जनतालाई अँध्यारोबाट उज्यालोमा ल्याएका छाैँः गाउँपालिका अध्यक्ष गुरुङ (अन्तर्वार्ता)

देश संघीय संरचनामा गएको पनि ५ वर्ष पुग्न आँट्यो। नयाँ अभ्यासमा देश गइसकेपछि स्वायत्त सरकारका रुपमा विकास निर्माणका काम अघि बढाईरहेका छन्।

संघीय संरचना लागू भईसकेपछि निर्वाचित जनप्रतिनिधिका रुपमा निर्वाचित प्रतिनिधिको यो अन्तिम कार्यकाल हो। आफ्नो पाँच वर्षे कार्यकालमा के कस्ता काम भए ? बिएल नेपाली सेवाको साप्ताहिक प्रस्तुतीस्थानीय सेरोफेरोमा यसपटक हामीले कास्कीकाे मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम’सँग कुराकानी गरेका छाैँः

जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि के–के काम गर्नु भयो ?

हामी जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आईसकेपछि केही पनि संरचना थिएन। शून्यबाट सुरु गरेका हौं। बाटो पनि थिएन। भौतिक संरचना केही पनि थिएनन्। हाम्रो गाउँपालिकाको मुख्य चुनौती भनेको नै बाटो हो। दुई लेनको बाटो पनि थिएन। त्यसलाई हामी आईसकेपछि स्तरोन्नति गर्याैँ। गाउँपालिका जोड्ने बाटोहरु बनायौं। महानगरसँग जोड्नेबाटोको पनि स्तरोन्नति गरेका छौं।

हाम्रो पालिकामा १२ वडा छन्। वडा भवनहरु थिएन। नागरिकले पहिलो सेवा लिने भनेको वडाबाट हो। भाडामा घर लिएर वडा कार्यालय सञ्चालन गर्नु पर्ने अवस्था थियो। हामी आईसकेपछि ३० करोड रुपैयाँ लगानी गरेर ९ वडामा वडा कार्यालयको भवन निर्माण गरिसकेका छौं। अरु ३ वडा वडा भवनलाई सुधार गरेर सञ्चालन गर्ने काम गरेका छौं। गाउँपालिका भवन केन्द्र विवादको कारण चाहेर पनि बनाउन सकेका छैनौं। तर, वडाहरु सुविधा सम्पन्न बनेका छन्। अनलाइन मार्फत सेवा दिन सक्छन्। नयाँ अनुभूति दिएका छौं। वडा वडा व्यवस्थित गरेका छौं। ५ वडामा आधारभूत स्वास्थ्य केन्द्र पनि निर्माण गर्याैँ।

कोभिड–१९ महामारीको बेलामा स्वास्थ्य केन्द्रले मात्रै पुग्यो त ?

हामीलाई कोभिडले ठूलो पाठ सिकायो। कोभिडपछि पालिकाको सबै वडा समेट्ने गरी थुम्सिकोट स्वास्थ्य केन्द्र अस्पताल बनायौं। बैशाखदेखि २५ बेड भएको डाक्टरसहितको अस्पताल सञ्चालनमा ल्याएका छौं। कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याएका छौं। अस्पताललाई चाहिने सबै संरचनाहरु: एक्सरे, फार्मेसी, ल्याब समेत जडान गरि सकेका छौं। पालिकामै आयुर्वेदिक अस्पताल पनि बनाएका छौं।

स्वास्थ्यको क्षेत्रमा सबै वडा र बस्तीहरुमा पुग्ने गरी स्वास्थ्य संरचना हामीले खडा गरेका छौं। एउटा अस्पताल सञ्चालनमा आईसकेको छ। अर्को अस्पतालका लागि टेण्डर गरेर काम सुरु गर्दैछौं। १९ करोडको टेण्डर गरेर अस्पताल सुरु गर्दैैछौं। यो पनि हाम्रो लागि महत्वपूर्ण उपलब्धि हो। स्वास्थ्य चौकी पनि सबै वडा वडामा पुग्ने गरि स्थापित भईसकेको  छ। तर, अस्पताल पनि दुई वटा सुरुआत गरेका छौं।

हामी जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएपछि स्वास्थ्य क्षेत्रमा निकै उपलब्धिमूलक काम गर्याैँ, जस्तो लाग्छ। यसले दुरगामी प्रभाव पार्छ। कोभिडको महामारिछि हामी सबैको पहलमा पालिकाका लागि दुई वटा नयाँ एम्बुलेन्स किनेका छौं। दुई एम्बुलेन्समध्ये एउटा कोभिड बिरामीको लागि अर्को अरु नै रोगका बिरामीका लागि सेवा प्रवाह गरेका छौं।

कोभिड–१९ को महामारीबाट पालिकालाई सास भर्न के–के गर्नु भयो ?

गतसाल कोभिड महामारिपछि नै आर्थिक अवस्था नाजुक भएका नागरिकका लागि राहत सामग्री वितरण गर्याैँ। अहिले राहत सामग्री मात्र होइन। कोभिड रिपोर्ट पोजेटिभ आएर कोभिडसँग लडिरहेका बिरामीका लागि घरघरमै पुगेर भिटामिन लगायतका औषधी पनि वितरण गरि रहेका छौं। होम आइसोलेसनमा बसेका हरुलाई। जम्माजम्मि ५ सय जनालाई हाम्रो गाउँमा कोभिड संक्रमण भएको थियो।

सबै जनलाई  हामीले निगरानीमा राखेर निको पार्ने काम पनि गर्याैँ। स्वास्थ्य क्षेत्रमा कम्तिमा पनि सरकार छ भन्ने देखाएका छौं। कर्मचारीको पनि अभाव हुन दिएनौं। कर्मचारी नपुगेको ठाउँमा तत्काल करारमा कर्मचारी राख्यौं। हाम्रो कार्यकालको झण्डै आधा जति समय त कोरोना महामारी रोकथाममै केन्द्रित हुनु पर्याे। यसमा हामीले जनतालाई निराश पारेका छैनौं।

शिक्षाको क्षेत्रमा के कस्ता काम गर्नु भयो ?

हाम्रो पालिकामा नीजि विद्यालय एउटा पनि छैन। सामुदायिक विद्यालय ५१ वटा छ। १० वटा माध्यमिक तहका स्कुलहरु छन्। कुल विद्यालयको हालत भनेको जनप्रतिनिधि नहुँदा ती विद्यालयको अवस्था यति दर्दनाक थियो, बाहिरबाट हेर्दा विद्यालयको साइनबोर्ड हुने। भित्र कुनै पनि बच्चाहरुले जनताका छोराछोरीले राम्रो शिक्षा पाई रहेको थिएन।

तलब खानकै लागि मात्रै विद्यालय गएको जस्तो थियो। विद्यालयको विजोग थियो। त्यसलाई सुधार्ने काम हामीले गर्यैँ। व्यवस्थापकीय हिसाबले राम्रो गर्ने। विद्यार्थीहरुको हकहित, उनीहरुको पढ्न पाउने नैसर्गिक अधिकार सुरक्षित गर्ने गरि  हामीले व्यवस्थापकीय हिसाबमा कडाई गर्याैँ।

उत्कृष्ट काम गर्ने शिक्षकलाई पुरस्कृत गर्ने, विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने काम हामीले गर्याैँ। दिनरात खटिएर हामीले शिक्षा क्षेत्रमा पनि उल्लेख्य सुधार गरेका छौं। विद्यालय भवन पनि गैरसरकारी संस्थासँग मिलेर स्तरोन्नति गर्ने, नयाँ भवन निर्माण गर्ने काम गरेका छौं। कोभिडको समयमा पनि अनलाइनबाट पढाई रहेका छौं। विद्यार्थीहरुलाई फोन गरेर होमवर्क दिने। निगरानीमा राख्ने काम भईरहेको छ।

यो तपाईंहरुको अन्तिम कार्यकाल पनि हो, जनप्रतिनिधिको रुपमा समग्रमा कस्तो काम गरे जस्तो लागेको छ ?

हामी जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएपछि इमान्दार भएर काम गर्ने प्रयास गरेका छौं। एक घर एक धाराको हामीले नीति बनाएका थियौं। त्यसलाई पछि प्रदेश सरकारले पनि लियो। त्यसलाई प्रदेश सरकार र विभिन्न संघसंस्थाको पहलमा ४२ सय घरधुरिमध्ये ३२ सय घरधुरिमा सम्पन्न गरी सकेका छौं। बाँकी घरधुरिमा पनि जडान हुने काम जारी छ।

हामी निर्वाचित भएर आउनुअघि। कुल घरधुरिमध्ये आधा घरधुरिमा मात्रै बिजुलिबत्ति पुगेको थियो। हामी निर्वाचित हुनुअघि नारा पनि के बनाएका थियौं भने, सबै घरधुरिमा बत्ति पुर्याउछौं भन्ने अपिल गरेका थियौं। अहिले हामीले सबै वडाको सबै बस्तिमा केन्द्रीय प्रसारण लाइन पुर्याएका पनि छौं। पालिकाका सबै जनतालाई अँध्यारोबाट उज्यालोमा ल्याउने काम पनि हामीले हाम्रै पालामा गरेका छौं। पछाडि परेको वर्ग महिला, दलित, अपांगहरुका लागि पालिकाले ठूलो लगानी गरेको छ। युवाहरुको पलायन रोक्न युवा स्वरोजगार कार्यक्रममार्फत् युवालाई स्वरोजगार बनाई रहेका छौं। हाम्रो पालिकाको सिक्लेसमा पनि अहिले पर्यटकको आगमन बृद्धि भई रहेको थियो। अहिले कोरोनाले अवरोध गरेको छ।

हामीले जे–जति काम गर्याैँ। केही पनि नभएको अवस्थामा हामीले काम सुरु गरेका थियौं। संघीयता पहिलो अभ्यास पनि थियो। जिरोबाट हामीले काम सुरु गर्यैँ। अहिले हामी कार्यकालको अन्तिम वर्षमा छौं। अब हाम्रो कार्यकाल सकिएपछि आउने जनप्रतिनिधिलाई विकास निर्माणका काम अघि बढाउन निकै सजिलो हुनेछ। 

प्रकाशित मिति: : 2021-09-05 20:56:00

प्रतिकृया दिनुहोस्