कांग्रेस बैठक

गगनहरूलाई उत्साह, देउवाका लागि हर्ष न बिस्मात !

चौधौ महाधिवेशनको करिब ११ महिनापछि मंगलबार सानेपाको विपीस्मृती भवन (नेपाली काँग्रेस केन्द्रीय कार्यालय) गजक्कै भरिएको थियो। देशभरिबाट जुटेका काँग्रेस केन्द्रीय सदस्यहरू अनि उनीहरूलाई पछ्याउँदै पुगेका पत्रकारहरूको भीड। 

पार्टी सभापतिको मौनता अनि दोस्रो तहका नेताहरूमा जागेको ‘नेतृत्व परिवर्तन’ भोक। आम काँग्रेसी कार्यकर्ताहरू ‘युवा’ र ‘पाका’ काँग्रेसीबीच अधिवेशनदेखि नै चल्दै आएको यो अन्तरसंघर्षले अन्योलपूर्ण अवस्थामा थिए। 

‘विशेष महाधिवेशन’ माग्दै परिवर्तनको हुँकार बोकेका एकथरि ‘युवा’ नेताहरूले एकातिर देशव्यापी अभियान चलाइरहँदा महामन्त्री गगन थापा भने सके पार्टीकै नेतृत्व वा नसके संसदीय दलको नेता फेर्ने अभियानमा लागिरहेका छन्। 

महाधिवेशनपछिको ‘गठबन्धन’वाला चुनाव अनि त्यसको परिणाम र त्यसपछिको राजनीतिक दृश्यबाट झनै आत्तिएका काँग्रेसीहरूका लागि यो बैठकमा निकै अन्योलपूर्ण र लामो प्रतीक्षा थियो। पटक पटक विभिन्न बाहानामा सर्दै आएको केन्द्रीय समितिको बैठक अब भने सुरु भएको छ।  

कुनै राजनीतिक उथलपुथल भएन भने सानेपाको यो दृश्य अब केही दिनसम्म यस्तै रहनेछ। मंगलबारदेखि केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। ११ महिनादेखि एकै साथ यसरी आफ्नो नेतृत्वलाई भेट्न नपाएका केन्द्रीय सदस्यहरू अबका केही दिन आमने-सामने संवाद गर्नेछन्। 

धेरैपछि जुटेका यी केन्द्रीय सदस्यको उपस्थितिले भरिभराउ भएको यो कार्यालयमा पार्टी नेतृत्वले केन्द्रीय सदस्यको गुनासो सुन्नेछ। सुझाव संकलन गर्नेछ र पार्टीको भो कार्य योजनाहरू बनाउने छ। 

मंगलबार १ बजेदेखि सुरु हुने भनिएको केन्द्रीय समितिको बैठक केही ढिला गरी सुरु भयो। १ बजेसम्म पार्टी सभापति शेरबहादुर देउवा आइपुगेका थिएनन्। महामन्त्री गगनकुमार थापा पनि अलि ढिला आए। 

सभापति र महामन्त्रीको पर्खाइमा बसेका अन्य नेता कार्यकर्ताहरू बैठक सुरु हुनुभन्दा अघि आआफ्नै समूहको भलाकुसारीमा थिए। धेरैपछि भेट भएका उनीहरू सञ्चोविसञ्चो अनि एकअर्कोसँग हालखबर सुन्दै र सुनाउँदै थिए। भेटिएकाहरूसँग सेल्फी लिने अनि फोटो खिचाउनेहरू पनि थिए। 

पहिलापल्ट नेपाली काँग्रेसको बैठक संसारभरिका सबैले हेर्न पाए। अघिल्लो दिन पदाधिकारीहरूसँग छलफल गर्दा सभापति देउवाले नै केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव गरेका थिए। 

बैठकका लागि कुरिरहेका सदस्यहरूले त्यसबारेमा बहस गर्न भ्याए, बैठक बाहिरै। 

कसैले यसलाई राम्रो भने कसैले राम्रो होइन भन्ने तर्कहरू गर्दैथिए। 

एक जना केन्द्रीय सदस्यले भनेका थिए ‘पारदर्शी हुनु राम्रो हो तर पारदर्शी बनाउनुछ भन्दैमा सबै कपडा पनि त खोल्नु भएन नि!’ उनले बैठक प्रत्यक्ष प्रशारण भएमा नेतृत्वमाथि राखिने आफ्ना विचारहरू संकुचित हुनसक्ने आंकलन गरे। 

नेताहरूको उपस्थिति बढ्दै थियो। महामन्त्री गगनकुमार थापा आइपुगे। सधैजस्तै उस्तै उज्यालिएको अनुहार लिएर। उस्तै पहिरन अनि उस्तै आत्मविश्वासको मुस्कान थियो। हातमा डायरी बोकेका उनलाई कैद गर्न एकछिन पत्रकारहरूलाई भ्याइनभ्याइ भयो। 

सकेजति अभिवादन फर्काउँदै उनी बैठककक्षतिर छिरे। 

एकै छिनपछि सभापति देउवा आइपुगे। सधैजस्तै उनी पनि एकनाश थिए। बोल्न नखोज्ने मौनता छाएको मुहार।

हतार-हतार गाडीबाट ओर्लेर उनी सुरक्षाकर्मीको घेराबाट अघि बढ्दै बैठक कक्षमा छिरे। अर्का महामन्त्री चाँडै पुगिसकेका थिए। लाग्थ्यो यो बैठक उनका लागि उत्साह थियो न विस्मात। 

देउवाको प्रवेशसँगै बैठक सुरु भयो। केही बेर पत्रकारहरूले फोटो अनि भिडियो खिचे। लगभग २ दुई बजेदेखि सुरु भएको बैठक सचिवालयले पार्टीको आधिकारिक फेसबुक पेजबाट ‘लाइभ’ गर्‍यो। यो बैठकलाई नेपालका सबैजसो सञ्चारमाध्यमले पनि प्रत्यक्ष प्रशारण गरेका थिए। काँग्रेसकै पेजबाट निरन्तर करिब २ हजारभन्दा धेरैजना बैठक प्रत्यक्ष हेर्न र सुन्न जोडिइरहेका थिए।  

अजेण्डाहरू प्रवेश भए, बुधबारदेखि केन्द्रीय सदस्यहरू बोल्न पाउने

करिब एकघण्टा ढिला सुरु भएको केन्द्रीय समिति बैठकमा एजेण्डाहरू पेशमात्रै भए। त्यसमाथि छलफल भने हुनसकेन। कुन विषयमा छलफल हुने भन्ने विषय प्रवेश पाएको भएपनि छलफलका लागि बुधबारबाट फ्लोर ओपन हुने प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए। 

मंगलबार सभापति देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेपछि महामन्त्री विश्वप्रकाश शर्माले बैठकमाथिका प्रस्तावकाबारेमा जानकारी गराएका थिए। त्यसपछि पार्टीका कार्ययोजनाहरूका बारेमा अर्का महामन्त्री गगन थापाले प्रस्तुती दिए। 

मंगलबार गोपालमान श्रेष्ठले निर्वाचनमा भएको काम, उपलब्धि र निर्वाचनपछि सरकार गठनका समयमा भएका कामहरुको बारेमा जानकारी गराए।  आनन्दप्रसाद ढुंगानाले निर्वाचनका समयमा पार्टीविपरीत भएका गतिविधिका विषयमा पार्टीमा अनुशासनको स्थितिबारे जानकारी गराए। संसदमा पार्टीको उपस्थितिका बारेमा सांसद रमेश लेखकले जानकारी गराए। 

उपसभापति पूर्णबहादुर खड्काले सरकार सञ्चालन, सरकारका काम कारबाही र आम नागरिकको दृष्णिकोणबारे आफ्ना भनाइहरू राखे। उनले सरकारले गरेका गतिविधिहरूका बारेमा चर्चा गरे। 

बुधबारदेखि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्न पाउनेछन्। बिहान ११ बजेदेखि सुरु हुने बैठकमा हरेक केन्द्रीय सदस्यलाई आफ्ना भनाइ राख्न ७ मिनेटको समय छुट्याइएको छ।


कांग्रेस ‘नियति’को उही बाटोमा डोरिँदैछन्, गगन

देउवा ‘फाल्न’ सक्दैनन्, गगनले

प्रकाशित मिति: : 2023-07-18 21:40:00

प्रतिकृया दिनुहोस्