म्यान्मार 'कू': ६० जना मारिएको भोलिपल्ट थप १५ प्रदर्शनकारीको हत्या

निर्मल खराल

मोगोक - म्यान्मार
Handout via AFP

सैन्य शासन (जुन्ता)ले सोमबार प्रजातन्त्र समर्थक १५ नागरिकको हत्या गरेको छ। 

प्रजातन्त्र पुनःस्थापनाको माग गर्दै सडक प्रदर्शनमा उत्रेका स्वतन्त्र नागरिकमाथि जुन्ता सत्ताले दमन गरेको हाे। म्यान्मार सेनाद्धारा प्रजातन्त्र र स्वतन्त्रता मागिरहेका सयौं बर्मेली मारिएका छन्।

म्यान्मारमा ठूलो रक्तपात भएको अर्कोदिन सोमबार रंगुन तथा अन्य स्थलमा कम्तीमा १५ जना प्रदर्शनकारी मारिएका छन्। आईतबार मात्रै मुख्य शहर रंगुन इलाकामा झण्डै ६० जना प्रदर्शनकारीको हत्या भएको थियाे। 

सोमबार देशभर इन्टरनेट र फोन सेवा बन्द भयाे। इन्टरनेट र फोन सेवा बन्द हुँदा सैन्य आक्रमणको एकिन तथ्याङकमा समस्या भएको बर्मेली संचारमाध्यमले जनाएका छन्। आन्दोलनको ४३ दिनमा सोमबार बेलुकीसम्म देशभर सेनाको गोली लागेर मर्नेको संख्या झण्डै १ सय ८३ पुगेको छ।

'सैन्य कानून' लागू

आईतबारको रक्तपातपूर्ण आन्दोलनपछि आर्थिक राजधानी लगायतका क्षेत्रमा सैन्य कानून लागू भएको छ।

सेनाको दमन र हत्यापछि जनआन्दोलनले उग्ररुप लिएपछि रंगुनका ६ क्षेत्रमा सैन्य कानून लागू गरिएको छ। सैन्य शासनविरूद्ध प्रदर्शन भएयताकै घातक दिन आईतबार भएको छ। विहानैदेखि देशका विभिन्न स्थानमा आन्दोलित कम्तीमा ६० जनालाई जुन्ता सरकारले गोली प्रहार गरेर मारेको छ। 

दक्षिण पूर्वी एसियाली देश म्यान्मारमा सेनाले सत्ता हातमा लिएपछि गत महिनादेखि हिंसात्मक प्रदर्शन भइरहेको छ। दिनहुँजसो शान्तिपूर्ण आन्दोलनमा स्वतन्त्र मानिसले विनाकारण ज्यान गुमाइरहेका छन्। 

जनआन्दोलनमा प्रजातन्त्र पुनःस्थापनाको तीब्र आवाज उठिरहेको छ। उनीहरूले सैन्य हिरासतमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीलगायतको तत्काल रिहाईको माग गरिरहेका छन्। 

बर्मेलीहरू थप १८ महिना अमेरिका बस्न सक्ने 

म्यान्मारको लोकतान्त्रिक व्यवस्थामाथि सेनाद्धारा ‘कू’ भएपछि त्यहाँको अवस्था दिनहुँ बिग्रिदै गइरहेको छ। सैन्य शासनविरूद्ध नागरिकहरू विरोधका लागि सडक प्रदर्शनमा उत्रिएका छन्। 

सेना भने प्रदर्शनकारीलाई रोक्न गोली चलाइरहेको छ। म्यान्मारको अवस्था गम्भीर बन्न थालेपछि अमेरिकाले हाल आफ्नो देशमा बसिरहेका बर्मेली नागरिकलाई अस्थायी निवास उपलब्ध गराउन प्रस्ताव राखेको छ। 

यसको अर्थ सैन्य ‘कू’ भन्दा अगाडी अमेरिका आएका बर्मेली थप १८ महिना अमेरिकामा बसोबास गर्न पाउने छन्। 

अमेरिकाका होमल्याण्ड सेक्युरिटी सचिव एलेजान्द्रो मयोरकाजले यसको जानकारी दिँदै भने, ‘अमेरिकामा बसोबास गर्दै आएका बर्मेलीहरूलाई अस्थायी निवास दिन हामीले प्रस्ताव अगाडी बढाएका छौं।’

मयोरकाजले सैन्य ‘कू’ पछि म्यान्मारको अवस्था चिन्ताजनक भएकोमा दुःख पनि प्रकट गरे। ‘सेनाले प्रदर्शनकारीलाई छानीछानी गोली हानिरहेको छ। यस्तो अवस्थामा अमेरिकामा बसोबास गरिरहेका बर्मेलीहरूलाई देश फर्किन गाह्रो भएको छ। यसैले १ फेब्रुअरीअघि यहाँ बसिरहेका बर्मेलीलाई अस्थायी रूपमा बस्न दिनु जरुरी छ। उनीहरूलाई भाग्यको सहारा छोड्न सकिन्न,’ उनले भने। 

एमनेस्टी इन्टरनेशनलले हालै सार्वजनिक गरेको रिपोर्टमा भनिएको छ–म्यान्मारमा प्रदर्शनलाई दबाउन सेनाले युद्धमा प्रयोग गरिने हतियार प्रयोग गरिरहेको छ।

सयुक्त राष्ट्र संघका महासचिवले पनि म्यान्मारको अवस्थालाई लिएर दुःख व्यक्त गरिसकेका छन्। 

प्रकाशित मिति: : 2021-03-16 06:10:00

प्रतिकृया दिनुहोस्