सिक्लेसमा गुरुङ जातिको क्होइँबों धीं

गाउँले मौलिकता बिर्सियाे। धेरै कुरामा शहरकै सिको गर्‍यो।

हिजो–आज धेरैले गर्दै आएको गुनासो यही हाे। शहरको चपेटामा पर्दै आएका मौलिक संस्कृति जोगाउन निकै चुनौती बन्दै आएको विषय पनि साँचो हो।

गुरुङ समुदायकाे बाहुल्यता रहेको सिक्लेस पनि शहरबाट प्रभावित छ। तर, शहरमै निर्भर हुनु परे पनि आफ्नो कला संस्कृति जोगाउन कम्मर कसेर लागि परेका छन्, यहाँका स्थानीय।

मौलिक तथा पौराणिक प्ये ल्हुँलाई दस्तावेजीकरणकाे लागि करिब १७ रोपनी जग्गामा चिली क्होंइँबो धीं निर्माण गरिएको छ। गुरुङ समुदायको इतिहास झल्कने मौलिक तथा परम्परागत वस्तुको संग्रहालयदेखि पुस्तकालयसम्म क्होइँबो धीं मा रहने छन्।

गुरुङ जातिको तमु प्ये ल्हुँ अन्तर्गतको चिली क्होंइबो इकाई समितिले चिली क्होंइबो धीं निर्माण गरेको हो। ०७३ सालमा विधिवत् स्थापना भएको तमु प्ये ल्हुँ संघबाट गुरुङ जातिको विभिन्न रिवाज हुने गर्छ।

हालसम्म क्होंइँबो धीं बनाउन २ करोड ८५ लाख रुपैयाँ खर्च भईसकेको निर्माण समितिले जनाएको छ। निर्माण समितिका संयोजक बलबहादुर गुरुङका अनुसार क्होइँबों धीं को निर्माण खर्च अझैं थपिन पनि सक्छ। ‘अहिलेसम्मको निर्माण खर्च यति छ। अझैं संरचनाहरु थप्नुपर्ने पनि छ। थप्दै जाँदा खर्च बढ्न पनि सक्छ,’ उनले भने।

गुरुङ समुदायबाट ख्यातिप्राप्त डा.हर्क गुरुङ, डा.चन्द्रप्रसाद तमु र गाउँका पहिलो शिक्षक हवल्दार शिवलाल तमु र जमदार चन्द्रबहादुर तमुको शालिकसमेत क्होइँबों धीं क्षेत्रमा स्थापना गरिने छ।

अहिलेसम्म भएको संरचना निर्माण सामग्री बाहेक स्थानीय श्रम प्रयोग गरेर निर्माण कार्य गरेको संयोजक बलबहादुर बताउँछन्।

चिली क्होंइबो धींको आउँदो २८ गते उद्घाटन हुनेछ। संरचना बनाउन स्थानीयबाटै सहयोग उठाइएको थियो। ३ करोड चानचुन रकम सहयोग उठाएर निर्माण सम्पन्न भएको छ।

उद्घाटन कार्यक्रममा सहयोगीहरुलाई सम्मान गर्ने कार्यक्रम पनि छ। २८ गते सुरु भएर २९ गतेसम्म चल्ने कार्यक्रममा विविध नाँचगान सहितको सांस्कृति कार्यक्रम समेत गरिने छ। कार्यक्रम अवधिभर बाहिरबाट आउने पाहुनाहरुलाई खाना र बस्नेको व्यवस्था समेत निशुल्क गरिने निर्माण समितिले जनाएको छ। ठूलो सभाहल र हेलिप्याडको समेत बनेको छ।

प्रकाशित मिति: : 2022-01-07 17:26:00

प्रतिकृया दिनुहोस्