‘गजल स्रमाट’ को जन्मदिनः छोराको निधनपछि जगजित सिंह गीत नगाउने मनस्थितिमा पुगिसकेका थिए 

तस्वीर: एजेन्सी
तस्वीर: एजेन्सी

गजल सम्राट जगजीत सिंहको आज जन्मदिन हो। संगीतकार र गायकको रूपमा उनको प्रसिद्धि भारतमा मात्र छैन, विश्वभरि छरिएको छ। 
जगजित सिंहको खास नाम जगमोहन सिंह हो। जसको जन्म ८ फेब्रुअरी १९४१ मा राजस्थानको श्री गंगानगरमा भएको थियो। गजल गायकको रूपमा निकै शान्त र सालीन देखिने जगजित सानोमा निकै छुकछुके थिए। उनको बुवाले छोराको संगीतप्रतिको आशंक्ति देखेर सानैमा संगीत शिक्षक उपलब्ध गराएका थिए। जसका कारण जगजितको पढाई र संगीत एकैपल्ट अगाडी बढेको थियो। 

उनी परिवारलाई थाहानै नदिइकन भागेर मुम्बई पुगेका थिए। उनले पण्डित छगनलाल शर्मा र उस्ताद जमाल खानसँग संगीतको शिक्षा लिए। उनले १९६१ देखि नै अल इन्डिया रेडियोमा गीत गाउन सुरु गरिसकेका थिए। उनले बलिउडमा काम गर्न निकै संघर्ष गर्नुपर्यो। उनले दुःखको दिन मुम्बईमा एउटा विज्ञापनका लागि जिंगल तयार पारेका थिए। अलिपछि उनको प्रवेश बलिउडमा भयो। 

१९६७ मा जगजित कामको खोजीमा मुम्बईमा यताउती डुलिरहेको अवस्थामा गायिका चित्रासँग भेट भयो। चित्राको पहिले नै विवाह भइसकेको थियो। तर, दुबैको भेट प्रेममा परिणत भयो र भेट भएको दुई वर्षभित्र १९६९ मा चित्राले आफ्नो पहिलो श्रीमानसँग पारपाचुके गरेर जगजितसँग विवाह गरिन्। 

एक अन्तर्वार्तामा चित्राले भनेकी थिइन, ‘पहिलो पल्ट जगजितको गीत सुन्दा मलाई मन परेको थिएन।’ तर, पछि उनी जगजितको गीतको फ्यान भइन। १९८० को दशक आइपुग्दा जगजित ‘गजल किङ’ को रुपमा चिनिन थालिसकेका थिए। दुबैले मिलेर थुप्रै कन्सर्ट गरे। 
छोरा विवेकको जन्मपछि दुबैले १९७७ मा एउटा एल्बम ‘द अनफर्गेटेबल’ रिलिज गरेका थिए। जुन निकै हिट भयो। एल्बममा रहेको ‘बात निकलेगी’ गीतले जगजितको लोकप्रियता ह्वात्तै बढेको थियो। 

जगजितको अर्को एल्बम ‘द लेटेस्ट’ १९८० मा रिलिज भयो। यस एल्बममा समेटिएको एउटा गीत ‘कागज कि कस्ती, वो बारिसका पानी’ पनि निकै हिट भयो। यो एल्बम जगजितको सर्वाधिक बिक्रि भएको एल्बममा पर्छ।    

एउटा कार दुर्घटनामा २० वर्षको छोराको निधन भएपछि उनी संगीत पेशाबाटै सन्यास लिन चाहन्थे। तर, उनको फ्यानले त्यस्तो गर्न दिएनन्। उनलाई लगातार गीत गाउने आग्रह भइरहयो। उनको श्रीमती चित्राले १९९० मा छोराको निधनपछि गाउन छोडिदिइन्। तर, उनी पुनः संगीत क्षेत्रमा फर्किए। 
छोराको निधनपछि कमब्याक भएको उनको एल्बम थियो, लता मंगेश्करसँगको ‘सजदा’। पछि उनले ‘अर्थ’, ‘साथ–साथ’ र ‘प्रेमगीत’ जस्ता फिल्ममा आवाज पनि दिए। सरफरोश फिल्ममा ‘होसवालो को खबर क्या’, दुश्मन फिल्ममा ‘चिट्ठी ना कोइ सन्देश’ र तरकिब फिल्ममा ‘किसका चेहरा अब मैं देखु’ जस्ता हिट गीत गाएर फेरि उनी आफ्नो फ्यानको दिलदिमागमा बसे। उनले टिभी शृंखला ‘मिर्जा गालिब’ मा पनि संगीत दिएका थिए। 

२०११ मा आफ्नो ७० औं जन्मदिनमा उनले एउटा कन्सर्टको पनि आयोजना गरेका थिए।

बेलायत, सिङ्गापुर, मोरिससमा कन्सर्ट गरेर फर्केपछि उनी मुम्बईमा गुलाम अलीसँग गीत गाउने तरखरमा थिए तर ब्रेन हेमरेजका कारण यो अभियान सफल भएन। दुई साता कोमामा गएका ‘गजल किङ’ ले १० अक्टुबर २०११ मा सबैसँग बिदा लिए। उनको निधन भएको ९ वर्ष बितिसकेको छ। तर, अझै उनी सबैको मनमस्तिष्कमा बसेका छन्।

प्रकाशित मिति: : 2021-02-08 08:42:00

प्रतिकृया दिनुहोस्