स्थानीयवासीको सक्रियतामा लिफ्टमार्फत खानेपानी

बागलुङ नगरपालिकाको बजार क्षेत्रभित्रै खानेपानीको चरम अभाव खेप्दै आएका उपल्लो पाखाथरका ५० घरमा खानेपानीको सहज सुविधा पुगेको छ।

लामो  समयदेखि बत्ती मुनीको अँध्यारोजस्तै बनेर खानेपानीको समस्या भोग्दै आएका उपल्लो पाखाथरका स्थानीयवासीले आफैँ जागरुक भएर खानेपानी योजना सम्पन्न गरेका छन्। यसमा बागलुङ नगरपालिकाले पनि सहयोग गरेको थियो।

योजना नबन्दासम्म स्थानीयवासीले कुवा र मूलको पानीमा निर्भर हुनुपर्ने बाध्यता थियो। तर अब यस्तो बाध्यता लिफ्ट खानेपानी आयोजना सम्पन्न भएसँगै सकिएको स्थानीयवासी उपभोक्ता बताउँछन्। स्थानीय उपभोक्ताले रु १५ लाख सङ्कलन गरी खत्रीबारीमा ७५ हजार लिटरको खानेपानी ट्याङ्की निर्माण गरेका थिए।

पँधेराघरको पानीलाई १०० मिटरमाथि खत्रीबारीमा लिफ्ट प्रविधिमार्फत लगेर ५० घरमा ‘एक घर, एक धारा’ निर्माण गरेका छन्। योजना सम्पन्न भएपछि सोमबारदेखि घरघरमै खानेपानी पुगेको सामुदायिक खानेपानी तथा उपभोक्ता संस्था उपल्लो पाखाथरका अध्यक्ष कुमारविक्रम क्षेत्रीले जानकारी दिए।

क्षेत्रीका अनुसार योजनाको पाइप लाइन विस्तारका लागि भने बागलुङ नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा रु आठ लाख बजेट विनियोजन गरेको थियो।

“विसं २०३८ मा  जुरेढुङ्गाको मूलको पानी सामुदायिक धारामार्फत खाने गरिन्थ्यो, अहिले त्यहाँबाट सानो पानी आउँछ, खानेपानीको अभाव झेल्दै आएका स्थानीयवासीले उपल्लो पाखाथर टोल विकास संस्थामा आवद्ध भई नयाँ घरले रु ४१ हजार र पुरानो घरले रु २६ हजार सङ्कलन गरी रु १५ लाख जुटाएर लिफ्ट खानेपानी आयोजना सम्पन्न गर्न लागेका थियौँ”, क्षेत्रीले भने, “प्राविधिक सहयोग गर्दै आएको नगरपालिकाले रु आठ लाख बजेट विनियोजन गरेपछि आयोजनाले सार्थकता पायो।” उपल्लोपाखाथर बागलुङ नगरपालिका–३ र ४ वडामा पर्दछ।

जिल्ला सदरमुकामवासी भएर पनि पुरानो पानीकोे मुहान सुक्दै गएपछि कुवाको पानीमा निर्भर बन्नुपर्ने अवस्थाको अन्त्य भएको र घरमै खानेपानीको धारा आउँदा स्थानीयवासीमा खुशी छाएको उपभोक्ता  धनबहादुर जिसी बताउछन्।

बस्तीभन्दा मुहान तल भएका कारण १०० मिटरको उचाइमा पम्पमार्फत खानेपानी पु¥याएर घरघरमा वितरण गरिएको बागलुङ नगरपालिकाका इञ्जीनियर गौरव शर्माले जानकारी दिए।

प्रकाशित मिति: : 2021-08-17 08:21:00

प्रतिकृया दिनुहोस्