घाँस खेतीले बदलिएको गुरुवा गाउँ (भिडियाे)

झापादेखि कञ्चनपुरसम्म पुग्छ गुरुवा गाउँको घाँस

दाङको घोराही उपमहानगरपालिका वडा नं. ६ गुरुवा गाउँ घाँस खेतीले बदलिएको छ। घाँस खेती गर्न थालेपछि गुरुवा गाउँका किसानले जौँ, तोरी, मसुरो लगायत हिउँदे खेती गर्ने छाडेका छन्।

घाँस खेती गर्न सहज र आम्दानी पनि राम्रै हुन थालेपछि गुरुवा गाउँका किसान खेत, बारीमा ‘वर्षिम’ नामको घाँस खेती गर्न थालेको हुन्। यहाँका किसान वर्षाको समयमा खेत–बारीमा धान मकै खेती गर्छन। त्यसपछि तोरी, मसुरो, जौँ खेती गर्नुपर्नेमा यसबाट राम्रो आम्दानी नहुने भएपछि किसानले वर्षिम घाँस खेती गर्न थालेका हुन्।

वर्षिम घाँस खेतीबाट अहिले गाउँनै बदलिएको छ। पछिल्लो एक दशकमा हिउँदको समयमा गुरुवा गाउँका सबै किसानले वर्षिम घाँस खेती गर्ने गरेका छन्। घोराही उपमहानगरपालिकाले पनि गुरुवा गाउँलाई घाँस खेतीको रुपमा विकास गर्न पकेट क्षेत्र नै घोषणा गरेको छ।

गुरुवा गाउँका केही खेतका गहराबाहेक सबैमा वर्षिम घाँस खेती हुने गरेको छ। वर्षिम घाँस खेतीले गुरुवा गाउँका किसानको दैनिकीसमेत बदलिएको छ। घाँस खेती गर्न थालेपछि यहाँका किसानलाई हरियो घाँस खोज्न वन जानुपर्ने बाध्यता हटेको छ।

‘पहिले यतिबेला घाँस ल्याउन कुन वन जाने भन्ने चिन्ता हुन्थ्यो, उ पारी (दक्षिण तर्फ) टाढाको वन छ, त्यहाँ जानुपथ्र्यो। अहिले सहज भएको छ।’ खेतमा वर्षिम घाँस काट्दै गरेका लक्ष्मण चौधरीले भने।

चौधरीलाई जस्तै अहिले गुरुवा गाउँका किसानलाई पशुपालन गर्न सहज भएको छ। ‘वर्षिम घाँस खेती गर्न थालेपछि अहिले धेरै सजिलो छ। हरियो घाँसको अभाव छैन,’ अर्का स्थानीय खुसलराम डाँगीले भने,‘पोसिलो पनि हुने बाख्रादेखि गाई, भैसी सबैलाई खुवाउन मिल्ने।’ उनले वर्षिम घाँस खेती अन्य खेती भन्दा सहज हुने गरेको बताए। 

घाँस एक पटक रोप्ने, फाइदा दुई पटक लिने

एक पटक घाँस रोपेपछि गुरुवा गाउँका किसानले दुई पटक (डवल) फाइदा लिने गरेका छन्। एक पटक रोपरेको घाँस नै दुई पटक प्रयोग गर्न सकिन्छ। धान पाकेपछि काट्नुभन्दा एक हप्ता अघि वर्षिम घाँसको बिउ खेतमा छर्नुपर्छ।

त्यसको करिब एक महिनापछि घाँस काट्ने हुन्छ। त्यसपछि किसानहरुले घाँस काटेर पशुहरुलाई खुवाउछन् भने घाँस नै बेच्ने पनि गरेका छन्। दोस्रो मुख्य फाइदा काटेको घाँस फेरि उम्रिन्छ। अनि किसानहरुले सोही उम्रिएको घाँसबाट बिउ उत्पादन गरेर बेच्ने गर्छन।

यसरी एकपटक रोपेको घाँसबाट दुई पटक फाइदा लिइरहेको गुरुवा गाउँका स्थानीय भीमबहादुर डाँगी बताउँछन्।

‘घाँस नकाट्ने हो भने त बिउ राम्रो हुँदैन। एक पटक घाँस काट्नुपर्छ अनि मात्र पछि उम्रिएको घाँसबाट बिउ उत्पादन गरेर बेच्ने गरिन्छ।’ भीमबहादुरले भने।

विशेष गरेर गुरुवा गाउँका किसानले वर्षिम घाँस खेती बिउ उत्पादन गरेर बेच्नका लागि खेती गर्छन। बिउ बेचेरै एक लाखभन्दा बढी यहाँका किसानले आम्दानीसमेत गर्ने गरेका छन्। ‘सुरु–सुरुमा घाँस पनि बिक्री हुन्छ र भन्ने थियो। तर, अहिले बिक्री गरेर आम्दानी पनि गरिरहका छौँ,’ खुसलराम डाँगी भन्छन्।

उनले घाँसको बिउ बेचेर एक लाखसम्म आम्दानी गर्ने गरेको बताए।

‘पोहोर साल २२ कट्ठा खेतमा वर्षिम घाँस खेती गरेको थिए। त्यस्तै १ लाख जतिको बिउ बेचे होला,’ उनले भने, ‘घाँस काटेर खुवाएको त मूल्य छैन। यो छुट्टै हो।’ खुसलरामले अन्य खेती भन्दा घाँस खेतीबाट तीन गुणा बढी आम्दानी हुने गरेको बताए।

देशमै उत्कृष्ट गुरुवा गाउँको घाँसको बिउ

घोराही ६ गुरुवा गाउँमा उत्पादन हुने वर्षिम घाँसको बिउ देशमै उत्कृट रहेको गुरुवा गाउँमै रहेको सिवशक्ति घाँस समूहका सचिव विमल अधिकारीले बताए। उक्त घाँस समूहबाट अहिले गुरुवा गाउँमा उत्पादन भएको वर्षिम घाँसको बिउको बजारीकरण हुने गरेको छ।

अधिकारीले गुरुवा गाउँमा उत्पादन भएको वर्षिम घाँसको बिउ देशभरमै उत्कृष्ट भएकाले पूर्वको झापादेखि पश्चिमको कञ्चणपुरसम्म माग हुने गरेको बताए। गुणस्तरीय घाँसको बिउ उत्पादन हुने भएपछि नेपाल सरकार, नार्क, राष्ट्रिय चरण तथा पशुआहाराले गुरुवा गाउँलाई घाँसको स्रोत केन्द्रको रुपमा विकास गर्दै गएको पनि उनले जानकारी दिए।

उनले दाङ जिल्ला चुरे पहाड र महाभारतको बीचमा रहेकाले हावा पानी राम्रो भएको र घाँसको बिउ पनि राम्रो हुने गरेको बताए।

‘यस जिल्ला चुरे पहाड र महाभारतको बीचमा छ। यहाँको हावा पानीले साथ दिएर घाँसको बिउ राम्रो भएको हो।’ सचिव अधिकारीले भने।

उनकाअनुसार सुरु सुरुमा जनकपुर फार्ममा र नेपालगन्जको गौघाट फर्ममा वर्षिम घाँसको बिउ उत्पादन हुने गरेको थियो। तर, अहिले यहाँ घाँस उत्पादन हुन छाडिसकेको छ।

‘पहिले उत्पादन हुने यी दुई ठाउँमा पनि अहिले कस्कुटा भन्ने जीवानुले भेटेपछि रोग लागेको छ र ति फर्म पनि बन्द भएको छ। अहिले त्यहाँ पनि दाङबाटै बिउ जाने गरेको छ,’ अधिकारीले भने,‘त्यसैले अन्य जिल्लामा यति राम्रो बिउ उत्पादन हुँदैन। उत्पानद हुने भए यति ठूलो मात्रमा दाङमै प्रत्येक वर्ष बिउ उत्पादन हुने थिएन।’

उनले दाङमा उत्पादित वर्षिम घाँसको बिउको शुद्धता रहेको र कस्कुटा भन्ने रोगले नभेटेको समेत बताए।

गुरुवा गाउँमा घाँस खेतीको तीन दशक

गुरुवा गाउँमा वर्षिम घाँस खेती हुन थालेको तीन दशक पुगेको छ। गाउँका अगुवाहरुले सुरुमा वि.स.२०४७ सालमा यस वर्षिम घाँस खेती गरेका थिए। तर, बजार अभावमा विस्तार हुन सकेको थिए।

०५७ पछि बिउको माग बढ्दै गएकाले वर्षिम घाँस खेती बढ्दै गएर अहिले घाउँमा रहेको १०८ विघाह जमिनमा घाँस खेती हुने गरेको छ। यहाँ गरिएको घाँस खेतीबाट बिउ उत्पादन गरेर बेच्ने गरिन्छ।

‘०५७ पछि व्यवसायिक रुपमा घाँस खेती गर्ने थालिएको हो। सुरुका दिनमा एक दुई वटा गहरा, सिम खेतमा मात्र खेती हुन्थ्यो,’ शिवशक्ति घाँस समूहका सचिव अधिकारीले भने, ‘अहिले आएर यो गुरुवा गाउँको एक दुई गहरा बाहेक सबै १०८ विगाहा क्षेत्रफलामा घाँस खेती हुन्छ।’

उनले गुरुवा गाउँ मात्र नभएर छिमेकी गाउँ गुरगाईमा ७० विघाह, वेरुवा गाउँमा ७० विघाहमा घाँस खेती हुने गरेको जानकारी दिए। यसलाई विस्तार गर्दै अन्य बचाह, बेरगई, जजरा, अग्रा गाउँलगायत वडा नं. ६ लाई पूरै घाँस खेतीको रुपमा विस्तार गर्ने योजना भइरहेको उनले बताए।

अधिकारीले अहिले करिब २ सय ५० विघाह जमिनमा खेती गरिएको वर्षिम घाँसको बिउ तराईका २० जिल्लासहित नेपालका सबै ठाउँमा पुग्ने गरेको बताए। उनका अनुसार गुरुवा गाउँको घाँसको बिउ विशेष गरेर छिमेकी जिल्ला बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र रुपन्देहीमा पुग्ने गरेको छ।

यस घाँसको बिउ बिक्रीबाट ५ लाखसम्म आम्दानी गर्ने किसान पनि रहेको सचिव अधिकारीले बताए।

कमिशनको लोभले कर्मचारीले बिउ भारतबाट ल्याउने कोशिस गर्छन्

गुरुवा गाउँको करिब २ सय ५० विघाह क्षेत्रफलमा उत्पादित वर्षिम घाँसको बिउ बिक्री वितरण गर्दै आएका शिवशक्ति घाँस समूहका सचिव अधिकारीले देशमा कर्मचारीतन्त्र ठिक नभएको बताए। उनले कर्मचारीले कमिशनको लोभमा भारतबाट बिउ ल्याउने गरेको बताए।

उनले भने,‘तराईका जिल्लामा कर्मचारीतन्त्र ठिक छैन। कमिशनको खेलमा बिक्री वितरण गर्नका लागि यहाँको बिउलाई बाहिर राखेर भारतबाट बिउ ल्याउने काम भइरहेको छ।’ यो समस्या आफैले प्रत्येक्ष भोगेको उनको भनाई छ।

उनकाअनुसार यदि नेपालका किसानलाई प्रवर्धन गर्ने हो भने सरकारले नीति नियम कडा बनाउनुपर्छ।

‘केही चुनौति छन् यहाँ। त्यसका लागि सरकारले नीति नियम बनाउनुपर्छ,’ अधिकारीले भने,‘भारतबाट आउने कमसल, उमार शक्ति नभएको बिउ  रोक्नुपर्छ। यसो गर्न सकियो भने घाँस क्षेत्रको विकास गरेर प्रवर्धन गर्न सकिन्छ।’

प्रकाशित मिति: : 2022-03-09 09:45:00

प्रतिकृया दिनुहोस्