को बन्ला लता मंगेशकरको सम्पत्तिको मालिक ?

File Photo
File Photo

‘भारत रत्न’ लता मंगेशकरको आइतबार ९२ वर्षको उमेरमा निधन भयो। कोरोना संक्रमित भएपछि मुम्बईको ब्रीच केन्डी अस्पतालमा भर्ना भएकी उनले अस्पतालमै अन्तिम श्वास फेरिन्। उनको निधनपछि भारतभर शोकको लहर छाएको छ।

लताले सन् १९४२ मा आफ्नो करियरको सुरुवात गरेकी थिइन्। उनले फिल्म ‘महल’को गीत ‘आएगा आने वाला’बाट पहिचान पाएकी थिइन्। लताले विश्वभरका करिब ३६ भाषामा ४० हजार बढी गीत गाएकी छन्।

एक गायिकाका रूपमा यति लामो करियरमा लताले निकै सम्पत्ति जोडिन्। लताको कुल सम्पत्ति ५० मिलियन अमेरिकी डलरको आसपास छ। उनको अधिकांश कमाई गीतको रोयल्टी र त्यसको लगानीबाट प्राप्त हुन्थ्यो।

उनले पहिलोपटक मराठी फिल्म ‘किति हसाल’का लागि गीत गाएकी थिइन्। यो उनको पहिलो गीत कहिल्यै रिलिज भएन। उनको पहिलो कमाई २५ रुपैंयाँ थियो। तर जीवनको अन्तिम क्षणसम्ममा उनी करोडौं सम्पत्तिको मालिक बनेकी थिइन्। अन्तिम समयसम्म उनको मासिक आम्दानी ४० लाख रुपैंयाँ थियो।

लताको दक्षिण मुम्बईको पेडर रोडमा घर छ, जसको नाम प्रभुकुञ्ज भवन हो। उनी यही घरमा बस्थिन्। यो घरको मूल्य करोडौंमा पर्छ। लता कारको शौखिन थिइन् र उनीसँगै शेवरले, ब्युक र क्रिसलर ब्रान्डका गाडी थिए। लतालाई फिल्म निर्माता यश चोपडाले ‘वीर जारा’को गीत रिलिज हुनासाथ एक मर्सिडिज कार उपहार दिएका थिए।

लताले आजीवन विवाह गरिनन्। उनलाई दागबत्ती उनको भाइ हृदयनाथ मंगेशकरले दिएका थिए। जो अब लताको सम्पत्तिको मालिक हुन सक्छन्। यद्यपि अहिलेसम्म मालिक को हुने भन्ने आधिकारिक खुलेको छैन।

प्रकाशित मिति: : 2022-02-07 14:53:00

प्रतिकृया दिनुहोस्