४० रुपैयाँ मासिक तलबमा काम थालेकी गंगामायाले अहिले १५ सय पाउँछिन् (भिडियोसहित)

विजय साह

जनकपुर

एकजना कामदारले एकदिन काम गरेको ज्यालादारी न्यूनतम् ६ सय रुपैयाँ लिन्छन्। अझ त्यसभन्दा बढी पनि। नेपाल सरकारले पनि न्यूनतम् मासिक तलब १५ हजार तोकेको छ। त्यसभन्दा कम तलब दिए श्रम शोषणको उजुर बाजुर गर्न पाइन्छ।

तर धनुषा जिल्लामा एक यस्तो महिला छिन् जो अझै पनि महिनाको १५ सय रुपैयाँमा काम गर्छिन्। २०३६ सालमा ४० रुपैयाँ मासिक तल पाउने गरी काम थालेकी ती महिलाको तलब बढेर अहिले १५ सय रुपैयाँ पुगेको छ। यति थोरै रकम पाउँदा पनि उनी खुशी छिन्।

ती महिला हुन् ८० बसन्त पार गरिसकेकी गंगामाया लामा। र उनको काम गर्ने थलो हो धनुषा जिल्लाको पौराणिक तथा एतिहासिक धार्मिक स्थल धनुषाधामस्थित जनकपुर गुठी अन्तर्गत रहेको धनुष धर्मशालामा। उनी यहाँ रेखदेखको जागिरे जीवन व्यतित गर्दै आएकी छिन्।

गंगामाया सिन्धुली जिल्लाको गोठटारकी हुन्। उनी २०३४ साल माघ महिनामा धनुषाधाममा लाग्ने मकर मेला भर्न यहाँ आएकी थिइन्। २०२९ सालमै श्रीमान् भक्तबहादुर लामा सौता लिएर घर छोडेर गएपछि बिरक्त जीवन बिताउँदै   आएकी गंगामायालाई धनुषाधामको रमझम मनपरेपछि यतै बस्ने निधो गर्दै धनुष धर्मशालामा आश्रय लिइन्।

तीन वटा लालाबालासहित धनुषाधाममा पाइला टेकेकी गंगामायाको सुरुको अवस्था निकै कष्टकर बित्यो। आफु र आफ्ना लालाबालाको जीविको चलाउन दुई बर्ष जति चिया बेचेको उनी सुनाउँछिन्।

२०३६ सालमा गुठीले धर्मशाला रेखदेख र सरसफाइको जिम्मेवारी दिँदै मासिक ४० रुपैयाँ पाउने गरी जागिर दिएपछि जीवन अलि सहज भयो। 'यहाँ आउँदा जेठी छोरी शान्ति लामा ११ बर्ष, जेठो छोरा ६ बर्ष र कान्छो छोरा अढाई बर्षको काँखे बालक थिए', गंगामायाले भनिन्।

उनी यहाँ आए यता एक पटकको लागि पनि आफ्नो घर फिरेकी छैनन्। उनी भन्छिन्, 'केका लागि जानु पहाडको घर, गावै बिर्सेँ, जाने बाटै बिर्सेँ, श्रीमान्को नाम त बिर्सेँ,  स–साना बालकसहित आफुलाई बिचल्लीमा छोडेर सौता लिएर हिँड्ने श्रीमान्को नाम सम्झेर के गर्नु?'

गरिबी र अभावै अभावमा बाल्यकाल बिताएका उनको छोराछोरी आर्थिक अवस्था र जीवन शैली भने फेरिएको छ।

गाउँघरका विद्यार्थीहरुलाई ट्युसन पढाएर अध्ययन यात्रालाई अगाडि बढाएका उनको छोरामध्ये जेठो छोरा जस बहादुर लामा जनपद प्रहरीको इन्स्पेक्टरै बने, कान्छो छोरा गोपाल लामा बैंकमा एकाउण्टेड जागिरे भए, छोरी शान्ति लामाको धनुषाधाममै एक सम्पन्न परिवारमा विवाह भयो।

जेठो छोरा जसबहादुर प्रहरीको जागिरबाट अवकाश पाइसकेका छन्, कान्छो छोरा गोपाल भने बैंकको जागिर छोडेर घर बसेका छन्। दुबै छोराले जनकपुरमा छुट्टाछुट्टै आलिसान महल ठ्डयाएका छन्। छोरी शान्तिको पनि घर परिवारमा सुखसयल छ।

'छोराछोरीको जीवनबाट दुःख पीडाले बिदा लिएको बर्षौं भइसक्यो। छोराछोरी सबै सुखी र सम्पन्न छन्', गंगामायाले सुनाइन्।

छोराहरु आर्थिक रुपले सबल भइसके पनि गंगामाया भने धर्मशाला छोडेर उनीहरुकोमा जाने इच्छा गर्दिनन्। 'जागिरभन्दा पनि आपत्तविपत्त परेको त्यो बेला यही धर्मशालामा बरदान बन्यो। यहीँ आश्रय पाएर जीवन गुजारेँ। अब यो ठाउँ छोडेर जाने मन छैन्', गंगामायाले भनिन्।

प्रकाशित मिति: : 2021-05-06 14:00:00

प्रतिकृया दिनुहोस्