महिला भएकै कारण पार्टीका केही शीर्ष नेताले मलाई अध्यक्ष बन्न रोक्न खोजेका थिए : सुनिता बराल

File Photo
File Photo

एमालेको भ्रातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले अहिलेको अवस्थामा आउन धेरै चुनौतीको सामना गरेकी छन्।

बराल विश्वविद्यालयका विद्यार्थीमाझ र राजनीतिमा जति आदर्श र गर्विलो पात्र देखिएकी छन्, त्योभन्दा बढी संघर्षले खारिएकी छन्।

स्कुले जीवनदेखि नै अनेरास्ववियुमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेकी बरालले केन्द्रीय अध्यक्ष बन्दासम्म अवसरसँगै अनेकौं हन्डर ठक्कर पनि खाएकी छन्।

राजनीतिक रूपमा हुने प्रतिस्पर्धा त छँदै थियो, महिला भएकै कारण धेरै अवसरबाट पछाडि हुनुपरेको उनको तीतो अनुभव पनि छ।

स्कुल र प्रवीणता प्रमाणपत्र तह झापा र स्नातक तहसम्मको अध्ययन मोरङमा पूरा गरी २०६५ असोजमा स्नातोकत्तर तह अध्ययनका लागि बराल काठमाडौं आइन्।

झापास्थित गौरादह बहुमुखी क्याम्पस र मोरङस्थित गोग्राह कलेजमा विद्यार्थी संगठनको नेतृत्व सम्हालेको अनुभव भए पनि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको माहोलमा उनलाई सुरुमा भिज्न निकै मुस्किल भयो।

आफू हराएजस्तो, केही गर्न सक्दिन जस्तो महसुस भयो, तर उनले हिम्मत हारिनन्। बिस्तारै आफूलाई राजनीतिक रूपमा पनि सक्रिय बनाउन थालिन्।

१९औँ अधिवेशनबाट अनेरास्ववियुको केन्द्रीय सदस्य बनेकी बराल २०औँ अधिवेशनबाट सचिवालय सदस्य बनिन्। त्यसपछिको अधिवेशनमा सचिवको तयारी गरेकी उनी अन्तिम समयमा आएर सचिवालय सदस्यमा दोहोरिन बाध्य भइन्। कमजोर कार्यशैली प्रस्तुत गरेको भन्दै नेतृत्वले उनीसँग जवाफ माग्यो।

उनी आफूलाई नेतृत्वले जानीजानी ‘ब्याक’ गराएर विवेकहीन निर्णय गरेको महसुस गरेकी थिइन्। संगठनमा राम्रो काम गर्दागर्दै पनि नेतृत्वले कार्यशैलीमाथि प्रश्न गर्दा आफूले हीनताबोध गरेको उनी बताउँछिन्।

काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालय गरी तीनवटा विश्वविद्यालयको इन्चार्जको रूपमा काम गर्दै आएकी उनको जिम्मेवारी पनि खोसेर नेतृत्वले एउटा मात्रै विश्वविद्यालयको इन्चार्जको जिम्मेवारीमा खुम्च्यायो। यो नै उनको राजनीतिक यात्राको सबैभन्दा तीतो अनुभव थियो। जिम्मेवारी खोसिनुको कारण उनले आजसम्म बुझ्न सकेकी छैनन्।

संघर्षपछिको सफलता

अनेरास्ववियुको सचिवालय सदस्यमा दोहोरिएर बस्नुपर्दा र तीनवटा विश्वविद्यालयको भइरहेको इन्चार्जको जिम्मेवारी पनि खोसिँदा उनी निरास त भइन् नै, त्यसले संघर्ष गर्ने थप प्रेरणा पनि मिल्यो। त्यसताका संगठन निर्माण र अध्ययनमा थप लगनशील बनेर नेतृत्वको विश्वास जित्दै गइन्। तर पनि बेलाबखत महिला भएकै कारण संगठनका जिम्मेवारी पाउने क्रममा विभिन्न प्रश्नहरूको सामना भने बरालले गरिरहीन्।

सक्रियता र लगनशीलताका कारण २०७२ सालमा भएको अधिवेशनमार्फत उनी अनेरास्ववियुको उपाध्यक्ष बन्न सफल भइन्। त्यतिवेला हालकी प्रतिनिधिसभा सदस्य नवीना लामा उक्त संगठनको अध्यक्ष बनेकी थिइन्।

‘त्यतिवेला नेतृत्वले मलाई संगठनमा थन्क्याउन उपाध्यक्ष पद दिएको थियो, तर संगठनमा इमानदारीपूर्वक जिम्मेवारी पूरा गरेर अर्को कार्यकालमा अध्यक्ष बनें,’ बरालले भनिन्।

गत असोजमा २३औं अधिवेशनबाट उनी अनेरास्ववियुकी अध्यक्ष बनेकी हुन्। अधिवेशनको अन्तिम समयमा पनि पार्टी नेतृत्वको एउटा समूह उनलाई अध्यक्ष बन्न नदिने रणनीतिमा थियो।

यही संगठनले आगामी तीनै तहको निर्वाचनमा भूमिका खेल्नुपर्ने भएकाले तथा एमाले र माओवादी केन्द्र छुट्टिएको परिस्थितिको एमालेको संगठनलाई चुस्त बनाउनुपर्ने हुँदा महिलालाई उक्त जिम्मेवारी सम्हाल्न चुनौतीपूर्ण हुने भन्दै केही शीर्ष नेताले बराललाई अध्यक्ष बन्ने योग्यता नभएको बताएका थिए। तर उनले नेतृत्व पंक्तिको विश्वास जितेर अध्यक्ष बनिन्।

‘अनेरास्ववियुको अध्यक्ष बनेर नियाल्दै गर्दा महिला ओहोदामा पुगे पनि हेर्ने दृष्टिकोण भने राम्रो देखेकी छैन। अर्को कोही व्यक्तिसँग जोडिएर मात्रै महिलाको सफलता सम्भव भएको हो भनेर हेर्ने हाम्रो समाज छ। तर कामले नै जितेर देखाउनुपर्छ, कामभन्दा अर्को विकल्प छैन,’ उनी भन्छिन्। आफू अध्यक्ष बनेपछि संगठन बलियो बनाउन लागिपरेको उनको भनाइ छ।

परिवारको साथ भए पनि आफन्त र समाजलाई जवाफ दिनुपर्दा हैरान

अविवाहित बराल अनेरास्ववियुको अध्यक्षसम्म आइपुग्दा उनलाई बुबाको ठूलो साथ छ। घरपरिवारका अन्य कोही सक्रिय राजनीतिमा नभए पनि उनका बुबा एमाले समर्थित हुन्। निजामती कर्मचारी भएका कारण बुबा राजनीतिमा लाग्न नपाए पनि छोरीको सक्रियताले उनी खुसी नै छन्।

०६२/०६३ सालतिर माओवादी संगठनमा सुनितालाई पठाउन नमान्दा उनका बुबा मोरङको माथिल्लो भेगमा दुई दिनसम्म बन्धकसमेत बसेका थिए। राजनीतिमा आफूलाई बुबाले त्यो हदसम्मको सहयोग गरेको सम्झिँदा उनीन अहिले पनि भावुक हुन्छिन्।

झापा र मोरङमा बस्दा बुबाआमा र काकाको साथ पाएकी उनी काठमाडौं आएपछि मामाघरमा बसिन्। राजनीतिक गतिविधिमा धेरै सक्रिय हुन थालिन्। जुन हेर्ने र देख्नेहरूका लागि दैनिकी असहज बन्दै गएको थियो। उनले महिला नैतिकता र चरित्रसँग जोडिएर धेरै प्रश्नहरूको सामना गर्नुपरेको थियो।

नेतृत्वमा पुग्न चाहने महिलालाई उनको सुझाव

जुनसुकै क्षेत्रमा पनि नेतृत्वमा पुग्न चाहने महिलाई उनी काम गरेर विश्वास जित्न सुझाव दिन्छिन्। कसैलाई प्रभावमा पारेर भन्दा पनि आफ्नो क्षमताले अघि बढ्दा राम्रो हुने उनको बुझाई छ। आफूले के काम गर्न खोजेको हो राम्रोसँग स्पष्ट भएर मात्रै अघि बढ्नुपर्ने बरालको अनुभव छ। महिला, महिला मात्रै बीच भन्दा पनि खुल्ला रूपमा प्रतिस्पर्धा गर्न आंट जुटाउनुपर्ने उनको सुझाव छ।

महिलाका सम्बन्धमा कानुन पर्याप्त, कार्यान्वयन भने फितलो

नेपालको संविधानमा महिलामैत्री कानुन समेटिए पनि कार्यान्वयनको पाटो फितलो हुँदा समस्या भएको उनी बताउँछिन्। भएका कानुन पालना भयो भने महिला हत्या, हिंसालगायत अन्य अपराधमा कमी आउने उनको बुझाई छ।

‘कानुन लागु हुने हो भने मान्छे गल्ती गर्न डराउँछ, तर हामीकहाँ त्यसो हुनसकेको छैन,’ उनी भन्छिन्। एकदिन तामझामको साथ दिवस मनाउनुभन्दा पनि भएका कानुनको कार्यान्वयन गर्न जोड दिनुपर्ने उनको तर्क छ।

प्रकाशित मिति: : 2022-03-08 13:51:00

प्रतिकृया दिनुहोस्