नेपालमा युराेपियन प्रविधिका घर बनाउँदै अष्ट्रियाका राफायल

नेपाली मितिअनुसार २०४६ साल असाेज दुई गते जन्मेका थिए, अस्ट्रियाका राफायल। बुबाको नाम याकोबुस र आमाको नाम मगरिता बताउने उनी २८ वर्षकाे उमेरमा नेपाल आएका थिए।

इलेक्ट्रोनिक र आईटीका इन्जिनियर उनी २०६८ सालमा टुरिष्ट भिसामा नेपाल आएका थिए। त्यसबेला उनी जम्मा दुई हप्ता बसे। याे दुई हप्तामा उनलाई नेपालले माेहनी लगायाे।

त्यसकाे एक वर्षपछि राफायल पुन: नेपाल आए। त्याे बेला भने उनी एउटा व्यवस्थित याेजनासहित आएका थिए। उनकाे याेजना थियाे, नेपालकाे माटाे सुहाउँदो भवन निर्माण गर्ने।

२०७२ वैशाख १२ गते गएकाे भूकम्पले उनलाई आफ्नाे याेजना लागू गर्न ढाेका खाेलिदिए जस्ताे लाग्याे। उनले माैका गुमाउन चाहेनन्। पेसाले इन्जिनियर भएपनि हकिकतमा काठ काममा लागे।

'जतिबेला म नेपाल आएकाे थिएँ, त्यतिबेला नेपालमा ढुंगामाटाे र आरसीसी घरहरु थिए,' उनले भने, 'सिमेन्टको घर स्वास्थ्यकाे लागि फाइदाजनक थिएन भने ढुंगामाटाेका घरहरु भूकम्प प्रतिरोधी थिएनन्। त्यसैले म काठकाे काम गर्नुपर्छ भन्ने याेजनामा पुगेकाे हुँ।'

सस्ताे र स्वास्थ्यकाे लागि समेत फाइदाजनक रहेकाे  युराेपियन प्रविधिकाे काठकाे घर नेपालमा पनि बनाउनु उचित रहेकाे उनकाे राय छ।

भूकम्प गएकाे क्षेत्रमा भवन निर्माणकाे परम्परागत प्रविधि उचित नभएकाे र नयाँ बनेका आरसीसी घरहरु माटाे सुहाउँदो नहुनु नै सम्भावना पहिलाे खुड्किलाे ठानी उनी यतै बस्ने मनस्थितिमा पुगे।

'मैले स्राेत देखेँ तर प्रविधि देखिनँ,' उनले सम्भावनाकाे फराकिलो ढाेका देखाउँदै भने, 'नेपालमा काठका हलुका घर नै राम्राे हुने हुनाले पनि मैले यतै बस्ने निधाे गरेकाे हुँ।'

प्रष्ट नेपाली बाेल्न सक्ने उनले आफ्नाे काम सुरु गर्नुअघि उद्याेग मन्त्रालयमा फर्म दर्ता गरे। त्यस लगत्तै नुवाकोटकाे त्रिशूलीमा काठका घर बनाउन थाले। उनकाे काम साेचे अनुरुप नै अघि बढ्याे।

उनी आफूले बनाएका नमुना घरकाे फाेटाे बाेकेर हिँडिरहेका छन्। काठमाडौं, पोखरा, तनहुँ र नुवाकोटलाई कार्यक्षेत्र बनाएका उनी काठका संरचना निर्माणमा व्यस्त छन्। व्यस्तताकै बीचमा उनी जुम्लामा सम्भाव्यता अध्ययनका लागि पुगेका थिए।

उनले पछिल्लो समय जुम्लामा पनि याे प्रविधि विस्तार गर्ने तयारी गरिरहेकाे बताए। त्यसैका लागि जुम्ला पुगेका उनले बिएल नेपाली सेवासँग भने, 'अहिले सम्भाव्यता अध्ययन गर्न आएकाे हुँ। अब चाँडै काम गर्न आउँछु।'

व्यापारिक भिसामा नेपाल बसेबापत उनले सरकारलाई वार्षिक ३५ हजार बुझाइरहेका छन्।

भूकम्पपछि घर निर्माणबाट मात्रै दुई कराेड ५० लाख कमाएकाे उनले बताए। उनीसँग दुईवटा गाडी छन् र एउटा बाइक पनि छ। काम खाेज्दै विदेश जाने नेपालीका अगाडि उनले नेपालमा पनि प्रशस्तै सम्भावना रहेकाे भनी व्यवहारिक रुपमै देखाएका छन्।

हाल उनकाे फर्ममा काम गर्ने १० जना स्टाफहरु छन्। उनीहरु सबै नेपाली हुन्।

'उनीहरुकाे तलब न्यूनतम बीस हजारदेखि तीस हजारसम्म छ,' उनले भने, 'हाम्राे साथीहरुकाे सहयोगमा बिदुर नगरपालिकाको स्वास्थ चौकी पनि बनाएका छाैं।'

प्रकाशित मिति: : 2022-06-28 17:35:00

प्रतिकृया दिनुहोस्