आत्मनिर्भरताको बाटोमा हियाखोलाका महिला

जुम्ला तातोपानी गाउँपालिका– ६ ले हियाखोलामा छ महिने ‘होजियारी’ तालिम दिएपछि गाउँका महिलाहरु सिपालु भएका छन्। तिनै मध्येकी एक हुन्, हियाखोलाकी तिलनदेवी कामी।

उनी बिहान बेलुकाको समयमा स्वीटर, हाइनेकदेखि उनिको कपडा बुनेर समय कटाउँछिन्। यसरी मन लगाएर काम गर्दा उनले चाँडै नै महिला, बालबालिका तथा पुरुषका लागि चाहिने कपडा बुन्न सक्ने भइन्।

‘पहिला हामी अर्काले बुनेका कपडा किनेर लगाउँथ्यौं। अहिले त आँफै कपडा बुनेर लगाउने भइसकेका छौं,’ उनले खुसी साट्दै भनिन्, ‘अब यही सीपले नै हामी कमाउन सक्ने भएका छौं। हामीलाई घरखर्च, आफ्नो व्यक्तिगत खर्चका लागि श्रीमानकाे मुख ताक्नुपर्ने दिन आउने छैन।’

उनीहरु हाल स्वीटर, हाइनेक, टोपी, मफ्लर, मोजालगायत सामग्री बुन्छन्। यो सीपले उनीहरुको आत्मविश्वास बढ्दै गएको छ। जसले घरमै बसेर भए पनि कमाउने बाटो पहिल्याउँदैछ।

हियाखोलाकै पार्वती कामीको कथा तिलनदेवीको भन्दा फरक छ। सात कक्ष पढ्दा पढ्दै स्कुल छोडेकी उनको सानै उमेरमा विवाह भयो। पढाइ छुट्नुमा उनी एक्लैको दोस नभएकाले आज उनी ती दिन सम्झिदा पछुताउँछिन्।

‘न स्कुलमा पढ्न पाइयो न त राम्रो सीप नै मिल्यो,’ उनले भनिन्, ‘घर धन्दामै ठिक्क थियो। यसैगरी जोवन जानेभयो भनेर सँधै पछुतो मात्रै हुन्थ्यो।’

गाउँमै वडा सरकारले बेरोजगार र अशिक्षित महिलालाई लक्षित गरेर राखेर होजियारी तालिम दिन थालेपछि उनले जीवनबारेको फरक धाराणा बनाएकी छन्। उनमा घरको चौघेराबाट माथि उठ्न सकिने गरि आत्मविश्वास पलाएको छ।

तालिम सिक्न थालेको तीन महिनामा विभिन्न सामग्री बुन्ने भइसकेकी उनी अरु तीन महिनासम्म सिकेको खण्डमा सिपालु हुने बताउँछिन्।

‘होजियारीका माध्यमबाट कसरी रुपैयाँ कमाउन सकिन्छ भनेर थाहा पाइसकेका छौं। राम्रो गरेपछि आत्मविश्वास बढ्दै जाला भन्ने लागेको छ,’  उनले भनिन्, ‘हामी कम फुर्सद हुने महिलाका लागि बसी–बसी कमाउने यो गतिलो उपाय हो जस्तो लागेको छ।’

तिलनदेवी र पार्वतीका जस्तै गाउँकी सात जना महिलाले होजियारी सीप सिक्दैछिन्। ‘पहिलो तीन महिनामा सादा र विभिन्न डिजाइनका कपडा बुन्न सिक्यौं,’ उनले भनिन्,‘अब मेसिन मर्मतको कामदेखि अन्य डिजाइनका कपडा बुन्न सिक्दछौं।’

अहिले उनीहरु पाउदेखि शिरसम्मको सबै कपडा बुन्न सक्ने भइसकेका छन्। उनीहरुले बुनेका कपडा निकै सस्तो र मजबुत छन्। उनीहरुले सीप सिक्दै गर्दा पनि गाउँलेहरु ग्राहक बनिसकेका छन्। मोजादेखि टोपीसम्मको कपडाका ग्राहक बनेका स्थानीय गोठे कामीले भने,‘घरभाडा र कालिगढ भाडा नतिर्नुपर्ने भएकोले घरको ढिडो खाएर गाउँमै बसेर कपडा बुन्न सकिने अवस्था छ। यो व्यवसाय यहाँको लागि निकै उपयुक्त छ।’

अहिले हियाखोलाका महिलाले विहान ६ देखि १० बजे सम्म र बेलुकी ६ देखि १० बजेसम्म होजियारी सीप लिइरहेका छन्।

दिउँसो बिजुली बत्तिको व्यवस्था हुन नसकेकोले घरायसी काममा व्यस्त हुन्छन्। बिहान साँझ सीप सिक्छन्। गोठेकाअनुसार वडा सरकारले कामले निकै राम्रो प्रभाव परेको छ। अब गाउँमा एक उद्योग दर्ता गरेर व्यवसायिक रुपमा अघि बढ्ने लक्ष्य रहेको छ।

उनले थपे,‘यो कामले वडा सरकार गाउँका वेरोजगार नागरिगप्रति जिम्मेवार छ भन्ने देखिएको छ। आगामी दिनमा पनि यस्ता काम हुनसके यहाँका सबै नागरिकले स्वरोजगारीका बाटा खोज्नेछन्।’

होजियारी उद्योगले महिलाहरुलाई आयआर्जन मार्फत् आत्मनिर्भर हुन सहयोग पुग्ने वडा अध्यक्ष विशाल खड्काको बुझाई छ।

‘अहिलेसम्म यहाँ नागरिक सरकारी कर्मचारी हुन सकेका छैनन्। यो वडाको सबैभन्दा दुर्गम गाउँ भनेको हियाखोला हो,’ उनले भने,‘अब यो गाउँलाई रोजगारी सिर्जना गर्ने गाउँका रुपमा स्थापित गर्ने लक्ष्य राखेका छौं। होजियारी उद्योगका माध्यमबाट यो संभव हुने देखेको छु।’

वडा कार्यालयले यहाँका बेरोजगारलाई रोजगारी दिनको लागि विभिन्न उपाय अवलम्बन गरेको छ। जसमध्ये हियाखोला गाउँ एक हो। वडाध्यक्ष खड्काले थपे,‘पहिलो चरणमा यहाँका महिलाले होजियारी सिक्दैछन्। सीप सिकेर कपडा तयार गर्ने अवस्था भएको खण्डमा बजारीकरणको व्यवस्थापनका लागि लाग्ने छौं। यहाँ उत्पादित कपडा देश विदेशमा जाने वातावरण सिर्जना हुनेछ।’

होजियारी तालिमका लागि गाउँपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेकोे छ। यो कार्य सामान्य लागतमा हुने नदेखिएपछि पुग्दो बजेटमा काम थालेको वडाध्यक्ष खड्काले बताए।

उनले थपे,‘होजियारी उद्योगको यहाँ आवश्यक ठान्यौं। अहिले सामान्य संस्थाको भवनमा सीप प्रदान भइरहेको छ। यसका लागि प्याकेजिङ र सिलाई गर्ने ठाउँ फरक चाहिने रहेछ। अब उद्योगको भौतिक संरचना निर्माणमा जोड दिनेछौं।’

उनका अनुसार हियाखोलालाई होजियारी उद्योगको रुपमा विकसित गर्ने तयारी भइरहेको छ। होजियारी उद्योगले आत्मनिर्भर गाउँ बनाउने लक्ष्य राखिएको छ।

प्रशिक्षक रामप्रसाद छत्कुलीले यहाँका महिलाले निकै सिक्ने प्रयास गरेको बताए। उनले भने,‘तीन महिनामा यहाँका महिला धेरै जान्ने भइसके। अब तीन महिनामा धेरै सिक्ने छन्। यहाँ उत्पादित कपडाको माग पनि उच्च हुनेछ।’ 

धादिङबाट सीप सिकाउन जुम्लाको हियाखोला पुगेका छत्कुलीले यहाँ होजियारी उद्योगको संभावना निकै राम्रो देखिएको बताए।

‘यहाँको हावापानी अनुकुलको कपडा तयारी हुनेछ,’ उनले भने,‘चिसो समयमा लगाउने र गर्मी समयमा लगाउने विभिन्न प्रकारका कपडा उत्पादन हुनेछन्।’

होजियारी उद्योग स्थापना गरेर रोजगारी प्रदान गर्न स्थानीय सरकार निरन्तर लागिरहने र हियाखोलामा उद्योग स्थापना गरेरै छाड्ने संकल्प गरिएको वडाध्यक्ष खड्काले बताए। उनले भने, ‘यो काम कुनै हालतमा पनि अलपत्र हुनेछैन। हुन दिदैनौं।’

प्रकाशित मिति: : 2022-02-21 08:01:00

प्रतिकृया दिनुहोस्