‘जुम्ला रारा अल्ट्रा म्याराथन’ सुरू, ४ सय खेलाडी सहभागी (भिडियाेसहित)

‘जुम्ला रारा अल्ट्रा म्याराथन’ सुरू भएकाे छ।

कर्णालीको पर्यटन प्रबद्र्धन तथा उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्र स्थापना गर्ने उद्देश्यका साथ जुम्लामा तेस्रो पटक आयोजित म्याराथनको आज (शनिबार) कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरेका हुन्।

उद्घाटन गर्दै उनले भने,'कर्णाली कुनै पनि कुरामा कम छैन भन्ने सन्देश जुम्लाबाट सुरु भएकाे छ।' 

कर्णाली स्पोर्टस् क्लवका अध्यक्ष सरोज शाहीकाअनुसार कर्णालीको पर्यटन प्रर्बद्धनमा खेलकुद क्षेत्रको महत्वपूर्ण योगदान रहने र विश्वमा नेपालाई चिनाउने एक माध्यमका रुपमा म्याराथनलाई लिइएको छ।

'अल्ट्रा म्याराथनको ४९ किलोमिटर दौड प्रतियोगिताका लागि ५० जना खेलाडीले नाम दर्ता गराएका छन्। जसमा भारतकासहित नेपालका सोलुखुम्बु, भोजपुर, काठमाडौ, विराटनगरलगायतका ९ जिल्लाका खेलाडी सहभागी छन्,' उनले भने, 'यद्यपि कर्णालीमा उडान ठप्प भएका कारण नाम दर्ता गरेर भाग लिन आइसकेका विदेशी २० जना खेलाडी फर्किएका छन्।'

त्यस्तै ५ किलोमिटर दौडका लागि १ सय ५६ जना सहभागी छन्। भने, खुल्ला ५ किलोमिटर दौडका लागि २ सय बढी खेलाडीले भाग लिए।

४९ किमी र ५-५ किलोमिटर दौडमा गरेर ४ सयभन्दा बढी खेलाडीले जुम्ला–रारा अल्ट्रा म्याराथनमा भाग लिएकाे कर्णाली स्पाेर्ट क्लबले जनाएकाे छ।

प्रकाशित मिति: : 2022-04-09 07:23:00

प्रतिकृया दिनुहोस्