‘यसपटक बुटवलबासीले न्याय गर्नुहुन्छ’ (अन्तर्वार्ता)

बुटवल उपमहानगरपालिकामा नेपाली का‌ंग्रेसले खेलराज पाण्डेलाई मेयर पदमा उठाएको छ। कांग्रेसका नगर सभापति रहेका उनी सत्तारुढ गठबन्धनबाट उम्मेद्वार बनेका हुन्।

यद्यपि, जसपा यो गठबन्धनमा छैन। पाण्डे यसअघिको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका थिए।

एमालेले २२ वर्षदेखि जित्दै आएको बुटवलमा पाण्डेले आफ्नो चुनावी अभियान कसरी अगाडि बढाइरहेका छन् ? उनका योजना र प्राथमिकता के के छन् ? यी लगायत विभिन्न विषयमा केन्द्रित रहेर लुम्बिनी प्रदेश संयोजक लक्ष्मण पौडेलले पाण्डेसँग गरिएको कुराकानीः

चुनावी अभियानका क्रममा मतदाताको कस्तो प्रतिक्रिया छ ?

चुनावी अभियानका क्रममा मतदाताकहाँ जाँदा सकारात्मक प्रतिक्रिया पाएको छ। सबैजनाले हौसला दिइरहनु भएको छ। मेरो यो दोस्रोपल्टको प्रतिस्पर्धा हो। यसअघिको निर्वाचनमा पराजित भएका कारणले पनि धेरै मतदाताले सहानुभूति प्रकट गर्नुभएको छ। उहाँहरुको प्रतिक्रिया हेर्दा चुनाव सहजै जित्छु।

चुनाव जित्ने आधार चाहीँ के छन् ?

बुटवलको विकासका लागि मसँग नयाँ योजना छ। नयाँ सोच र चिन्तनका साथ मैले बुटवलको विकासलाई अगाडि बढाउने दृढ संकल्प लिएको छु। यहाँ सुकुम्बासी र अव्यवस्थित बसोबासीको ठूलो समस्या छ। यसको समाधानका लागि भूमि आयोग नै आवश्यक पर्दैन।

वैकल्पिक बाटोबाटै मैले यसको समाधान गर्नेछु। बुटवल उपमहानगरपालिकामा सबै दललाई आउने वातावरण निर्माण गर्छु। सबै राजनीतिक दलका नेता, कार्यकर्ता अट्ने व्यवस्थित हल बनाउँछु। हरेक काममा सबै क्षेत्रलाई समेटेर अगाडि बढाउँछु।

चुनाव जितेपछि तपाईंका प्राथमिकताका क्षेत्रहरु के के रहन्छन् ?

एउटा प्राथमिकताको क्षेत्र त सुकुम्बासी समस्याको समाधान हो। त्यो मैले माथि भनिसकेँ। त्यस्तै दोस्रो प्राथमिकता भनेको ज्योतिनगर पहिरो नियन्त्रण, तिनाउ कोरिडोर र औद्योगिक क्षेत्रको समस्याको दीर्घकालीन समाधानका लागि मेरो प्रयत्न रहने छ। त्यसैगरी बुटवलमा बेलाबेलामा फोहरमैला व्यवस्थापनको समस्या जटिल बनेर आउँछ। यसका लागि पनि हामीले योजना बनाएर काम गर्ने छौं।

२२ वर्षदेखि बुटवलमा एमालेले जित्दै आएको छ, एमालेको गढ भत्काउन कत्तिको चुनौती छ ?

म गएको निर्वाचनमा जम्मा २३ सय मतको अन्तरले मात्र पराजित भएको हुँ। यो भनिरहँदा कसरी एमालेको गढ भयो ? ठूलो अन्तरले चुनाव जितेका ठाउँमा त परिणामहरु उल्टिएका छन् भने बुटवलमा सहजै उल्ट्याउन सकिन्छ।योपटक बुटवलबासीहरुको मन बदलिएको छ।

विगतमा पराजित भएको कारणले पनि यसपटक हेरौं भन्ने धावना धेरै नागरिकमा पाएको छ। सबैको सद्भाव पाएकाले चुनाव जित्नेमा म ढुक्क छु।

कांग्रेसभित्र तीव्र असन्तुष्टि छ, क्षेत्रीय सभापतिले त तपाईंको उम्मेदवार सिफारिसलाई लिएर राजीनामै दिनुभयो, यसले कत्तिको असर गर्छ ?

यी सामान्य कुरा हुन्। मेरो सिफारिस नगर समितिले गरेको हो। त्यस्तै क्षेत्रीय समितिले पनि अनुमोदन गर्‍यो भने जिल्ला समितिले पनि अनुमोदन गरेपछि मैले टिकट पाएको हुँ। यस्ता झिना मसिना कुराले असर गर्दैन।

प्रकाशित मिति: : 2022-04-28 10:38:00

प्रतिकृया दिनुहोस्