‘मृत्यु कुरेर नबस, जिउँदा नेपालीहरूलाई घर फर्काऊ’

मानव तस्करीको ‘रूसी जालो’मा जेलिँदैछन् नेपाली युवा

मानव तस्कारीको जालो मस्कोदेखि काठमाडौँसम्म फिँजिएको छ। एजेन्टहरूले नेपाली युवालाई ‘भिजिट भिसा’ मिलाएर विभिन्न रुटबाट रूससम्म पुर्‍याउँछन् र त्यहाँ भएका एजेन्टहरूले सिधै उनीहरूलाई रूसी सेनाको क्याम्पमा पुर्‍याउँछन्।

जीवन डाँगी

काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रूस पुगेका रोल्पाका २७ वर्षीय खुमराज २२ दिनमै अत्तालिएका छन्। मानव तस्करलाई साढे ५ लाख रुपैयाँ तिरेर ‘रूसी सेनाको सपना’ पछ्याउँदै मस्को उडेका उनी ‘युद्धमैदानमा खट्नुअघि’ नै छट्पटीमा छन्।

‘एजेन्टहरूले भ्रम छरेजस्तो धेरै कमाइ र सजिलै पीआर पाउने कुरा सत्य लागेन। रूसी सेनामा भर्ना भएको दुई हप्ता पूरा भयो। हामीहरू तालिम केन्द्रमा छौँ। अहिलेको लटमा ४ जना नेपाली छौँ। मलाई राम्ररी बन्दूक बोक्न पनि आउँदैन। तर लड्न जाने टिममा मेरो नाउँ आइसक्यो’, खुमराजले भने।

दुई हातले बन्दूक समातेको छोटो समयमै ‘रूसी नाइके’ले भनिदियो, ‘युक्रेनपट्टी लड्न जा’। दोधारमै छन् उनी भाग्ने कि ‘अग्रमोर्चा’ मा खटिने! ‘घर–परिवार, लडाइँ र एउटा सपना’ देख्दै टोलाइरहेका उनी एक्ला व्यक्ति होइनन्। उनीजस्ता दर्जनौँ कलिला युवाहरू छन्, जो पहिलोपटक ‘बम, बारुद र बन्दूक’सँग खेल्दैछन्।

उनका अनुसार नेपाल र अरु पनि बाहिरी देशका युवालाई रूसले त्यसैगरी भित्र्याइरहेको छ। एक–दुई हप्ता नाममात्रैको तालिमपछि रूसले आफ्ना सैनिकको अग्रमोर्चामा नेपालीजस्तै अरु देशका तन्नेरीहरू खडा गर्छ। रूसको आफ्नै सैनिकहरू भने पछिल्ला र बाहिरी घेरामा हुन्छन्।

‘हामीहरूले प्लान बनाइरहेका छौँ, मर्न जाने कि अब घर फर्किने! लडाइँ झन्–झन् चर्किंदैछ, यस्तो अवस्थामा रेडजोनमा जानु भनेको मर्न जानु हो। जानीजानी मर्नचाहिँ किन जाने? एजेन्टलाई पनि भनिसक्यौँ। ऊ हामीहरूलाई गाली गर्दैछ, थर्काउँदैछ’, खुमराजले भने, ‘एजेन्टले प्रलोभन देखाएर फसायो, हामीहरू जसरी पनि घर फर्किन्छौँ।’

०००

यसरी नेपालीलाई त्यहाँ पुर्‍याउन मानव तस्कारीको जालो मस्कोदेखि काठमाडौँसम्म फिँजिएको छ। एजेन्टहरूले नेपाली युवालाई ‘भिजिट भिसा’ मिलाएर विभिन्न रुटबाट रूससम्म पुर्‍याउँछन् र त्यहाँ भएका एजेन्टहरूले सिधै उनीहरूलाई रूसी सेनाको क्याम्पमा पुर्‍याउँछन्।

बेरोजगार र आर्थिक अभाव झेलिरहेको युवा जमातलाई अनेकौँ लोभ देखाउँदै दलालहरूले ‘मृत्युमार्ग’तिर धकेल्दैछन्। राहदानी खल्तीमा बोकेर हिँडिरहेका युवाहरू मानव तस्करलाई लाखौँ तिरेर सुम्पिँदै धमाधम रूस उडिरहेका छन्। त्यो पनि ज्यानकै बाजी थाप्न। रूस पनि यही चाहन्छ। सेनामा भर्ती भएपछि ‘धेरै पैसा र तत्कालै रूसी नागरिकता’ आँखैअघि कल्पिँदा क्षणभरमै लोभिन्छन् नेपाली। र, घर–परिवार र आफन्त छल्दै मस्को उड्छन्।

कृषितिरको पढाइ सकेर ‘घर–परिवारको ऋण तिर्न’का लागि थप ५ लाख ऋण कारेर रूस हानिएका खुमराज मस्कोमा अलपत्रै छन्। उनीसित पाँचथर, सल्यान र रोल्पाकै अरु ३ युवा छन्। दलालको फन्दामा परेर सेनामा भर्ती हुने सपना बोकी रूस पुगेको उनीहरूको गुनासो छ।

‘काठमाडौँबाट ६ जना आएका थियौँ। अहिले हामी ४ जना छौँ। २ जना साथीहरू मस्को आएको केही दिनमै रूसले कब्जा जमाएको युक्रेनी सीमातिर गइसके’, खुमराजले भने, ‘ती साथीहरू नेपालका पूर्वसैनिक रहेछन्। पूर्वसैनिक वा प्रहरीलाई मस्को पुगेपछि तालिम केन्द्रमा लगिँदैन। उनीहरूलाई सिधै लडाइँमा खटाइन्छ।’

मस्को गएको तीन हप्तामै भयावह युद्ध भइरहेको ठाउँमा खटाउन थाल्दा उनीहरू घर फर्किने सुर कस्दैछन्। नेपालीहरूमा पैसाका लागि युक्रेनविरुद्ध लडाइँ लड्ने तीव्र हुटहुटी छ। जब उनीहरू रूस पुग्छन्, तब मात्रै पीडाका पहाड देख्छन्। र, मस्कोस्थित दूतावासकहाँ ‘घर फर्काइदेऊ’ भन्दै बिन्ती बिसाउँछन्।

उसो त तालिम केन्द्रबाट भाग्न खोज्दैछन् खुमराज। ‘रेडजोन’मा खट्न तयार छैनन् उनी। मस्कोबाट भागेर नेपाल फर्कने मेसो मिलाउँदैछन् उनी। र, सेनामा भर्ती हुने ‘रूसी सपना’ थन्क्याउँदै छन्।

तर भनेजस्तो सजिलो त खुमराजहरूलाई पक्कै छैन। किनकि क्याम्प लैजानुअघि नै उनीहरूलाई एउटा ‘एग्रिमेन्ट’मा हस्ताक्षर गराइन्छ, त्यो भनेको मासिक पैसा दिनेगरी रूसको सैनिकले उनीहरूलाई किनेको हो। त्यो कागजअनुसार कम्तीमा एक वर्ष उनीहरूले त्यसरी नै लडाइँको अग्रमोर्चामा खटिनुपर्ने हुन्छ। भाग्ने प्रयासमात्रै गर्दा रूसको सैनिकले उनीहरूलाई बन्दी बनाइहाल्छ।

०००

रूसले कब्जा जमाएको ‘युक्रेनी भूमि’मा तैनाथ २६ वर्षीय किशोरकाअनुसार नेपालीहरू रूस–युक्रेन सीमा क्षेत्रमा छन्। दुई देशबीच लडाइँ चलिरहेको छ। युक्रेनी सैनिकहरूले ड्रोन हानिरहेका छन्। रूसी सैनिकहरूले पनि बम बर्साइरहेका छन्।

एक महिनाअघि त्यो क्षेत्रमा ठूलो बमबारी भएको थियो। किशोरहरू नजिकै थिए। तर उनको समूहले त्यो लडाइँ छल्यो। युक्रेनी ड्रोन आक्रमणबाट दर्जनौँ रूसी ‘सैनिकहरू मारिएको खबर’ किशोरले सुने। उनकाअनुसार रूसी अधिकारीहरूले आफ्ना सैनिकहरू ‘मारिएको र हराएको’ खबर लुकाइरहेका छन्।

चार महिनाअघि मस्कोमा किशोरसँगै ‘बन्दूक पड्काउन पनि नजानेका’ ३ जना नेपाली आक्रमणमा परे। आक्रमणपछि उनीहरू सम्पर्कमा छैनन्। रूसी सेनाले नेपालीहरूको बारेमा आधिकारिक जानकारी दिएको छैन। मस्कोस्थित नेपाली दूतावास बेखबर छ। युद्धमैदानबाट हराएका ३ नेपालीका परिवारका सदस्यहरूले तारन्तार किशोरलाई सम्पर्क गरिरहेका छन्।

‘तयारीबिनै लडाइँमा पठाउँदा हाम्रा साथीहरू आक्रमणमा परे। मजस्तै बन्दुक पड्काउन नजान्ने साथीहरू पनि थिए। उनीहरूको वास्तविक अवस्था थाहा छैन। हामीहरू सबै भिजिट भिसामा आएका थियौँ’, उनले भने।

चार महिनाअघि रूस गएका किशोर हिउँले ढाकिएको अँध्यारो र चिसो बंकरभित्र छन्। उनी नेपाल सरकार र नेपाली दूतावासलाई ‘घर फर्किइदेऊ’ भन्दै गुहार मागिरहेका छन्। आँखैअघि रणभूमिमा ‘सँगैका साथीहरू हराउँदा वा उनीहरूको रोदन सुन्दा’ किशोर थप त्रासमा बाँचिरहेका छन्।

‘समयमै खाना पठाउँदैन, घन्टौँ पर्खिनुपर्छ। पालो कुरेर बस्नुपर्छ। भनेको समयमा फोन लाग्दैन, नेट राम्रोसँग चल्दैन। सँगैसँगै मस्कोमा भेटिएका साथीभाइहरू मरेको, घाइते भएको सूचना पाउँदा डरमात्र लाग्छ’, उनले भने।

‘लडाइँ नजानेका’ नेपाली युवाहरूलाई अग्रमोर्चामा खटाइँदैछ। तयारीबिनै युद्धमोर्चामा जाँदा उनीहरू अत्तालिन्छन्, मानसिक रुपमा विछिप्त हुन्छन्। समूहभित्र विदेशीलाई एकखाले हेपाइ छ। कमान्डरले सबैभन्दा पहिला विदेशी सैनिकहरूलाई लडाइँकाे माेर्चा थाम्न पठाउँछन्।

रूसी सेनामा भर्ती भएका नेपालीहरू जतिसक्दो घर फर्किन चाहन्छन्। र, उनीहरू दूतावास र परराष्ट्र मन्त्रालयलाई ‘युद्धको भुँग्रो’बाट जन्मभूमि फर्काउन अपिल गरिरहेका छन्।

‘हाम्राे मृत्यु कुरेर नबस। जिउँदा नेपालीहरूलाई छिट्टै घर फर्काऊ। युक्रेनले बेलाबेला ड्रोन हानिरहेको छ। हामीसँग बन्दूक मात्रै छ, त्यो पनि राम्रोसित पड्काउन आउँदैन। यो ठाउँबाट भाग्ने अवस्था पनि छैन’, किशोरले आफ्नो पीडा सुनाउँदै भने, ‘कमान्डरले बन्दूक बोकाएर अघि बढ् भन्छ। साथीहरू मरिरहेका छन्, हराइरहेका छन्। मलाईचाहिँ जानीजानी मर्न मन छैन।’

०००

अघिल्लो सोमबार एकाबिहानै सल्यानका रामकुमारको ‘ह्वाट्एप ग्रुप’मा एउटा अडियो आयो। ४३ सेकेन्डको त्यो अडियो नेपाली भाषामै थियो। अडियोमा स्थान भनिएको थियो– रूसले कब्जा गरेको युक्रेनी सीमावर्ती जंगल। रूसी सेनामा भर्ती भएका युवा रोइरहेका थिए, उनी आफ्नो दुःख सुनाउँदै थिए।

‘दुस्मनले ड्रोन हानिरहेको छ। साथीहरू अब म मर्दैछु। मसँग खानेपानी पनि छैन। रसियनहरू भागिसके। मेरो कमान्डरलाई दुस्मनले मार्यो’, रणमैदानबाट रुँदै पठाएको अडियोमा ती युवाले भने, ‘मसँग पाल्पाको दाइ हुनुहुन्थ्यो, उहाँ पनि भाग्नुभयो। अब म कहाँ जानू, मेरो खुट्टा रगतले मुछिएको छ।’

त्यो अडियो सुनेपछि रामकुमार अत्तालिए। उनले साथीलाई ‘घर जाऔँ, घर फर्कौँ’ भने। मस्कोबाट अघि बढ्न नसकिने बताए। बारम्बार छेउतिरका साथीलाई त्यो अडियो सुनाए।

‘नेपाल फर्किने कि युद्ध लड्न जाने!’ उनीहरूसित थोरै समय थियो। र, भोलिपल्ट रूसी सेनासँग एक वर्षको सम्झौता गरेर अग्रमोर्चामा खटिनैपर्थ्यो। रामकुमारहरूलाई ‘ह्वाट्एप’को अडियोले तर्सायो, उनीहरू तत्कालै तालिम केन्द्रबाट बाहिर निस्के।

सल्यानका ‘वली थरका दलाल’लाई ७ लाख बुझाएर मस्को उडेका रामकुमारहरू एक महिना नपुग्दै नयाँ दिल्ली फर्किएका छन्। रूसी सेनामा भर्ती भएपछि रेडजोनमा खटिँदा मासिक १० लाखसम्म कमाइ हुने प्रलोभन पाएपछि ५ जना नेपालीहरू यही दिल्ली हुँदै मस्को गएको रामकुमार बताउँछन्।

‘एक महिना नपुग्दै लड्न जाऊ भन्छ। राम्रोसँग ग्रिनेड भर्न पनि आउँदैन’, उनले भने, ‘त्यहाँ मर्न जाने हो र! मलाई ह्वाट्एप ग्रुपमा जोडेका थिए, वारजोनमा जानुअघि त्यो ग्रुपमा एकजना भाइले रुँदै अडियो पठायाे। त्यो सुनेपछि हामीहरू भाग्यौँ।’

रामकुमार मस्कोस्थित रूसी सेनाको तालिम केन्द्रबाट भागेर नयाँदिल्ली आइपुगेका छन्। उनकाअनुसार रूसी सेनाको सपना बोकेर मस्को गएका झण्डै दुई दर्जन नेपालीहरू तालिम नसकेरै नेपाल फर्किरहेका छन्।

०००

पत्नी सविता बुढालाई ‘पल्टन सर्दैछ’ भनेर ‘रेडजोन’मा खटिएका रोल्पा नुवागाउँका ३३ वर्षीय अभिषेक बुढा हिजाेआज बेखबर छन्। उनी दुई महिनादेखि परिवारको सम्पर्कमा नआउँदा सदस्यहरू तनावमा छन्।

मानव तस्करलाई ७ लाख रकम बुझाएपछि अभिषेक मस्को उडेको उनकी बहिनी शान्ताले बताइन्। उनी रूसी सेनामा भर्ती हुने सपना बुनेर काठमाडौँ हुँदै रूस गएका हुन्।

‘दुई महिनादेखि मेरो दाइले घरमा फोन–म्यासेज गर्नुभएको छैन। बाआमा र भाउजूले टेन्सन मान्नुभएको छ’, उनले भनिन्।

‘रेडजोन’ अर्थात् युद्धको अग्रमोर्चामा खटिएका प्रायःजसो नेपालीहरू एक डेढ महिना परिवार र साथीभाइको सम्पर्कबाट हराइरहेका हुन्छन्।

युक्रेनी सेनाले घेरिरहेको भेगमा उत्रिएका सैनिकलाई मोबाइल–फोनबाट दूर राखिन्छ। जंगलमा नेट चल्दैन, फोन लाग्दैन। बंकरभित्र लुकेर बस्नुपर्दा कसैसँग कनेक्सनमा हुँदैनन् उनीहरू।

अभिषेकले मस्को छाड्नुअघि फेसबुक म्यासेन्जरमा भनेका थिए, ‘मस्कोबाट पल्टन सर्दैछ, फोनले काम गर्दैनहोला, टेन्सन नगर्नु। गाडी लिन आइसक्यो।’

७ लाख मानव–दलाललाई बुझाए पनि अभिषेकले त्यहाँ पुग्नुअघि झण्डै ९ लाख रकम सक्काएका छन्। मासिक पाँच लाख कमाइ हुने र एक वर्षभित्रै रूसी नागरिकता पाइने प्रलोभनमा परेपछि उनी पटकपटक नयाँदिल्ली र चण्डीगढसम्म धाए।

चर्को ब्याजदरमा ऋण काढेर धेरै पैसा कमाउने सपना देखेका अभिषेक सम्पर्कविहीन भएपछि परिवार चिन्तित छ। ‘ऋणमाथि ऋण थपिएको छ। कमाउने भनेर रूस गएका श्रीमानले असोजदेखि फोन–म्यासेज गर्नुभएको छैन। बच्चाबच्चीहरूले पनि टेन्सन गरिरहेका छन्’, पत्नि सविताले भनिन्।

अभिषेकले मस्को छाडेपछि एउटा भ्वाइस म्यासेज पठाएका थिए। त्यो म्यासेजमा उनले भनेका थिए, ‘छोरीको जन्मदिन राम्रोसँग मनाइदिनु है।’ त्यसपछि उनी अनलाइनमा देखिएनन्। ‘रेडजोन’मै रहेका अन्य चिनेजानेका साथीभाइको सम्पर्कमा पनि छैनन् उनी।

०००

रोल्पाकै तुलाराम बुढाथोकी अहिले युद्ध भइरहेको डोनेन्टमा बाक्लो हिउँ छिचोल्दै युक्रेनविरुद्ध लडिरहेका छन्। उनी मानव तस्करलाई ९ लाख तिरेर नयाँदिल्लीबाट इथोपिया हुँदै मस्को गएका थिए।

आफूले तीन लाखको दरले तीन महिनाको तलब बुझे पनि सबै रूसी सेनाले यस्तो खालको सुविधा नपाएको उनले बताए। तुलारामका अनुसार नेपालीहरूलाई ‘अग्रमोर्चामा खटाउने वा नखटाउने’ भन्ने कुरा कमान्डरमा निर्भर हुन्छ।

‘सबैतिर एकै छैन। म बसेको ठाउँमा सबैभन्दा बढी लडाइँ छ। हामीहरू बंकरभित्र लुक्छौँ, युक्रेनीहरूलाई धपाउँछौँ। तर पनि डर लाग्छ’, उनले भने, ‘नेपाली दाजुभाइहरू केही मारिएको सत्य हो, कतिपय हराइरहेका छन्।’

रूसको सेनाले नेपालीहरूलाई ज्ञानबिनै युद्धमैदानमा खटाइरहेको छ। नेपालमा लडिएजस्तो सामान्य लडाइँ नभएको र आधुनिक लडाइँमा होहल्लाले आफैँलाई हानी गर्ने तुलारामको भनाइ छ।

‘यो सामान्य युद्ध होइन, कम्तीमा प्राविधिक ज्ञान चाहियो नि! नेपालीहरूले बन्दूक पड्काउँदैमा, ग्रिनेड भर्दैमा युद्ध लड्न सक्तैनन्’ उनले भने, ‘मेलै बुझेअनुसार अहिले रूसमा हजाराैँ नेपालीहरू चाेरबाटाे हुँदै सेनामा भर्ती हुन आइरहेका छन्। पछिल्लाे समय नेपालीहरूकै धेरै नराम्रा खबरहरू पनि आइरहेका छन्।’

रूस–युक्रेन युद्धमा रूसको तर्फबाट लड्दा एक दर्जन नेपाली युवा मारिएको भनिए पनि संख्या ठूलो मात्रामा हुनसक्ने तुलारामको दाबी छ। सत्य समाचारहरू रूसी अधिकारीहरूले दबाइरहेक छन्। र, नेपालीहरूलाई हचुवाका भरमा अघिअघि लड्न पठाइँदैछ।

करिब दुई साताअघि नेपाल सरकारले रूसमा मारिएका करिब आधा दर्जन युवाको नाम, वतन खुलाएर सूचना जारी गरेको थियो। तर त्यहाँ लडिरहेका नेपाली युवाका अनुसार धेरै नेपालीको मृत्यु भइसकेको छ। रूसी सेनामा लागेर मारिएको करिब पाँच महिनापछि मात्रै नेपालले उनीहरू मारिएको चाल पायो।

उनीहरूको शव ल्याउने कुनै कुटनीतिक प्रक्रिया अहिलेसम्म नेपालले चालेकै छैन। कति नेपाली रूसको सेनामा भर्ना भएका छन्? कति युवा मारिए वा कति हराइरहेका छन् भन्ने एकीन विवरण नेपाल सरकार वा मस्कोमै रहेको नेपाली दूतावासलाई समेत थाहा छैन।

केही दिनअघिमात्रै रूसी सेनामा भर्ना भएका एकजना नेपालीको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। ती युवालाई युक्रेनी सेनाले बन्दी बनाएको छ। तर त्यहाँका नेपालीका अनुसार कैयौँ सम्पर्कविहीन छन् र अहिलेसम्म दुईजना नेपाली युवा युक्रेनी सेनाको कब्जामा रहेको छन्।

नेपाली अधिकारीसँग भने औपचारिक ‘सिस्टम’मा रूसको सेनामा भर्ना भएका नेपालीका बारेमा कुनै जानकारी छैन।

गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष केशव तिमिल्सिनाका अनुसार रूसको सेनामा भएका नेपालीबारे अहिलेसम्म एकीन विवरण भने छैन। तर अनुमान गरेभन्दा धेरै नै हुनसक्ने संघले पनि अनुमान गरेको छ।

लडाइँमा घाइते भएर उपचार गराइरहेका केही नेपालीले एनआरएनएका प्रतिनिधिहरूलाई फोनमार्फत त्यहाँको अवस्थाबारेमा भनेका थिए। ‘हामीकहाँ पनि केही नेपाली सम्पर्कमा आउनुभएको छ तर हामीसँग प्रत्यक्ष भेटघाट भएको छैन। तीन–चार सय जनाले नेपाल फर्काइदिन भनेर दूतावासमा अनुरोध गरेको भन्नेसम्मका जानकारी छन्’, उनले भने, ‘हामीले पनि दूतावाससँग नै समन्वय गरिरहेका छौँ।’

प्रकाशित मिति: : 2023-12-09 19:40:00

प्रतिकृया दिनुहोस्

    राम्रो कथा लेखिस भाइ । देशको अवस्था यस्तै छ । युवाहरुले आफ्नो ज्यानको जोखिम मोलिरहेका छन ।

    • 2 महिना अगाडि
    • Ajamat Dangi