श्रीमानको सम्झनामा सरस्वती मन्दिर निर्माण 

विजय साह

जनकपुरधाम

धनुषाको मिथिला नगरपालिका वडा नं. ४ पुष्पवलपुरमा एक महिलाले दिवङ्गत श्रीमानको स्मृतिमा  मन्दिर निर्माण गरेकी छन्।

श्रीमान् स्वर्गीय बल बहादुर खातीकोे सम्झनामा उनकी श्रीमती प्रेमा खातीले पुष्पवलपुरमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा सरस्वती मन्दिर निर्माण गरेकी छिन्।  

स्वर्गीय बल बहादुर खाती सो विद्यालयको संस्थापक थिए। समाजसेवी समेत रहेका स्वर्गीय बल बहादुरले २०१९ सालमा विद्यालय स्थापना गरेका थिए। दिवङ्गत श्रीमानको सम्झनामा विद्यालय परिषर भित्र ३ लाख बराबरको सरस्वती मन्दिर निर्माण गरेको श्रीमति प्रेमाले बताइन्।

श्रीमानले स्थापना गरेको यस विद्यालय हाताभित्र सरस्वती माताको मन्दिर बनाउने इच्छा धेरै पहिलादेखि नै भएपनि यसपाली बनाउन सफल भएकोमा उनले खुशी व्यक्त गरिन्। प्रेमाले मन्दिरभित्र सरस्वती माताको शालिक पनि स्थापना गरेकी छिन्।  

'शिक्षा र समाजिक क्षेत्रमा श्रीमानको जस्तो योगदान गर्न नसके पनि उहाँकै सम्झनामा मन्दिर निर्माण गरेँ', प्रेमाले भनिन्। नव निर्मित मन्दिरको आज (मंगलबार) बसन्त पञ्चमीका दिने विधिवत पुजाआजा गरि प्रेमा खातीले उद्घाटन गरेकी हुन् । 

राष्ट्रिय आधारभूत विद्यालय पुष्पवलपुरका प्रधानाध्यापक चन्द्र बहादुर बुलनले विद्यालय परिषरभित्र मन्दिर निर्माण गरिदिएकोमा  प्रेमालाई धन्यवाद ज्ञापन गरेका थिए। 

प्रकाशित मिति: : 2021-02-16 15:01:00

प्रतिकृया दिनुहोस्