हत्या आरोपित १७ वर्षपछि पक्राउ

Symbolic photo
Symbolic photo

कर्तव्य गरी हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षपछि एक आरोपितलाई आज पक्राउ गरेको छ। 

सप्तरीको महादेवा गाउँपालिका–४ लोहजरास्थित घरबाट ४३ वर्षीय देवनारायण खङ्ग मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीकले जनाएको छ। 

प्रहरी चौकी डिमनबाट खटिगएको टोलीले मण्डललाई घरमै लुकी बसेको अवस्थामा पक्राउ गरेको हो । उनीमाथि महादेवा गाउँपालिका–४ लोहजराका सुकृत सदालाई २०६० पुस ८ गते हत्या गरेको आरोप छ। 

प्रहरीका अनुसार फुपूलाई ललाइफकाइ भगाई लगेको आवेसमा आरोपित मण्डलले घर अगाडि ट्युवेलमा नुहाइरहेका सदाको पेटमा फलामको धारिलो छुराले प्रहार गरी घाइते बनाएका थिए। 

आन्द्राभुँडी बाहिर निस्की रगताम्य भई बेहोस भएका सदालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। 

सदासँग भागेकी मण्डलकी फुपूले घर जान नमानेपछि गाउँले भेला भई छलफल गरी उनलाई माइती पक्षको जिम्मा लगाएको थियो। 

सोही रिस थाम्न नसकी मण्डलले सदाको हत्या गरेको आरोपमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भुवनेश्वरप्रसाद साहले बताए। आरोपित मण्डलविरुद्ध सदाकी श्रीमती लीलादेवी सदाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दर्ता गराएकी थिइन्। रासस 

प्रकाशित मिति: : 2021-03-07 21:04:00

प्रतिकृया दिनुहोस्