नयाँ पाइला– १

...त्यसपछि डा.प्रीतिले संकल्प गरिन्– युराेपका पहाड हाेइन आफ्नै देशकाे हिमाल चढ्छु (भिडियाेसहित)

कमल विक

काठमाडौं

विश्वका त्यस्ता सहासिक काम जुन जाे काेही मानिसले गर्ने आँट गर्दैनन्, चाहँदैनन्। त्यसमध्ये विश्वकाे सर्वाेच्च शिखर सगरमाथाकाे आराेहण गर्नु त धेरै टाढाकाे कुरा भयाे। नेपालका तेन्जिङ नाेर्गे शेर्पा र न्युजिल्याण्डका सर एड्मन्ड हिलारीले सगरमाथामा पहिलाे पटक पाइला टेकेकाे ६९ वर्ष बितिसक्दा पनि सगरमाथाकाे शिखर चुम्ने मानिस न्यून संख्यामा छन्।

हिउँले बनेकाे पहाडकाे कडा र चिप्लाे बाटाे, ठूला–ठूला खाल्डा, बेला–बेला मच्चिरहने हुण्डरी, एक मुठी सासकाे लागि संघर्ष गर्नुपर्ने अवस्थामा सानाे आशाकाे त्यान्द्राेकाे सहारामा सगरमाथाकाे चुचुराेतिर पाइला चाल्नु सामान्य कुरा हाेइन। वान मिस् गेम फिनिस्।

हाे, सगरमाथा चढ्ने आँट गर्नु सानाे कुरा हाेइन। आँट आउनुका कारणहरू अनेकाैँ हुन्छन्। त्यस्तै अनेकाैँ कारणमध्ये केही कारणले काठमाडाैँस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालकी मेडिकल अफिसर डा. प्रीति भुसाललाई सगरमाथाकाे चुचुराेतर्फ डाेहाेर्‍यायाे। वि.सं. २०७९ वैशाख २९ गते बिहान ९ बजे ३० मिनेटमा सगरमाथाकाे चुचुराेमा पाइला टेकेर उनी सगरमाथा चढ्ने पहिलाे नेपाली महिला चिकित्सक बनिन्।

प्रीतिका बुबा विष्णुप्रसाद भुसाल अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट पढ्नकाे लागि काठमाडाैँ आएका थिए। उनका बुबाले पढाइ सकेर राजधानीमै जागिर गरे, गाउँ फर्किएनन्। प्रीति काठमाडाैँमै जन्मिइन्। उनकाे प्रारम्भिक शिक्षा काठमाडाैँबाटै सुरु भयाे। विविध कारणले उनकाे परिवार सन्धिखर्क फर्कियाे, उनी अर्घाखाँची बाेर्डङि स्कुलमा भर्ना भइन्। उनले त्यहाँ कक्षा ३, ४ र ५ सम्म मात्रै पढिन्। त्यतिबेला देशमा माओवादी जनयुद्ध जारी थियाे, जसकाे प्रभाव अर्घाखाँचीमा पनि पर्‍याे। त्यसपछि उनकाे परिवार पुन: काठमाडाैँ फर्कियाे।

त्यसपछि प्रीतिले कक्षा १२ सम्म काठमाडाैँमा पढिन्। एमबीबीएस पढ्नकाे लागि काठमाडाैँ विश्वविद्यालयमा नाम निस्किए पनि पढ्नकाे लागि कलेजमा काेटा नपाएर अध्ययनकाे लागि बंगलादेशकाे ढाका पुग्नुपर्‍याे। उनले एमबीबीएस सकेर नेपाल फर्किन्। सन् २०१६ मा ग्राण्डीबाट काम सुरु गरिन्। भर्खर अध्ययन पुरा गरेर नेपाल आएकी उनले देशकै सबैभन्दा राम्राे अस्पतालमा राम्राे टिमसँग सुरुमै आइसीयूमा काम गर्ने अवसर पाइन्। उनले १ वर्षसम्म आइसीयूमा कडा मेहनत गरिन्। त्यसपछि उनी आफ्नाे इच्छाअनुसार वार्डमा सरिन्।

सन् २०१९ मा उनी युराेप यात्रामा निस्किइन्। त्यही यात्रामा फ्रान्स र स्वीजरल्याण्ड क्षेत्रमा नेपाल घुमेकाे एउटा जाेडीसँग भेट भयाे। त्यही जाेडीकाे कुराले प्रीतिलाई सगरमाथा चढ्ने सपनाकाे विजाराेपण गरिदियाे। ‘युराेप घुम्ने क्रममा नेपालमा घुमेकाे एउटा जाेडीसँग भेट भयाे। त्याे जाेडीसँग नेपालबारे कुराकानी गर्दै थिएँ। ट्रेकिङमा निस्किएकी मलाई नेपाली भएर पनि हिमाल चढेकी छैनाै? के यति साना पहाडमा घुम्न आएकाे? भनेर त्याे जाेडी गिज्यायाे। मेराे मुखमा ढुङ्गा लागेकाे जस्ताे भयाे। त्यसपछि मैले नेपाल फर्किएर सगरमाथा चढ्ने संकल्प गरेँ,’ प्रीतिले बिएल नेपाली सेवासँगकाे कुराकानीका क्रममा भनिन्।

उनी नेपाल फर्किनासाथ काेराेना महामारी सुरु भयाे। उनलाई काममा बढी खटिनुपर्ने थियाे, त्यही पनि उनले शेर्पाहरूसँग सम्बन्ध पढाउँदै गइन्। हिमाल चढ्ने चाहनाले प्रीतिलाई धेरै मानिसहरूसँग भेट गरायाे, निरन्तर हाइकिङ गर्न थालिन्। उनी अनेकाैँ परिस्थितिसँग जुधिन्। त्यही क्रममा उनले सन् २०२१ अप्रिलकाे अन्त्यमा लुबुचे हिमाल (६११९ मिटर) काे आराेहण गरिन्। त्यसपछि उनमा हिमालप्रतिकाे आकर्षण बढ्दै गयाे। शेर्पा समुदायका मानिसहरूसँग घुलमिल हुन थालिन्।

‘लुबुचे हिमाल चढ्दा नै हाे मैले पहिलाे पटक हिउँ छाेएकाे र देखेकाे। त्याे अनुभूतिले मेराे मनमा छुट्टै तरङ्ग पैदा गर्‍याे,’ उनले कुराकानीका क्रममा भनिन्, ‘त्यतिबेला बल्ल मैले आफूलाई मज्जाले फिल गर्न पाएँ, कमीकमजाेरीहरू थाहा पाएँ। त्यसपछि त हाे मैले बढी मेहनत गर्न थालेकाे।’

त्यसाे त प्रीति खेलकुदमा रूचि राख्ने महिला हुन्, स्कुल पढ्दा उनी खेलकुदबाटै धेरैमा परिचित थिइन्। उनी टेबल टेनिस्, फुटबल, बास्केटबल सबै खेल्थिन्। त्यसले पनि उनकाे शरीरमा ऊर्जा थियाे। तर, हिमालमा पाइला चाल्नु फुटबलमा खुट्टा उचालेकाे जस्ताे कहाँ हुन्थ्याे र। सगरमाथा आराेहण गर्नुअघि करिब १ वर्ष उनले तालिम गरिन्। जसकाे बन्दाेबस्त हिमालयन सेफर्ड इकाे टुरिजमले गरेकाे थियाे।

१६ अप्रिल २०२२ मा काठमाडाैँबाट उनकाे टाेली सगरमाथाकाे यात्रामा निस्कियाे। प्रीतिकाे साथमा दुई जना शेर्पा थिए, जसकाे नाम थियाे फुर्पा थिले शेर्पा र पासाङ गेलु शेर्पा। उनीहरूकै जिम्मामा थियाे उनलाई सगरमाथाकाे चुचुराेमा पुर्‍याउने। आधार शिविरबाट सगरमाथाकाे चुचुराेमा पुग्न प्रीतिकाे टाेलीलाई ६ दिन लागेकाे थियाे।

‘सगरमाथाकाे यात्रा हाे, एक–एक मुठ्ठी सासकाे लागि संघर्ष गर्नुपर्थ्याे। प्रत्येक पाइलामा जाेखिम र चुनाैतिहरू थिए। तर मेराे मनमा डर भने १ प्रतिशत पनि थिएन। मनमा केही कुरा पनि खेलनन्, कसैकाे याद पनि आएन। कतिसम्म भने मैले त आफ्नाे नाम पनि बिर्सिएकी थिएँ। खाली एउटा क्याम्पबाट अर्काेमा कतिबेला पुगिएला भन्ने मात्रै थियाे। भगवानलाई प्रे गरिरहेकी थिएँ,’ प्रीतिले भनिन्।

१२ मे २०२२ (वैशाख २९) गते प्रीति विश्वकाे सर्वाेच्च शिखर पुगिन्। ‘सगरमाथाकाे चुचुराेमा पुगेपछि त मलाई के गर्ने, के नगर्ने थाहा नै भएन। फाेटाे खिच्नुपर्छ भन्ने पनि मैले याद गरिनँ। मेराे शेर्पाहरूले ब्यानर दिएर फाेटाे खिचिदिनुभयाे। हिमालकाे चुचुराेमा पुग्नुकाे मज्जा नै त्यही रहेछ। सबै कुरा शुन्य, केही कुराकाे याद नै नहुने। न पिर न चिन्ता,’ प्रीतिले अनुभूति साटिन्, ‘बरू तल फर्किँदा भने अलि बढी अत्यास लागेकाे थियाे, कतिबेला बेस क्याम्प पुगिएला भनेर।’

अस्पतालमा काम गर्ने प्रीति शवसँग कैयाैँ पटक नजिक पुगेकी भएर हाेला आराेहणका क्रममा शव देख्दा पनि डर नलागेकाे बताउँछिन्। फर्किने क्रममा बाटाेमा केही शवहरू पनि देखेकाे उनले बताइन्।

काेराेना महामारीमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइमा खटिने मजदुर, एम्बुलेन्स चालक, सामाजिक अभियान्ता तथा सुरक्षाकर्मीकाे याेगदानकाे उच्च सम्मानकाे लागि सगरमाथा आराेहण गरेकाे उनकाे भनाइ छ। प्रकृति प्रेमी प्रीतिले अक्टोबर/नोभेम्बरमा मनास्लु र आमा दब्लम हिमाल चढ्ने घोषणा गरेकी छिन्।

‘हिमाल चढ्ने क्रममा मलाई एकजना शेर्पा दिदीले भन्नुभएकाे थियाे, सगरमाथा चढ्नु गाैरवकाे कुरा हाे तर अन्य हिमालमा चढ्दाकाे अनुभूति र मज्जा फरक हुन्छ। धेरै कुराहरू सिक्न पाइन्छ भन्नुभएकाे थियाे। त्यही कुरा मैले मनन् गरिरहेकाे छु। त्यही कुराले पनि हाेला अन्य हिमाल चढ्ने इच्छा लागेकाे,’ प्रीतिले भनिनन्।

प्रीतिका बुबा वरिष्ठ अधिवक्ता विष्णु भुसालले पनि यही सिजनमा सगरमाथाकाे आराेहण गरे। उनले १६ मे २०२२ मा सगरमाथाकाे सफल आराेहण गरेका थिए। अहिले प्रीतिकाे घर काठमाडाैँस्थित बाँसबारीमा छ। जहाँबाट उनले हिमाल चढ्न चाहनेहरूका लागि हिमालयन शेपर्ड नेपालमार्फत विभिन्न अनुभव साट्नुका साथै प्रेरणासमेत दिँदै आएकी छिन्।

तस्बिर साैजन्य:प्रीति भुसाल

प्रकाशित मिति: : 2022-10-10 21:00:00

प्रतिकृया दिनुहोस्