काठमाडौं उपत्यकामा मेलम्चीको पानी छिट्टै

काठमाडौं उपत्यकाबासीले मेलम्चीको पानी छिट्टै पाउने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बिहीबार खानेपानीमन्त्री मणिचन्द्र थापासहित मन्त्रालयका उच्चपदाधिकारीहरुद्वारा प्रस्तुत मेलम्ची खानेपानी आयोजनासम्बन्धी अद्यावधिक प्रगति विवरणमा यो कुरा उल्लेख छ।

सुरुङमार्गमा उत्पन्न समस्या निराकरण गर्दै तयारी हालतमा राख्ने र काठमाडौं उपत्यकाको वितरण प्रणालीलाई समेत मेलम्चीको पानीका लागि दुरुस्त बनाउने काम भइरहेको छ।

यस कार्यले पूर्णता पाउनासाथ काठमाडौं उपत्यकामा मेलम्चीपानीको प्रारम्भिक वितरण सुरु हुनेछ।

पानी सुरुमा नयाँ र पुराना दुवै लाइनबाट वितरण गरिने छ। यसका लागि नयाँ तथा पुराना ट्यांकीहरुबाट पुरानो र नयाँ दुवै प्रणालीमा पानी प्रवाह गर्न सकिने गरी तयारी गरिएको छ।

मेलम्चीको पानी पाइपहरुबाट पठाउँदा हुनसक्ने चुहावट र कुनै स्थानमा बढी मात्रामा पानी निस्कँदा हुने समस्या तत्कालै समाधान गर्नका लागि समेत काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले तयारी गरिरहेको जानकारी पनि सो प्रस्तुतीकरणमा दिइयो।

यसैगरी काठमाडौंको ढल निकासलाई दीर्घकालीन ढंगले हल गर्न केयुकेएलले सन् २०५० लक्षित गरी गुरु योजना तयार पारेको छ।

प्रकाशित मिति: : 2021-02-19 16:20:00

प्रतिकृया दिनुहोस्