भिटोफ नेपालको अध्यक्षमा सुवेदीको उम्मेदवारी

गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ-नेपाल) को आगामी कार्यसमितिको नेतृत्व कृष्णबहादुर सुवेदीले दाबी गरेका छन्।

आगामी चैत २० गते काठमाडौंमा हुने भिटोफको २४ औं साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ।

यसअघि भदौ २५ का लागि तय गरिएको साधारण सभा कोरोना महामारीका कारण रोकिएको थियो।

कोरोना संक्रमण विस्तारै कम हुँदै गएपछि नयाँ कार्यसमिति चयनका लागि निर्वाचनको माहोल तातिएको हो।

'कोरोनाले थला परेको नेपालको ग्रामीण पर्यटन व्युँताउन र पुनःप्रवर्धन गर्नलाई मैले उम्मेद्वारको घोषणा गरेको हुँ,' सुवेदीले भने।

स्थापनाको २४ वर्षदेखि भिटोफ नेपालले ग्रामीण पर्यटन क्षेत्रको अध्ययन र प्रवर्द्धन गर्दै आएको छ। केही वर्षदेखि विभिन्न कारणले संस्थाले भरपूर काम गर्न सकिरहेको छैन।

'खस्किँदै गएको संस्थाको गरिमा जोगाउन पनि मैले नेतृत्वमा उम्मेद्वारी दिएको हो,' उनले भने,' पुराना होमस्टेको बजारीकरणको भूमिका र नयाँ ग्रामिण पर्यटकीय गन्तब्यको खोजी र यसको प्रवर्द्धन गर्नुका साथै आवश्यक तालिममा सहजीकरण गर्नु हो।'

करिब एक वर्ष लामो कोरोना संक्रमणले बाह्य तथा आन्तरिक पर्यटन क्षेत्र तहसनहस बनायो।

सुरूमा एक साताका लागि लगाइएको लकडाउनले लामो समय देशभित्र हिँड्डुल गर्न निकै असहज भयो।

देशभरिका होमस्टे खाली भए, अब बिस्तारै आन्तरिक पर्यटन व्युतिने अवस्थामा छ। 'मेरो नेतृत्वको भिटोफ-नेपालले ग्रामीण पर्यटनको पुनरुत्थानमा महत्वपूर्ण भूमिका खेल्नेछ ,' उनले थपे।

ज्वालामुखी गाउँपालिका-६, खत्री गाउँ, धादिङ निवासी ३४ वर्षे सुवेदी युवा पर्यटन व्यवसायी हुन्।

पर्यटन क्षेत्रमा दुई दशक अनुभव बटुलेका सुवेदीले स्नातकसम्म अध्ययन पूरा गरेका छन्।

नेपाल क्लाइम्बिङ एडभेञ्चर प्रा.लिका प्रबन्ध निर्देशकसमेत रहेका सुवेदीले भिटोफ नेपालमा सह-कोषाध्यक्षका जिम्मेवारी सम्हालिसकेका छन्।

प्रकाशित मिति: : 2021-03-02 18:23:00

प्रतिकृया दिनुहोस्