राप्रपा अध्यक्ष लिङ्देनले बोलाए केन्द्रीय समिति बैठक 

file photo
file photo

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार केन्द्रीय समिति बैठक बोलाएका छन्।

पहिलो बैठकलाई उनले ‘परिचयात्मक बैठक’ को संज्ञा दिएका छन्।

सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा पदबहाली गर्दै लिङ्देनले निवर्तमान अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी, निर्वाचित पदाधिकारीसँग सरसल्लाह गरेरै आफू अघि बढ्ने बताए।

लिङ्देनले पार्टीमा पक्ष र विपक्ष महाधिवेशनस्थलमै विसर्जन भएको भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।

‘राप्रपालाई ठूलो बनाउने मात्र होइन, देश र जनताको पक्षमा काम गरेर देखाउने छौँ। हामीले थुप्रै चुनौती सामना गरेर अघि बढ्नुपर्नेछ,’ उनले भने।

पदभारपछि लिङ्देनले महाधिवेशन प्रतिनिधिहरूको मतलाई अवमूल्यन नगर्न थापालाई सचेतसमेत गराए।

‘उहाँले सामाजिक सञ्जालमा लेख्नुभयो भनिएका विषयवस्तु मैले पढ्न पाएको छैन। मैले चार दिनदेखि सामाजिक सञ्जाल चलाएको छैन,’ उनले भने, ‘निर्वाचनमा पराजयको प्रतिक्रिया पनि त्यसरी आएको हुनसक्छ। त्यसमा भन्नु केही छैन। तर, हाम्रो महाधिवेशनमा राजालाई जोड्नु हाम्रो मतको अवमूल्यन हो। यो दुर्भाग्यपूर्ण छ।’ 

प्रकाशित मिति: : 2021-12-06 15:59:00

प्रतिकृया दिनुहोस्