दुई वर्षदेखि खुला आकासमुनि पठन पाठन

जनता प्राथमिक विद्यालयको  छाना हावाहुरीले उडाएको दुई वर्ष पुग्दा पनि मरमत गरिएको छैन।  छाना नभएपछि विद्यालयमा अहिलेसम्म खुला आकासमुनि पठन पाठन हुँदै आएको छ। 

शारदा नगरपालिका–१० पैयाखर्कमा अवस्थित सो विद्यालयको छाना २०७६ साल चैत ११ गते बेलुकी आएको हावाहुरीले उडाएको थियो। विद्यालयको छाना हावाहुरीले उडाएपछि विद्यार्थीहरु खुला आकासमुनि बसेर पढ्न बाध्य छन्। चैत÷वैशाखको टन्टलापुर घाममा होस् या असार÷साउनको बर्खे झरीमा होस् विद्यार्थीहरु छाना नभएको त्यही कक्षाकोठामा बस्दै आएका छन्। यसबाट शिशु कक्षा र कक्षा १ मा अध्ययनरत बालबालिका प्रभावित भएको छ। विद्यालयमा छाना नभएपछि पानी परेको दिन विद्यालय बन्द हुने गरेको विद्यालयका प्रधानाध्यापक डम्बर चलाउनेले जानकारी दिए। 

“विद्यालयको छाना हावाहुरीले उडाएको झन्डै दुई वर्ष पुग्न थालेको छ, मर्मत गर्ने पैसा विद्यालयमा भएन, अन्य समयमा जसोतसो पठनपाठन भइरहेको भए पनि बर्खामा समस्या भयो, कोरोनाका कारण केही समय विद्यालय बन्द भइरह्यो,” उनले भने। पानी परेको दिन र आकासमा बादल लागेको दिन बालबालिकाहरु पढ्न आउँदैनन्। शिशुकक्षा, कक्षा १ र कक्षा २ का विद्यार्थीहरुलाई सँगै राखेर पढाउने प्रयास गरे पनि प्रभावकारी नभएको उहाँको भनाइ छ।

विसं २०३३ मा स्थापना भएको यस विद्यालयमा अहिले ६३ बालबालिकाले अध्ययनरत छन्। पर्याप्त विद्यालय भवन नभएको यस विद्यालयमा दरबन्दीका तीन, बालविकास शिक्षक एक र कार्यालय सहयोगी एकजना कार्यरत छन्। हावाले उडाएको विद्यालय भवनको छाना राख्न नसक्दा पानी परेको दिन शिशु कक्षा र कक्षा १ का विद्यार्थी विद्यालयमा पढ्न नआउने गरेको एक विद्यार्थीले बताए।

विद्यालयका प्रअ चलाउनले नयाँ छाना राख्नका लागि माग गरे पनि नगरपालिकाले बेवास्ता गरेको बताए। “विद्यालय व्यवस्थापन समितिको बैठकबाट निर्णय गरेर नै नगरपालिकामा छाना मर्मतका लागि बजेट माग गरेका थियौँ, तर यहाँबाट हुँदैन, प्रशासनले रु दुइ÷चार हजार दिन्छ, उतै जानुहोस् भनेर फर्काइदियो,” उनले भने।

यसैबीच, हावाले छाना उडाएको भवनको मर्मतका लागि शारदा नगरपालिका वडा नं १० ले रु तीन लाख विनियोजन गरेको छ। यसै वर्ष पुनर्निर्माण सम्पन्न गर्ने गरी रु तीन लाख विनियोजन गरेको वडाध्यक्ष रेशमबहादुर बुढाथोकीले जानकारी र्दिए। भवनको छाना राख्नका लागि नगरपालिकामा धेरै माग गरे पनि बजेट विनियोजन नभएपछि वडामा रहेको बजेट विनियोजन गरेको उनले भने।

यसका लागि सम्झौता भइसकेको तर कामको सुरुआत नभएको विद्यालयले जनाएको छ। केही दिनमा नै कामको थालनी हुने जनाइएको छ। जस्तापाता राख्नका लागि नयाँ ट्रस्ट निर्माण, जस्तापाता खरिद, भुइँमा प्लास्टर लगायतका कार्य गर्न बजेट पर्याप्त नभए पनि जस्तापाता राखिए पठनपाठनलाई सञ्चालन गर्न सहजता हुने विद्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2022-01-04 13:39:00

प्रतिकृया दिनुहोस्