कहिले टुङ्गिएला अपवित्र गठबन्धन?

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि भएको निर्वाचन हालै समाप्त भएको छ।

विजयी हुनेले घाँटीमा खादा र मालाले पुरिएको, अबिरले रङ्गिएको अनुहारमा हातले फोन समातेर मुस्कानसहितको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

उनीहरुसँग नजिक वा नजिक हुन् चाहनेले सकेसम्म्म कुम जोडिएको र नभए एक्लो तस्वीर मात्र भए पनि बधाईका फुलबुट्टायुक्त शब्द पोस्ट गरेका छन्। त्यस्तै पराजित उम्मेदवारले यो मेरो नैतिक जित हो भन्दै तस्वीर पोस्ट गरेर हारको पिडा बिर्सने कोशिस गर्दैछन्। बिडम्बना मान्नु पर्छ, विजयी हुने पत्रकार हुन् वा नेताका कारिन्दा, त्यो भने अनुसन्धानकै बिषय हो।

राजनीतिक नेताहरुको बुई चढेर पत्रकार महासंघको नेतृत्व हत्याउन अनेकौ तिकड्म रच्ने पत्रकार मित्रहरुले कसरी निस्पक्ष र स्वतन्त्र पत्रकारिता गर्लान? उनीहरु कुन नैतिक धरातलमा उभिएर महासंघमा राजनीतिकरण भयो भनेर कुर्लिरहेका छन? यो प्रश्न को जवाफ निकै पेचिलो छ।



पत्रकार भर्सेस गैरपत्रकार



हरेक ब्यक्ति कुनै न कुनै विचारधाराबाट प्रभावित हुन्छ। संसारमा कतै पनि निस्पक्ष र स्वतन्त्र पत्रकारिता हुदैन। त्यो सबैलाई जानकारी भएको बिषय हो। तर म फलानो पार्टी र ढिस्कानो नेताको नजिक भनेर निर्बाचनमा उम्मेदवार हुँदा पेशाप्रतिको निष्ठा फोहर बागमतीमा बग्न जान्छ।

हरेक बिहान समाचार सुन्न, हेर्न र पढ्न पर्ने भएर पनि समाजले पत्रकार र पत्रकारिता पेशालाई गम्भीरतापूर्वक लिने गरेका छन्। तर, यसलाई दुर्भाग्य नै मान्नु पर्छ, गैर-पत्रकारको दृष्टिमा पत्रकार भनेको अरु पेशामा नबिकेका, पैसा पाए जे पनि लेख्ने, बिश्वास गर्न कठिन हुने हुन्छन् भन्ने छ। यो आंशिक रुपमा सत्य पनि हो। आफूलाई सबै बिषयको जानकार ठान्ने, आफू बिशेष हो जस्तो ब्यबहार गर्ने र पायो भने चप्काउने पत्रकारहरुले गर्दा अरुले पनि यो आरोप भोग्नु पर्ने हुन्छ।

आफूलाई भ्रष्टाचारको बारेमा समाचार लेख्ने दाबी गर्ने पत्रकारले आफ्नो पुस्तक गुण्डा नाइकेको लगानीमा प्रकाशित गर्दा त्यो भ्रष्टाचार हुन्छ कि हुँदैन? यस्ता पाखण्डी पत्रकारहरुले गर्दा पुरा पत्रकारिता पेशा नै बदनाम हुन् पुगेको हो।



युएईमा एनआरएनए कति आवश्यक, किन आवश्यक ?



करिब ५० जना पत्रकारलाई छोड्ने हो भने प्राय: सबै पत्रकारहरुको जीवन दयनीय छ। महिनौसम्म तलब नपाउने, जागिर बचाउन सम्पादक र प्रकाशकको अगाडी हात जोड्नु पर्ने जस्ता कठिनाईका बीच पनि पिडित भएर यो पेशामा झुण्डिनु पर्ने बाध्यता धेरै पत्रकारलाई छ। किनकी उनीहरुसँग त्यो भन्दा राम्रो बिकल्प छैन।

हिन्दी भाषाको उखान ‘मर्ता क्या नहीं कर्ता’ भनेझै राजनीतिक नेता, व्यापारी, प्रहरीसँग हात थाप्नु पर्ने हुन्छ। यसरी उनीहरुसँग अनुचित सहयोग लिएपछि उनीहरुको बिरुद्द आएको समाचार दबाउनु पर्ने हुन्छ र स्वतन्त्र र निस्पक्ष पत्रकारिता त्यतै बिलाउन जान्छ।

एउटा व्यापारिक घरानाबिरुद्दको समाचार एउटाले छाप्ने अर्कोले नछाप्नेबाट नै त्यसमा लेनदेन भएको छ भन्ने कुरा बुझ्न गाह्रो छैन। यो ‘ओपन सेक्रेट’ हो।



नेपालमा द्वन्द्वको नाममा चलिरहेको मानव अधिकारको पसल



हालै सम्पन्न पत्रकार महासंघको निर्वाचनमा पंक्तिकार भौतिक रुपमा उपस्थित थिएन। तर, तस्वीर हेर्दा उक्त चुनाब भब्य भएको आंकलन सजिलै गर्न सकिन्छ। प्रचारप्रसारमा पानी जस्तो बगेको आर्थिक स्रोत कताबाट आयो? त्यो कसैले खुलाएका छैनन्। यसरी आर्थिक पारदर्शिता नहुनु भनेको ‘दालमा कालो’ होइन, पुरै दाल कालो भएको बुझ्न सकिन्छ।

स्वय घोषित राज्यको चौथो अङ्गको तक्मा भिरेर अदृश्य स्रोतको सहयोगमा पत्रकारको नेता बन्छु भन्ने इच्छा नै अपवित्र छ। यसरी अपवित्र गठबन्धन बाट सुरु भएको यात्रा अपवित्रतामै गएर टुङ्गिन्छ। 

@twitter#naviinr

प्रकाशित मिति: : 2021-04-13 10:52:00

प्रतिकृया दिनुहोस्