ग्रामीण क्षेत्रमा विद्युतीकरण शुरु

File photo
File photo

मकवानपुरको ग्रामीण तथा दुर्गम क्षेत्रका बस्तीमा  चालु आर्थिक वर्षमा रु नौ करोड ९० लाखको लागतमा ग्रामीण विद्युतीकरण कार्य शुरु भएको छ। 

नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र कार्यालय हेटौँडाद्वारा उक्त विद्युतीकरण को काम अगाडि बढाइको हो।

स्थानीय निकाय र जनताको  मागको आधारमा ग्रामीण क्षेत्रमा विद्युतीकरणको काममा तीव्रता दिइएको बताइएको छ। 

उक्त विद्युतीकरण का लागि टेण्डरसमेत स्वीकृत भइसकेको र केहीस्थानमा निमार्ण प्रक्रियासमेत भइरहेको केन्द्रका कार्यालय प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिए। 

उक्त बजेटको आधारमा मकवानपुरको सात गाउँपालिकासहित एक उपमहानगरपालिकामा ग्रामीण विद्युतीकरणको काममा तीव्रता दिइएको सो कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार मकवानपुरको मनहरि, मकवानपुरगढी, भीमफेदी, वकैया, राक्सिराङ, कैलाश र वाग्मती गाउँपालिका तथा हैटौँडा उपमहानगरपालिका क्षेत्रमा ग्रामीण विद्युतीकरण को काम शुरु भएको हो। 

साथै उक्त कार्यालयले आफनो कार्यक्षेत्रमा काठका पोल विस्थापित गरी नयाँ सिमेन्टका पक्की पोल राख्ने र तार तथा नयाँ टान्सफर्मर समेत लगाउने काम गरिरहेको छ।

कार्यालयवाट ६५ हजार २५४ विद्युत् मिटर लिने ग्राहक रहेका छन्। चालु आर्थिक वर्षको चैत महिनासम्ममा चार हजार नयाँ विद्युत् मिटर ग्राहक थपिएको छ। विगतमा ६१  हजार विद्युत् मिटर ग्राहक थिए। सो कार्यालयलाई मासिक रु १९ करोडभन्दा बढी विद्युत् सेवा लिएबापत विद्युत् महसुल उठ्ने गरेको कार्यालयको लेखा शाखाले जनाएको छ।

साथै कार्यालयमा लामो समयसम्म विद्युत महसुल  अर्थात विद्युत राजस्व नवुझाउनेको सङ्ख्या हालसम्म २२ हजार रहेको र उनीहरुको विद्युत् लाइन काटिएको छ जसमध्ये ५४० ग्राहक कालोसूचीमा राखिएको सो कार्यालयबाट प्राप्त विवरणमा जनाइएको छ। त्यस कारबाहीमा पर्नेहरु सर्वसाधारणउपभोक्ता, उद्योगी र व्यवसायीसमेत रहेका छन्। 

कालोसूचीमा परेकाहरुबाट रु ६६ लाख महसुल उठन् बाँकी रहेको छ। साथै कारबाहीमा परेकाहरुको घरबाट विद्युत् मिटरसमेत उठाउने कार्य भइरहेको बताइएको छ। 

त्यस्तै कार्यालयले विद्युत् महसुल बुझाउन समस्या आउन नदिनका लागि सो कार्यालयअन्तर्गत  मनहरि, भीमफेदी र फाफरवाडीमा विद्युत् महसुल काउन्टरको व्यवस्था गरेको छ। साथै अनलाइनबाटसमेत विद्युत् महसुल वुझाउने व्यवस्था रहेको छ। रासस 

प्रकाशित मिति: : 2021-04-14 19:34:00

प्रतिकृया दिनुहोस्