'आगलागीकाे पीडा शब्दमा व्यक्त गर्न सकिँदैन' 

गएकाे माघ १३ गते राति जुम्ला तिला गाउँपालिका ७ स्थित गोठी गाउँमा आगो लाग्याे। खाना पकाउँदै गर्दा चुलोबाट निस्केको झिल्को सुकेको घाँसमा पुगेपछि बस्ती नै जल्यो। २९ घर जलेर खरानी भए। पशुचौपाया जले। तर मानवीय क्षति भने भएन।

मानवीय क्षति नभएपछि गाउँका सबैकाे मन भने हालसम्म पनि क्षतविक्षत छ। गाेठी गाउँका सबै गाउँलेकाे हालसम्म पनि साताे नआएकाे आगलागी पीडित मुनबहादुर रोकायाले बताए। 

'मेराे घर जल्यो। अन्न जल्यो। पशुचौपाय पनि जले, मान्छे मात्रै जलेकाे छैन,' उनले दुखी हुँदै भने, 'मन जल्याकै छ, हजुर। बरु मान्छे जलेकाे सहेर पनि बिर्सिन्छ। तर मन जलेकाे सहन साह्रै गाह्राे हुँदाे रहेछ।'

मन मुन बहादुरकाे मात्रै कहाँ जलेकाे हाे र? तिला ९ मुल्लीका शेरबहादुर बोहोराकाे पनि मन जलेकाे छ। उनका तीन वटा घर जले। अन्न सबै जल्यो। उनले भने, 'गाउँलेका पीड शब्दमा व्यक्त गर्न सकिँदैन।'

कारण गत चैत २१ गते मुल्ली गाउँ आगलागीबाट खरानी भयो। त्यहाँ पनि मानवीय क्षति भने भएन। तर घरभित्र रहेको अन्नपात पुरै जल्यो। उनले थपे, 'मुल्ली अन्न भण्डारका रुपमा रहेको थियो। आगोले बस्तीभित्रका २९ घर जलेर नष्ट भए। घर मात्र जलेका हाेइनन् अन्नकाे भण्डार जलाइएकाे हाे। त्यसैले हाम्राे हाेस ठेगानमा छैन।'

सोही गाउँका तेजबहादुर बोहोराले व्यक्तिगत रिसिइबीका कारण जैसिके बोहोराको घरमा आगो लगाउँदा पुरै बस्ती जलेको जुम्लाका डिएसपी दानबहादुर थापाले बताए।



खडेरीले बालिनाली सुक्दा कर्णालीका किसानकाे मनमा डँढेलो



हाल उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेकाे छ। आगलागीबाट मुल्ली गाउँका २९ घर पूर्णरुपमा जलेका थिए भने १५ घरमा आंशिक क्षति भएको थियो।

कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतका अनुसार चालु आर्थिक वर्षमा कर्णालीका १० वटै जिल्ला आगोले प्रभावित बनेका छन्। प्रदेश प्रहरी कार्यालयका एसएसपी अर्जुनचन्द ठकुरीका अनुसार यो वर्ष बाक्लो हिमपात र वर्षा नभएकाले आगलागीका घटना बढेका हुन्।

आगलागीका अधिकांश घटना मान्छेकै लापरबाहीका कारण भएको पाइएको छ। मानवीय कारणले हुन सक्ने आगलागीबाट बचाउन जनचेतना मुलक कार्यक्रम गर्न जरुरी छ।

एकै महिनामा ९३ घर जलेर नष्ट

आगलागीबाट चैत महिनामा मात्रै कर्णालीका ९३ वटा घर जलेर नष्ट भएका छन्। जसमा सबैभन्दा बढी जुम्लामा ४४ घर जलेका छन्। सुर्खेतमा ११, दैलेखमा २, जाजरकोटमा ३, सल्यानमा १४, रुकुम पश्चिममा १०, कालिकोटमा ९ घर जलेका छन्। ३५ वटा आगलागीका घटनाबाट ९३ घर जलेका हुन्।

अरब बढीकाे क्षति

कर्णालीमा आगलागीबाट १ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। चालू आर्थिक वर्षको चैतसम्म सुर्खेतमा २ करोड ५६ लाख १६ हजार रुपैयाँ बराबरको धनमाल क्षति भयो।

जसअनुसार दैलेखमा १ करोड ३५ लाख ८ हजार ५ सय, जाजरकोटमा ८१ लाख ४६ हजार ५ सय, सल्यानमा ४७ लाख ३८ हजार, रुकुम पश्चिममा ३३ लाख ९४ हजार बराबरको धनमाल क्षति भएको छ।

त्यस्तै कालिकोटमा ६५ लाख ७८ हजार रुपैयाँ, मुगुमा ३३ लाख ३५ हजार, डोल्पामा ११ लाख ७२ हजार र हुम्लामा ८७ लाख २१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालयका एसएसपी अर्जुनचन्द ठकुरीले जानकारी दिए। आगलागीबाट ५ करोड ६३ लाख ५८ हजार रुपैयाँको क्षति भएको छ।

तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७७/७८ मा कर्णालीमा १११ आगलागीका घटनाबाट २३३ वटा घर जलेर नष्ट भएका छन्।

मानवीय क्षति

कर्णालीमा १ वर्षकाे अवधिमा आगलागीका घटनामा परेर ११ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्। आर्थिक वर्ष २०७७/८८ को चैत मसान्तसम्म कर्णालीका १० वटै जिल्लामा भएको आगलागीका घटनामा ११ जनाको ज्यान गएको हो।

आगलागीका घटनामा परी सबैभन्दा बढी मानवीय क्षति कालीकोटमा भएको छ। कालीकोटमा ६ जनाको मृत्यु भएको छ भने सुर्खेतमा २ जना, रुकुम पश्चिम, सल्यान, र मुगुमा १–१ जनाको मृत्यु भएको छ।

कर्णाली पुरै प्रभावित 
यतिबेला कर्णाली प्रदेशका १० वटै जिल्लाका विभिन्न क्षेत्रका गाउँ र वनमा आगलागीका घटना भए। तर हालसम्म कति वनमा आगलागी भयो भन्ने तथ्याङ्क समेत संकलन गरिएको छैन। अत्यधिक मात्रामा वायु प्रदूषण हुनुकाे एक प्रमुख कारण आगलागी हाे।

वनमा आगो लगाएर नयाँ घाँस उमार्ने सानो सोचले आगलागीका घटना निम्त्याउने गरेका जनसाधारणको बुझाई छ। आगलागीका घटना बढ्नुको प्रमुख कारण लामो समयको खडेरी भएको कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) बसन्तकुमार पन्तले बताए।

'गत वर्षको तुलनामा यो वर्ष धेरै आगलागीका घटना भइरहेका छन्,' उनले भने, 'यो वर्ष लामो सयमसम्म मौसम सुख्खा रहेको छ। सुख्खा मौसममा केही व्यक्तिहरु मदिरा सेवनसँगै चुरोटका ठुटा जथाभावी फाल्दा, केही व्यक्तिहरु जानीजानी पनि आगलागीका घटनाहरु गराइरहेका छन्।'



ओखर बेचेरै उपसचिवले भन्दा धेरै कमाउने 'खत्री', बोल्न पनि छैन फुर्सद (भिडियाेसहित)

गाउँमा बनाएको गाडी कुद्न थालेपछि स्थानीय चकित

प्रकाशित मिति: : 2021-04-23 12:05:00

प्रतिकृया दिनुहोस्