विपन्नलाई सामूहिकरुपमा नागरिकता

Symbolic photo

मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका ६० जनाले आज सामूहिकरुपमा नागरिकताको प्रमाणपत्र पाएका छन्। 

गाउँपालिका, टोल विकास संस्था र जनप्रतिनिधिको आर्थिक सहयोगमा सदरमुकाम जाने–आउने यातायात र खानाको व्यवस्था भएपछि उनीहरुले जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेर नागरिकता प्रमाणपत्र लिएका हुन्। 

नागरिकता प्रमाण पत्र लिनेमा राक्सिराङ गाउँपालिका–७ डाम्राङ, गार्लिङ, धिराङ गाउँका छन्। जीवनमै पहिलोपटक ७२ वर्षको उमेरमा सदरमुकाम हेटौँडा पुगेर नागरिकता प्रमाणपत्र पाउँदा ठूलीमाया प्रजा निकै खुशी देखिन्थिन।

आज नागरिकता पाउनेमा १६ वर्ष उमेर पुगेकादेखि ७२ वर्षसम्मका रहेका छन्। उनीहरुलाई नागरिकता प्रमाणपत्रका लागि सहजीकरण गर्न गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, ७ नम्बर वडाध्यक्ष कुलबहादुर प्रजा र टोल विकास सुधार समितिका अध्यक्ष रामबहादुर प्रजालगायत टोली सदरमुकाम पुगेको थियो। 

आज नागरिकता प्राप्त गर्नेहरुमध्ये ५५ जना चेपाङ समुदायका मात्रै रहेका छन् भने बाँकी तामाङ र सुनार रहेका छन्। नागरिकता बनाउनेमध्ये पाँच जना पहिलोपटक राक्सिराङ गाउँपालिकाबाट सदरमुकाम पुगेका हुन्। 

विकट ठाउँ, आर्थिक अवस्था कमजोर र हातमुख जोर्न सधैँ खेतीपातीमै लागि रहनुपर्ने भएपछि यसअघि हेटौँडा पुग्न नसकेको ६४ वर्षीय भोजुराम प्रजाले दुखेसो व्यक्त गरे जिल्ला प्रशासन कार्यालय मकवानपुरले यसअघि जिल्लाका विकट स्थानमा टोली बनाएर नागरिकता वितरण गरेको थियो। रासस  

प्रकाशित मिति: : 2021-03-07 20:54:00

प्रतिकृया दिनुहोस्