देश बनाउने कर्णधारहरू आफैँ जीवन गुमाउँदै

दाङ घोराही उपमहानगरपालिका– १५ का प्रभाकरचन्द ठकुरी कक्षा  १२ मा पढ्दै थिए। दाङमा उत्कृष्ट विद्यालयका रुपमा चिनिने विद्यालय घोराहीकै माउन्ट भ्यू ईङ्लिस बोर्डिङ स्कुलमा पढ्थे, प्रभाकर।

उनी क्रिकेट खेलाडी पनि हुन्। दाङ क्रिकेट संघबाट क्रिकेट खेल्दै आएका प्रभाकरले उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेका थिए। केही दिनअघि मात्रै दाङको लमहीस्थित देउखुरी क्रिकेट खेल मैदानमा वाई–वाई यू–१९ लुम्बिनी प्रदेश स्तरीय क्रिकेट छनोट प्रतियोगितामा दाङ क्रिकेट टिमको तर्फबाट उनी छनोट भएका थिए।

क्रिकेट खेलेका उदयमान १८ वर्षीय खेलाडी अहिले भने यो संसारमा छैनन्। अभिभावक र समाजले निकै आशा गरेका प्रभावकरले कलिलो उमेरमा प्राण त्याग गरेका छन्। त्यो कुनै दुर्घटना वा घटनाले होइन। उनले आत्महत्याको बाटो रोज्दै मंसिर १३ गते मृत्युवरण गरे।

यसको ४ दिनअघि १० गते मात्रै घोराही– १५ का एक अर्का किशोरले आत्महत्या गरे। कक्षा १२ को परीक्षा दिएर बसेका अजय पुनले आत्महत्या गरेका हुन्। उनी नेकपा (माओवादी केन्द्र) घोराही १४ का पार्टी अध्यक्ष कृतिमान पुनका कान्छा छोरा हुन्।

अजयले घोराही– १४ को जलजला टोलमा गठन गरिएको जलजला बाल क्लवको अध्यक्ष समेत रहेर भूमिका निर्वाह गरिसकेका थिए। सबै दृष्टिकोणले सब्बल देखिने अजयले आत्महत्याको बाटो रोज्छन् होला भन्ने घर परिवारले नसोचेको कुरा थियो। तर, आत्महत्या गरे।

प्रभावकर र अजय त प्रतिनिधिमुलक पात्र मात्र हुन्। यसरी किशोर अवस्थामा आत्महत्या गर्ने क्रम पछिल्लो समय बढ्दै गएको छ। युवा अवस्थालाई देशको कर्णधार भन्ने गरिन्छ। तर, सामान्य कुराहरुमा असमझदारी हुँदा यी युवाहरु नै बढी आत्महत्या गर्ने गरेका छन्। १८ देखि ४० वर्ष उम्मेर समूहका युवाहरु नै बढी आत्महत्या गर्ने गरेको देखिएको प्रहरी बताउँछ।

जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांकले बितेको ६ महिनामा १ सय ६१ जनाले आत्माहत्या गरेको देखाउँछ। जसमध्ये अधिकांश युवा अवस्थाकै रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्ले बताउँछन्। जसमा आत्महत्या गर्नेमा महिलाभन्दा पुरुष धेरै छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ६ महिनाकोबीचमा जिल्लामा असोज महिनामा सबैभन्दा धेरै २८ जनाले आत्महत्या गरेका छन्। जसमा १६ पुरुष २२ महिला छन्।

त्यसैगरी बैशाखमा १० पुरुष १२ महिला गरी २२ जना, जेठमा १४ महिला र १४ पुरुष गरी २८ जना, असारमा १५ पुरुष ८ महिला गरी २३ जना, साउनमा ३ पुरुष १५ महिला गरी १८, भादौमा २३ पुरुष ९ महिला गरी ३२ जनाले आत्महत्या गरेका छन्।

किन बढ्दै छ, नयाँ पुस्तामा आत्महत्या ?

आफूले अपेक्षा गरेको अनुसारको नहुँदा र वास्तविकतालाई स्वीकार्न नसक्दा नै नयाँ पुस्तामा आत्महत्या जस्ता समस्या बढ्दै जान थालेका छन्। सबै कुरा आफूले सोचे जस्तै नहुँदा जीवननै बर्बाद भयो भन्ने ठन्दा र फराकिलो सोच बनाउन नसक्दा यस्तो समस्या बढ्दै गएको सरोकारवाला बताउँछन्।

८० प्रतिशत आत्महत्याका घटना तनाव व्यवस्थापन गर्न नसक्दा नै हुने गरेको मनोपरामर्शदता शुशिला आचार्यको भनाई छ। मायामा धोका पाउँदा, आफूले भने अनुसार अभिभाकले नगरिदिँदा, विभिन्न ठाउँमा असफलता जस्ता विभिन्न तत्वहरुले मानिसलाई डिप्रेशनसम्म पुर्‍याउने र त्यसले आत्महत्याको रुप लिने खतरा धेरै हुने गरेको उनको भनाई छ।

यस्तो अवस्थामा उनीहरुले देखाउने विभिन्न खालका लक्षणहरुलाई घरपरिवारले बुझेर उनीहरुका कुरा सुन्ने र जीवनको महत्वलाई बुझाउने प्रयास गर्ने उनको धारणा छ।

शिक्षक तथा पत्रकार नरेन्द्र केसी यसरी युवाहरुले प्राण त्याग्नु मानवीय कोणबाट देशको लागि ठूलो क्षति भएको बताउँछन्। त्यस्तै समाजशास्त्रीय कोणबाट मानिसामु गम्भीर चुनौती खडा भएको विश्लेषण गर्छन।

‘सन्तान गुमाउनुको पीडा अभिभावकलाई त छदै छ, यो मानविय कोणबाट देशको लागि ठूलो क्षति हो भने समाजशास्त्रीय कोणबाट हाम्रो सामु उभिएको गम्भीर चुनौती हो।’ उनी भन्छन्।

यसलाई रोक्नका लागि उनले युवाहरुलाई जीवनप्रति आशावादी बनाउदै भविष्य निर्माणमा कन्द्रीत गर्न सशक्त अभियान सञ्चालन गर्नु पर्ने तर्क गर्छन।

प्रकाशित मिति: : 2021-12-04 15:45:00

प्रतिकृया दिनुहोस्