२ साल अघि ८ वर्षीया छोरी बोकेर बेपत्ता भएकी कर्मपुरा अझै फेला परिनन्

दुई वर्षसम्म किन भेटाएन प्रहरीले?

File Photo
File Photo

दाङ देउखुरीस्थित राप्ती गाउँपालिका वडा नं. ३ मसुरियाका कालिबहादुर रोका मगरकी श्रीमती कर्मपुरा रोका मगर हराएको दुई वर्ष पुग्यो।

वि.स. ०७६ साल पुष १३ गते एक ८ वर्षीया छोरीसहित घरबाट सम्पर्कविहीन भएकी कर्मपुरा अहिलेसम्म सम्पर्कमा आउन सकेकी छैनन्।

उनको अवस्था कस्तो छ भन्ने जानकारी आजसम्म घरपरिवारले त थाहा पाएको छैन नै, माइती पक्षले समेत थाहा पाउन नसकेको जानकारी दिने गरेको श्रीमान कालिबहादुर बताउँछन्।

श्रीमतीको खोजी गरिदिन भनेर कालिबहादुर प्रहरी कहाँ धाइरहेका छन्। प्रहरीलाई उनले श्रीमती र छोरीको फोटोसमेत पनि दिएका छन्। तर प्रहरीले आजसम्म भेटाउन सकेको छैन।

कालिबहादुर अशक्त छन्। घरपरिवारको सुखका लागि दुई पटक विदेशिएका कालिबहादुर अहिले आफैँ सुख शान्तिसँग बस्न पाएका छैनन्।

पछिल्लो पटक कमाउन साउदी अरवीया गएका कालिबहादुरको लडेर ढाड भाँचिएपछि अहिले उनी सामान्य काम बाहेक अरु गर्न सक्दैनन्।

पहिले कमाएर श्रीमतीसहित चार जना छोराछोरीको लालनपालनसँग पढाई खर्च कालिबहादुर नै  गर्दै आएका थिए। लडेर ढाड भाँचिएपछि अहिले उनी कमाउन सक्दैनन्।

साउदीमा ढाड भाचिँएर उपचार गरिरहेको समयमा यता श्रीमती भने एक ठाउँको घडेरीको लालपुर्जा (जग्गाधनी पुर्जा) सँगै कालिबहादुरको नागरिकता लगेर फरार भएकी थिइन्। उनी घरबाट हराएको ७ महिनापछि साउनमा मात्र कालिबहादुर विदेशबाट घरमा आएका थिए। 

आर्थिक अभावमा छुट्यो छोराछोरीको पढाई

कालिबहादुरले कमाउन छाडेपछि अहिले उनीहरुको परिवारमा आर्थिक स्थिति कमजोर हुँदै गएको छ। आर्थिकले नभ्याएपछि १० कक्षा पास नगर्दै एक छोरी र एक छोराको पढाई छुटाउनु परेको कालिबहादुर बताउँछन्।

पहिले ४ जना छोरोछोरीलाई बोडिङ (निजी) स्कुलमा पढाएका कालिबहादुरले आफू बिरामी हुँदा श्रीमतीले छाडेको र त्यसपछि छोराछोरीको बिचल्ली भएको बताए।

अहिले कान्छो छोराले मात्र पढ्ने गरेका छन्। उनलाई पनि बोर्डिङ स्कुलबाट झिकेर सरकारी स्कुलमा भर्ना गरिएको छ।

८ कक्षामा पढ्ने जेठी छोरी र ७ कक्षामा पढ्ने जेठो छोराले भने आर्थिक अभावका कारण पढाई छाड्नु परेको छ। ‘पैसा भएन। छोरा र छोरीको पढाई छुटाउनु पर्‍यो। कान्छो छोरा अहिले ६ कक्षामा पढ्छ,’ कालिबहादुरले भने।

१८ वर्ष पनि नपुगेका जेठो छोरा कमाउनकै लागि अहिले सडकको काम गर्न बाध्य भएका छन्। घरमा खेलेर खाने, पढ्ने समयमा उनी जिल्लाबाहीर घर खर्च चलाउनकै लागि सडकमा काम गर्दै छन्। उनकै कामाइले अहिले जेनतेन घर चल्लने गरेको बुवा कालिबहादुरले बताए।

के गर्दैछ दाङ प्रहरी?

ढाड भाँचिएपछि कालिबहादुर अहिले कमाउने कुरा त परै छ, अलि लामो दुरीको यात्रा पनि गर्न सक्दैनन्। बसेर गर्ने सामान्य काम बाहेक अन्य समयमा उनलाई आराम गर्नु पर्छ। ‘धेरै हिँड्न पनि मिल्दैन, बसेर सामान्य काम मात्र गर्ने हो।’ उनले भने।

उनले त्यही बसेर गर्ने काम पनि धेरै गरे भने ढाड दुखेर सताउँछ। जीवनको सुख दुःखमा साथ दिने श्रीमती विदेशमा कालिबहादुरले उपचार गर्दै गर्दा यता छोराछोरीलाई बिचल्लीमा पारेर फरार भएकी थिइन्। बाँचेर आएका कालिबहादुर त्यसपछि श्रीमतीको खोजीमा छन्।

दुई पटक इलाका प्रहरी कार्यालय भालुवाङमा श्रीमतीको खोजी गरिदिन भनेर कालिबहादुर पुगिसकेका छन्। तर प्रहरीले आफ्नो तर्फबाट गर्ने काम भइरहेको भनेर प्रतिक्रिया मात्र दिने गरेको छ।

इलाका प्रहरी कार्यालय र दाङ प्रहरी कार्यालय दाङले पनि हुलिया बाताउने बाहेक अन्य खासै उपलब्धी हासिल गर्न सकेको छैन। छोरीसहित कर्मपुरा हराएको दुई वर्ष पुगेको भएपनि प्रहरीले खोजतलासका लागि खासै चासो दिएको पाइएको छैन।

कालिबहादुर पनि प्रहरीलाई दबाब दिन वा श्रीमतीको खोजीका लागि के गर्नुपर्छ भन्ने सबै प्रकृयाको बारेमा अनविज्ञ रहेको बताउँछन्। बारम्बार प्रहरी कहाँ पुग्न पनि उनलाई समस्या छ। तर प्रहरीले घर जग्गाको लालपुर्जा, नागरिकतासहित मान्छे हराउँदा पनि चासोका साथ खोजी नगरेको बताउँछन्।

ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख (ईन्सपेक्टर) भुवन भट्टले आफूहरुको ठाउँबाट गर्ने काम सबै गरेको बताउँछन्। उनले कालिबहादुरले भनेका मान्छेसँग सम्पर्क गरेको, सबै ठाउँमा हुलिया बताएको भएपनि भेटिन नसकेको जानकारी दिए।

यस्तै जिल्ला प्रहरी कार्यालय दाङको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका इन्चार्ज (असई) निमा कुमारी डिसीले खोजतलासको काम भइरहेको प्रतिक्रिया दिइन्। उनले अन्य हराएको महिला दुई/दुई वर्षसम्म त सम्पर्कमा आउने गरेको बताउँदै कर्मपुराको खोजीका लागि थप काम गर्ने बताइन्।

बालबालिकाभन्दा धेरै हराउँछन् महिला

जिल्ला प्रहरी कार्यालय दाङमा बालबालिकाभन्दा महिला हराएको उजुरी धेरै पर्ने गरेकोे छ। यही असार महिनायता ४ महिनाको बीचमा दाङमा १०४ जना महिला हराएका छन्। जसमा ८१ जना फेला परेका छन्। २३ जना महिला फेला पर्ने बाँकी रहेको प्रहरी तथ्यांकले देखाउँछ।

साथै ४ महिनाको बीचमा दाङमा १८ जना बालक हराएका छन् भने ४५ जना बालिका हराएका छन्। हराएकामध्ये ५ जना बालक र १३ जना बालिका फेला पर्न बाँकी छन्। हराउने बालबालिका मध्येमा पनि बालिका हराउने संख्या धेरै रहेको छ।

यस्तै अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा पनि ३०१ जना महिला हराएका छन्। जसमध्ये २९८ जना भेटिएका छन् भने अझै ३ जना भेटिन बाँकी रहेका छन्।

त्यसैगरी सोही समयअवधिमा ३९ जना बालक हराएका छन्। यी सबै भेटिएको प्रहरी तथ्यांकमा छ। १०७ जना बालिका हराएकोमा अब १ जना भेटिन बाँकी रहेका छन्। 

प्रकाशित मिति: : 2021-12-08 17:40:00

प्रतिकृया दिनुहोस्