दुनियाँले रोक्दा-रोक्दै पनि तेल बेचेर कसरी पैसा कमाइरहेको छ इरानले?

photo: Dreamstime
photo: Dreamstime

गत अप्रिलको मध्यतिर इरानले इजरायलमाथि करिब ३ सयभन्दा धेरै क्षेप्यास्त्रहरू प्रहार गरेको थियो। कैयौँ वर्षदेखि अन्तर्राष्ट्रिय समुदायको अनेकौं प्रतिबन्ध झेल्दै आएको इरानले त्यो आक्रमणपछि फेरि अर्को एउटा गम्भिर प्रतिबन्ध खेप्नु पर्‍यो।

इजरायलमाथि आक्रमण गरेपछि अमेरिकालगायत विभिन्न शक्ति राष्ट्रहरूले इरानको तेल नकिन्न अपिल गरे। अर्थात् त्यो भनेको इरानको तेल निर्यातको प्रतिबन्ध थियो। कच्चा तेलको ब्यापार इरानी अर्थव्यवस्थाको जीवनरेखा (लाइफलाइन) नै हो।

यसका बाबजुद इरानले २०२४ को पहिलो तीन महिनामै करिब ३५.८ अर्ब डलर बराबरको तेल निर्यात गरिसकेको छ। यो भनेको इरानले बिगत ६ महिनादेखिको सबैभन्दा धेरै तेलको व्यापार हो।

यति कडा प्रतिबन्धनका बिचमा पनि इरानले कसरी तेल निर्यातमा नयाँ-नयाँ रेकर्डहरू बनाइरहेको छ? यसको जवाफ हो- चीन। जसले इरानसँग अहिले अत्याधिक तेलको ब्यापार गरिरहेको छ।

विश्वाका सारा शक्ति राष्ट्रहरूबीच धुब्रीकरण बढिरहेका बेला इरानसँगको ब्यापार आफैँमा एउटा खतरा हो। तर, सबैभन्दा बढी खनिज इन्धन किनिरहेको चीनले भने त्यसको परवाह गरेन। इरानका लागि चीन नै सबैभन्दा ठुलो तेल खरिदकर्ता हो।

इरानको तेल विश्वका अरु देशभन्दा सस्तो र निकै गुणस्तरयुक्त मानिन्छ।

विभिन्न देशहरूबीच जारी लडाइँसँगै अहिले वैश्विकस्तरमै तेलको खपत र मूल्य पनि बढिरहेको छ। तर, इरानले भने आफ्नो तेल बिक्री गर्नका लागि अहिले निकै सस्तो दरमा तेल बेचिरहेको छ।

रोयटर्सका अनुसार अहिले चीनले इरान, रुस तथा भेनेजुएलालगातका देशहरूबाट तेल किनेर भन्डारण पनि गरिरहेको छ। सस्तोमा तेल बेचिरहेका यी देशहरूबाट चीनले आफ्नो ब्यापार पनि बचत गरेको छ। २०२३ को पहिलाे नौ महिनामा चीनले यी देशहरूबाट लगभग १० अर्ब डलरबराबरको तेल गरिसकेको थियो। त्योमध्ये सबैभन्दा धेरै इरान र रुसबाटै खरिद गरेको छ। यी दुवै अनेकौँ अन्तर्राष्ट्रिय प्रतिबन्ध झेल्दै आएका देश हुन्।

अन्तर्राष्ट्रिय बजारमा अहिले कच्चा तेलको मूल्यमा परिवर्तन भइरहेको छ। तर, अधिकांश फेरबदलका बेला पनि यो मूल्य भने ९० डलर प्रतिब्यारेलभन्दा कम नै देखिएको छ।

यस्तो बेलामा इरानले भने आफ्नो तेलको ब्यापारमा प्रतिब्यारेल ५ डलर सस्तो बनाइदिएको छ। कुनै बेला उसले विश्वका अरु देशभन्दा प्रतिब्यारेल १३ डलर कममा पनि बेचेको थियो।

तथ्याङ्क विश्लेषक हुमाङयू फलकशाहीका अनुसार यो एउटा ‘भू-राजनीतिक’ परिणाम पनि हो।

इरान र उसको अर्थव्यवस्थालाई समर्थन गरिरहेको चीनले अमेरिकाको नजरमा मध्यपूर्वमा भूराजनीट्टिक तथा सैन्य चुनौतीहरू बढाइरहेको छ। खासगरी यो क्षेत्रमा अहिले इजरायल र इरानबीच पनि तनाव बढिरहेको छ। यसअघि नै इरायल हमासविरुद्धको युद्धमा होमिएकै थियो।

‘यो सब परिणाम इरान-रुस-अमेरिका तथा चीनबीच चलिरहेको एउटा ठूलै खेलको हिस्सा हो’ फलकशाही भन्छन्।

कैयौँ जानकारहरूका अनुसार अहिले चीन र इरानबीच ब्यापारिक साझेदारीका लागि एउटा उच्चस्तरी प्रणाली पनि विकसित भइसकेको छ।

यो प्रणालीको एउटा सानो तर महत्वपूर्ण हिस्सा हो- ‘टी पट्स’। चीनको क्षेत्रीय बैंकको लगानी र नियन्त्रण रहेको यो एक प्रकारको भट्टी हो। जहाँ चीन र इरानको धेरैभन्दा धेरै तेल प्रशोधन(रिफाइन) हुन्छ।

यो एउटा त्यस्तो रिफाइनरी प्राणली हो, जसले अन्तर्राष्ट्रियस्तरमा निकै कममात्रै जोखिम हुन्छ। अर्थात्, यसको गोपनियता एकदमै पक्का हुन्छ। नत्र अन्य ठुला चिनियाँ सरकारी कम्पनीहरूले त अन्तर्राष्ट्रियस्तरका कामहरू पनि गर्छन्। जसका लागि अमेरिकी ब्यापारिक प्रणालीमा जोडिन अनिवार्यजस्तै हुन्छ। तर, तेल रिफाइनका लागि चीनले अपनाएको यो एउटा सानो प्रणालीले त्यो जोखिमलाई निकै कम गरेको छ।

यस्ता स-साना रिफाइनरीका लागि अन्तर्राष्ट्रिय ब्यापारिक प्रणालीमा जोडिनु आवश्यक हुँदैन। त्यसका लागि डलरको जरुरी पनि पर्दैन र विदेशी लगानी पनि आवश्यक हुँदैन।

खासगरी अन्तर्राष्ट्रिय व्यापार प्रणालीका लागि ठुला-ठुला शिपिङ(ढुवानीका लागि प्रयोग हुने ठुला पानीजहाजहरू (खासगरी इन्धन ओसार्नका लागि बनाइएका ट्याङ्करहरू)को प्रक्रियालाई नै एउटा सफ्टवेयरले निगरानीमा राख्नसक्छ। र, अन्तर्राष्ट्रिय ब्यापार सन्धिसम्झौतामा यो अनिवार्य पनि छ। सफ्टवेयरका माध्यमबाट त्यो ढुवानी साधनलाई सजिलै ‘ट्र्याक’ गर्न सकिन्छ।

तर, इरान तथा चीनले भने यसबाट बच्नका लागि आफ्ना ट्याङ्करहरूको एउटा यस्तो नेटवर्क बनाएका छन् जसबाट उनीहरूको ‘लोकेशन’को कुनै अत्तोपत्तो हुँदैन।

त्यसले गर्दा चीन र इरान अन्तर्राष्ट्रिय प्रतिबन्धबाट पनि बचिरहेका छन् र उनीहरूलाई पश्चिमी शक्ति राष्ट्रहरूले बनाएको ब्यापारिक नीति पनि पछ्याउन पर्दैन।

यी सबै कामहरू भने अन्तर्राष्ट्रिय जल क्षेत्रले तय गरेका सामुद्रिक सीमानाभन्दा बाहिर नै हुन्छन्। जसले गर्दा अहिले पनि चीनमा कति तेल भन्डारण छ र उसले कहाँबाट त्यो तेल ओसारिरहेको छ भन्ने कुरा अहिले कुनै पनि देशका गुप्तचर निकायहरूले पत्ता लगाउन सकेका छैनन्।

अमेरिकी गुप्तचर विभागका अनुसार अहिले यो आदानप्रदानको काम दक्षिणपूर्वी एशियालका सामुद्रिक क्षेत्रहरूमा भइरहेको छ।

खासगरी सिङ्गापुर तथा मलेसियाको पूर्वी सामुद्रिक क्षेत्रमा एउटा यस्तो ठाउँ छ जहाँ वर्षौंअघिदेखि हजारौं ट्याङकरहरू आउने जाने गर्छन् र त्यहीँ नै सामानहरू स्थानान्तर गरिन्छन्।

यसले गर्दा पनि सबैलाई लाग्छ कि चीनले इरान होइन मलेसियाबाटै कच्चा तेल लिइरहेको छ। तर, यो चीनले देखाएकोमात्रै हो।

अमेरिकी ऊर्जा सूचना प्रशासन(ईआइए)को एउटा भन्सार तथ्याङ्कअनुसार सन् २०२२को तुलनामा चीनले सन् २०२३मा मलेसियाबाट ५४ प्रतिशत बढी तेल किनेको थियो। यो भनेको मलेसियाले चीनलाई जति पनि तेल बेचेको देखिएको छ त्यो उसको कच्चा तेलको खूद उत्पानभन्दा निकै धेरै हो।

‘यसबाट पनि प्रस्ट हुन्छ कि मलेसियाले जे रिपोर्ट देखाइरहेको त्यो वास्तवमा उसको नभई इरानी तेल नै हो’, एटलान्टिक काउन्सिलका एकजना विश्लेषक निकोला डेज भन्छन्।

उनका अनुसार पश्चिमी राष्ट्रहरूले बनाएको एउटा अन्तर्राष्ट्रिय वित्तिय प्रणालीलाई छल्दै चीन र इरानबीच स-साना चिनियाँ बैंकहरूमार्फत हुँदै आएको छ।

‘इरानसँगको तेल ब्यापार गर्दा कति जोखिम र खतराहरू छन् भन्नेबारे चीनलाई राम्रोसँग ज्ञान छ। ऊ यसबारे पूरै जानकार छ’, उनी भन्छन्। त्यो ब्यापारिक लेनदेनका लागि उसले अन्तर्राष्ट्रिय प्रणालीमा जोडिएका आफ्ना ठुला बैंकहरूको प्रयोग गर्दैन। बरु उसले ती साना-साना बैंकहरूमार्फत यस्तो काम गरिरहेको जसलाई अन्तर्राष्ट्रिय जोखिम हुँदैन। चीनले इरानलाई अहिले डलरको सट्टा आफ्नै चिनियाँ मुद्रा नै भुक्तानी दिन्छ।

त्यो पैसा उसले चीनका उनै ती स-साना बैंकहरूमा राख्छ। जो इरानको प्रशासनसँग जोडिएका हुन्छन्। त्यो पैसा इरानले चलाउँदैन बरु उसले चीनबाट त्यसको सट्टा आफ्नो देशका लागि आवश्यक चिज वस्तुहरू किनेर लैजान्छ। तर, अहिलेसम्म यो कुरा प्रस्टसँग कसैले भन्न सकेका छैनन् कि त्यो सबै पैसा इरानले आफ्नै देशमा उपयोग गर्छ कि गर्दैन भनेर।

तेल उत्पादक र निर्यात देशहरूको संस्था ओपेकमा आवद्ध देशमध्ये सबैभन्दा ठुलो तेल उत्पादक देश नै इरान हो। उसले हरेक दिन लगभग ३० लाख ब्यारेल तेल उत्पादन गर्ने क्षमता राख्दछ। यो भनेको विश्वमा उत्पादन हुने तेलको लगभग ३ प्रतिशत हिस्सा हो।

इरानबाट तेल बाहिरिन रोकियो भने सारा विश्व पेट्रोलियमको अभाव अझ धेरै जुध्नुपर्ने हुन्छ।

बिबिसीको सहयोगमा

प्रकाशित मिति: : 2024-05-05 08:56:00

प्रतिकृया दिनुहोस्