाओस्। ‘उहाँ कालो वा गोरो कस्तो हुनुहुन्थ्योरु त्यो पनि थाहा छैन,’ उनले भनिन्। 

यसै पनि नेपाली समाजमा विधुवालाई हेर्ने दृष्टीकोण त्यति राम्रो छैन। यसमा पनि बालविधुवाको अवस्था के होलारु त्यो सबैले अनुमान लगाउने विषय हो। सत्यवतीले पनि श्रीमानको मृत्युपछि अनेक दुःखकष्ट भोगिन्। उनले अंशको लागि २०२९ सालमा एक्लै मुद्दासमेत लड्नु पर्यो। उनको जीवननै राजनीति, महिला अधिकार र व्यवसायमा बित्यो। 

उतार–चढावयुक्त राजनीतिक यात्रा

सत्यवतीको राजनीतिक यात्रा भने तत्कालीन पञ्चायती व्यवस्था विरुद्ध सञ्चालन गरिएको ‘गाउँ फर्क राष्ट्रिय अभियान’बाट सुरु भएको हो। यतिबेला खजुरा र बेलारी जोडेर गिजरा बनाइएको थियो। सरकारको तर्फबाट उनी मनोनित सदस्य भइन्। त्यसपछि उनको राजनीतिक आउँजाउँ बढ्यो। 
२०३६ सालमा उनले राजनीतिसँगै व्यवसायलाई पनि अंगालिन्। ‘राइस मिल’ उनको पहिलो व्यवसाय हो। भन्छिन्, ‘राजनीति पनि गरे। सँगै व्यवसाय पनि अघि बढाएँ। मिल चलाएँ।’ उक्त मिलमा उनी आफै कुटाइ, पिसाइ, पेलाइ सबै गर्थिन्। मिल तीन वर्ष चल्यो।  उनले २०३९ सालमा मिल हटाएर ग्रील उद्योग सञ्चालन गरिन्। उनको ग्रील उद्योग अहिले पनि सञ्चालनमा छ। उनी बाँकेमा ग्रील उद्योग खोल्ने पहिलो महिला व्यवसायी पनि हुन्। 

ग्रील उद्योगलाई उचाई दिन आफूले गरेको संघर्षबारे सुनाउँछिन्, ‘आफै घन लगाउँथे। फूलबुट्टा हाल्ने र बेल्डिङ गर्ने गर्थे।’ नगर बसमा ग्रील राखेर उनी बिक्री गर्न निस्किन्थिन्। त्यो ग्रील उद्योग २०६७ सालसम्म उनकै स्वामित्वमा सञ्चालन भयो। पछि उनी हेटौडा सिमेन्टको  अध्यक्ष नियुक्त भइन्। डेढ वर्ष उतै बसिन्। पछि अरुलाई नै उद्योग सञ्चालन गर्न दिएर बाँके फर्किएर पेट्रोल पम्प खोलिन्।

केहि वर्षपछि  पेट्रोल पम्प अर्कैलाई जिम्मा दिएर  दुई तले घर बनाइन्। अहिले उनी त्यस घरमा एक्लै बस्छिन्। उनी भन्छिन्,‘जनमत संग्रहमा राजालाई साथ दिए। पछि बहुदलको पक्षमा मोटरसाइकलमा पर्चा लुकाएर पनि प्रचार गरियो।’ 

पञ्चायतकालमा महिलालाई राजनीति गर्न ‘फलामको च्युरा चपाए’ सरह थियो। राजनीति गर्ने क्रममा उनलाई चरित्रहिन महिला भएको बात पनि लाग्यो। राजतन्त्र कै समयमा  सहकर्मीबीच मतभेद पनि भयो। बारम्बार उनको चरित्रको विषयमा प्रश्न उठाइयो। तर, उनले हार खाइनन्। 

सद्भावना पार्टीका संस्थापक नेता गजेन्द्रनारायण सिंहसँग भेट भएपछि उनमा अर्को उर्जाको सञ्चार भयो। गज्जुबाबुसँग उनको भेट भैरहवामा भएको थियो। सद्भावनाका संस्थापक पार्टी विस्तारका क्रममा भैरहवा आउँदा सत्यवतीको राजनीतिक उर्जाशीलता देखेर दंग परेका थिए। त्यसैले उनले सत्यवतीलाई पार्टीमा आवद्ध हुन औपचारिक निम्तो दिएका थिए। उनले गज्जुबाबुको आग्रहलाई नाई भन्न सकिनन्। उनलाई सद्भावना पार्टीले २०४८ सालको स्थानीय चुनावमा  टिकट पनि दिएको थियो। 

२०५१ सालको संसदीय चुनावमा पनि उनलाई टिकट उपलब्ध गराइएको थियो। २०५६ सालको चुनावमा पनि उनले टिकट पाइन्। तर यतिबेला भने उनले चुनावमा उठ्न अस्वीकार गरिन्। यतिबेला उनले  जिल्लाका नेता हरदेउ वकसलाई टिकट दिन आग्रह गरेकी थिइन। हरदेउ र उनीबीच पछि गएर मतभेद सुरु भयो। हरदेउले पार्टी छोडे भने सत्यवती सद्भावनाको राजनीतिमै सक्रिय रहिन्। 

उनको राजनीति हेटौडा सिमेन्टको अध्यक्ष भएपछि छुटेको थियो। सद्भावनाका नेताहरु हाल जसपा (जनता समाजवादी पार्टी) मा आवद्ध छन्। उनी भने स्वास्थ्यका कारण सक्रिय छैनन्।  सत्यवती सदभावनाको केन्द्रीय उपाध्यक्षसम्म भइन्। ‘न राजिनामा दिएको छु। न त नयाँ सदस्यता लिएको छु। नेताहरु आए भने घरमै भेट हुन्छ,’ बिएल नेपाली सेवासँग उनले भनिन्। 

राजनीतिमा खासै सक्रिय नभए पनि तलतल भने मेटिएको छैन। हालको राजनीतिक अवस्था हेर्दा उनलाई निकै दुःख लागेको छ। हिजो उनले जुन वर्गको लागि संघर्ष गरिन्, ती वर्ग समूहको विकास नभएको देख्दा उनलाई निकै पीडाबोध हुन्छ। उनी भन्छिन्, ‘आफू खाने र जनतालाई दुःख दिने शाषन अहिले चलिरहेको छ।’ 
 
बाल्यकाल यसरी सम्झिन्छिन् सत्यवती

बाल्यकालदेखि नै निडर, चतुर र जिद्धि स्वाभावकी सत्यवतीले सधै सत्यलाई पछ्याइरहिन्। फट्याई गर्न कहिले नजानेको उनको दावी छ। सम्झिन्छिन्, ‘म पुलती बनाउँथे। भाँडाकुडी खेल्थे। तर पनि मलाई केटा मान्छेले गर्ने काम मनपर्थ्यो।’ 

त्यसै भएर होला केटी साथीभन्दा केटा साथीसँग बढी खेल्न रुचाउँथिन्। उनी केटाले लगाउने जाँगिया (हाप प्यान्ट), इन्डियाको कुनौरी टोपी जस्तै दुई ठाउँमा कुना भएको टोपी लगाउँथिन्।  कपाल सधै छोटो हुन्थ्यो।  उनको स्वभाव गाउँका अन्य केटीहरुभन्दा फरक थियो। गाईँभैसी चराउने काम मात्र होइन, उनले दुहुने काम पनि गरिन्। सत्यवती आमाभन्दा बढी बुवासँग बस्न रुचाउँथिन्। उनी नेपालगञ्ज आसपास थुप्रै पल्ट हुँइकिइन, त्यही बढिन पनि। बुढेसकाल अहिले यही बिताइरहेकी छिन् । 
 

यस्तो थियो नेपालगञ्ज

आजभन्दा चार दशक पहिले नेपालगञ्जको मुख्य सडक ग्राभेल थियो। त्यो पनि राम्रो थिएन। गाडी पनि चलिसकेको थिएन। यहाँ सबैभन्दा बढी  राँगा र लडिया हुन्थ्यो। बस्ती पनि ठूलो थिएन। बाटाघाटा परको कुरा। नेपालगञ्जको स्मरण गर्दै उनी भन्छिन्, ‘यो धम्बोजी त गाउँ हो। खाली जग्गा मात्रै थियो। चौराहादेखि कारकादोसम्म खाली नै खाली।’ 

नेपालगञ्जमा नेपाल आर्मीको एउटा सानो गुल्म थियो। ‘पुलिसको अगाडि र   घोडाको पछाडि कहिल्यै नजानु’ भन्छन्, सत्यवतीका बुवालाई त्यही बेला गुल्म नजिकै जग्गा किन्ने अफर आएको थियो। बुवाले स्वीकार पनि गरे। अहिले त्यो जग्गाको मूल्य करोडौंमा पुगेको छ। यस ठाउँमा साइकल चढ्ने पनि उनी पहिलो महिला हुन्। 

त्यो साइकल उनले २०३५ सालामा बहराइचबाट खरिद् गरेर ल्याएकी थिइन्। २०४३ सालतिर मोटरसाइकल चढिन्। त्यतिबेला साइकल पेल्दै चिसापानी र ढकेरीसम्म पुगेको सम्झना अहिले पनि उनलाई ताजै छ। 
 
असत्यसँग कहिल्यै झुकिनन्

आफू निडर, निर्धक्क बोल्न सक्ने र  सत्य कुरामा अडिग रहने प्रेरणा बुवाबाट मिलेको उनी बताउँछिन्। उनको लामो समय पुरुषसरह समान अधिकारका लागि आवाज उठाउँदै बित्यो। उनको सक्रियताका कारण नेपालगञ्जमा महिला अधिकारका क्षेत्रमा उल्लेख्य प्रगति पनि भएको छ। उनी उपभोक्ता समितिदेखि हरेक निकायमा महिलाको अर्थपूर्ण सहभागिता  रहनु पर्ने आवाज उठाउँदै आइरहेकी छिन्। मधेशी समुदायमा अहिले पनि महिलाहरु खुल्न सकेका छैनन्। त्यसले उनको संघर्षको कथा धेरैलाई अचम्म र अविश्वसनीय पनि लाग्न सक्छ। तर उनले जे जति प्राप्त गरिन आफ्नै बलबुताले। 
बाल्यकालमा श्रीमान बितेपनि किन विवाह नगरेकोरु यो उनीमाथि प्रायस् तेर्सिने प्रश्न हो। एकपल्ट अन्तशुल्क कार्यालयका हाकिमले आफूलाई सोधेको प्रश्न रोचक पारामा बिएल नेपाली सेवालाई सुनाउँदै उनले भनिन्, ‘नेताजी तपाईले किन  फेरि विवाह नगर्नु भएको?’

यतिबेला उनको सहज उत्तर थियो–‘किन गर्ने सर विवाह। स्वास्नीलाई श्रीमान चाहियो कमाएर ल्याउने। लोग्नेलाई स्वास्नी पकाएर खुवाउने। म पकाएर खान सक्छु। कमाएर अरुलाई खुवाउन सक्छु।’ 
उनको उत्तर सुनेपछि त्यहाँ उपस्थित सबै जिल्ल परे।
 
चुरोट र बिडीकी अम्मली

यति भन्दै गर्दा दमकी रोगी उनले ख्वाक्क गरिन्। अहिले दमको औषधि खाइरहेकी छन्।  दमको औषधि खान थालेको पनि १० वर्ष बितिसकेछ। लामो समय राजनीतिक दौडधुप र ग्रिल उद्योगमा काम गर्दा त्यहाँको धुँवा  र धुलोको असर उनमा गडेको छ। कुराकानीको क्रममा उनले आफ्नो गोप्य कुरा खोलिन्, ‘मैले चुरोट बढी पिएर यस्तो समस्या भएको हो।’

कुनै समय उनी चुरोटकी अम्मली थिइन। ओहो चुरोट पनि पिउनुहुन्थ्यो भन्ने बिएल नेपाली सेवाको प्रश्नमा उनले भनिन्, ‘होनी एक दिनमा एक बट्टा ९२० खिलीको चुरोट० सकाउँथे। अहिले त छैन।’

उनले सानै उमेरदेखि चुरोटको अम्मल बसेको  बताइन्। चुरोटको अम्मल बारे उनको भनाई अनौठो छ। ‘मेरो पेट प्रायस् दुखिरहन्थ्यो। आफन्तलाई देखाउन गएको उहाँले भन्नु भयो– केही दिन बस्नु निको हुन्छ। उहाँ हुक्का तान्नुहुन्थ्यो। उहाँको बलमा हुक्का लगाए। उहाँले पेट दुस्ख्न छोड्छ भन्नुभयो। त्यहाँ लामो समय बसेकोले पछि बानी नै बस्यो,’ उनले भनिन्। 

घरमा हुक्का थिएन। त्यसैले बिडी पिउन सुरु गरिन्। राजनीतिक जमघटमा जाँदा पनि आशा, याक चुरोट र लाइटर बोकेर हिँड्थिन्। सूर्य चुरोट अहिले जस्तै महंगो थियो। कतिपय पुरुष नेतासँगै आफूले चुरोट पिएको उनले बताइन्।  कतिपय नेताहरुलाई काठमाडौं जाँदा चुरोट नासो लिन्थिन्, उनी। अहिले पान खान्छिन्। आफै बनाउँछिन्। त्यसको असर दाँतमा प्रष्ट देख्न सकिन्छ।  

उतिबेला उनी सानो झोला बोक्थिन्। त्यसमा सूर्ति, सुपारी,पान र चुरोट हुन्थे। बीचमा तीन पटक चुरोट छोडिन्। तर लामो समय टिक्न सकेन। एकपटक अस्पतालमा जचाउन गएकी थिइन्। डाक्टरले टिभीको शंका गरेपछि भने चुरोट पिउने मन भएन। रक्सी र मासु भने उनले कहिल्यै खाइनन्। शाहाकारी हुन्। अहिले डेरामा मासु खाने मान्छे आएभने बस्न दिन्नन्। 

सानैदेखि आलोचनात्मक चेत भएकी सत्यवती अहिले हरेक कुरालाई सुक्ष्मकोणबाट विश्लेषण गर्ने र आफ्नो राय प्रस्तुत गर्ने ल्याकत राख्छिन्। हिजो ढोकाबाट बाहिर ननिस्कने महिलाहरु अहिले आफ्नो अधिकारका लागि न्यायको ढोकासम्म पुगेको देख्दा उनलाई खुसी लाग्छ। मधेशी समुदायमा १६ वर्ष मै विवाह गर्न पाउनुपर्ने मागसहित आन्दोलन हुने गरेको प्रश्नमा उनी भन्छिन्, ‘मधेशी समुदायमा अहिले पनि सशक्तिकरणको खाँचो छ। सबैभन्दा ठूलो समस्या अशिक्षाको हो।’ 

प्रकाशित मिति: : 2021-01-27 20:54:00

प्रतिकृया दिनुहोस्