जुम्ला बजार एकदिनमै चिटिक्क, सफाइ अभियानमा जनसहभागिता शून्य

जुम्लाकाे चन्दननाथ नगरपालिकाकाे केन्द्र तथा जिल्ला सदरमुकाम खलंगा बजार शनिबार बिहान ११ बजेबाट एकाएक सफा देखियाे। लामाे समयदेखि नउठेकाे फाेहाेर मेयर राजुसिंह कठायत, उपमेयर रामदेवी खड्का, सीडीओ विजया कुमारी प्रसाई, शसस्त्र प्रहरीका एसपी चित्राङ्गत दाहल, प्रहरीका डिएसपी नरेन्द्र चन्दसहित सेना, प्रहरी, शसस्त्र प्रहरी लगायतले मुख्य बजारकाे फाेहाेर उठाए।

झण्डै तीन घण्टाकाे अवधिमा महिनाैंदेखि थुप्रिएकाे फाेहाेर उठ्दा बजार सफा देखियो। नगरकाे फाेहर व्यवस्थापन सम्बन्धी संयन्त्र प्रभावकारी नहुँदा बजारकाे फाेहाेर उठ्न सकिरहेकाे थिएन। त्यसकारण शनिबार बिहान सफाई अभियान नै चलाउनुपर्‍यो।

बजारबाट उठाएकाे फाेहाेर डम्पिङ साइडसम्म जाने गतिलो बाटाे नहुँदा समस्या थपिदै गएकाे छ। शनिबार बिहान उठाइएकाे फाेहाेर भने चन्दननाथ नगरपालिका- ५ का वडा अध्यक्ष बिर्खसिंह कार्कीकाे जग्गा र मेयर कठायतकाे जग्गामा केही समयकाे लागि थुपारिएकाे छ।

मुख्य बजार बाहेक अन्य क्षेत्र र जुगाड खाेलाकाे फाेहाेर अहिले पनि उठ्न सकेको छैन। डम्पिङ साइडमा लिने फाेहाेर, रिसाइकिलिङ गर्ने फाेहाेर तथा कुहिने फाेहाेर व्यवस्थापनबारे व्यस्थित याेजना बनिरहेकाले केही अलमल भएकाे मेयर राजुसिंह कठायतले बताए।

'काटुन, कागज, प्लास्टिकका बाेतल र सिसाका बाेतलहरु नयाँ सामान बनाउने कच्चापदार्थकाे रुपमा प्रयाेग हुन्छन्। त्यसैले त्यस्ता फाेहरकाे बजार बनाउने गरी लागेका छाैं,' उनले भने, 'कुहिने फाेहाेरबाट मल बनाउने गरी साेचेका छाैं भने बजारकाे सुन्दरता बढाउने जुगाड खाेलामा अटेरी गरेर फाेहाेर फाल्नेलाई कारबाही गर्न पनि पछि पर्ने छैनौं।'

नगरलाई सफा राख्न पालिकाले सफाई अभियान चलाए पनि त्यसमा जनसहभागिता भने पटक्कै दखिएन। एक, दुई ठाउँमा त नगरबासीले नै 'यहाँकाे फाेहाेर पनि उठाइदिनुस्' भनेर सेना, प्रहरीलाई फाेहाेरकाे थुप्रो देखाए। तर, उनीहरु आफैं भने सहभागी भएनन्।

आफ्नै घर अँगान सफा गर्न समेत अरु आइदेउन भनी साेच्ने नगरबसीप्रति प्रहरी प्रशासन थाेरै रुखाे बन्याे। त्यसपछि पसलका साहुजीलाई पञ्जा दिएर आफ्नाे अगाडिकाे फाेहाेर उठाउन बल लगाउनुपर्‍यो।

यस्ताे निर्लज्जताकाे अगाडि अपिल, अनुरोध र आग्रहजस्ताे चिल्लो घस्दा सीप नचल्ने हुँदा फाेहाेर उठाइसकेपछि कडाई गर्नुकाे विकल्प नभएकाे मेयर कठायतले बताए।

'हामीले प्रहरी प्रशासनलाई पनि भनेका छाैं। नगर प्रहरी परिचालन गरेर फाेहाेर फाल्ने ठाउँमा जनशक्ति खटाई कढाई गर्ने साेचेका छाैं,' उनले भने, 'विस्तारै जुगाड खाेलाकाे वारीपारी सीसीटिभी जडान गरेर निगरानी गर्ने याेजना छ।'

चन्दननाथ नगरपालिका  हिमाली क्षेत्रको पहिलो नगपालिकाको रुपमा परिचित छ। सानाे काँसकाे कचाैरा जस्ताे सुन्दर उपत्यकाभित्र रहेका चनन्दननाथ भैरवनाथ मन्दिर, बौद्ध गुम्बा, खस भाषा र सभ्यताको उत्पत्ति तथा मार्सी धानकाे विकास र विस्तार, हिमाली भेगको भाैगाेलिक सुन्दरताले देशी/विदेशी पर्यटनकाे ध्यान खिच्छ। तर, हरेक दिन थुप्रिदै गएकाे फाेहाेरले जुम्ला कुरुप बन्दैछ।

दिनप्रतिदिन पर्यटककाे पहिलाे राेजाइँ बन्दै गइरहेकाे नगरलाई सफा र सुन्दर राखि सभ्य नागरिकाे पहिचान बनाउन जुरुरी रहेकाे मेयर कठायतकाे मत छ।

खलंगामा बजारकाे विस्तारसँगै फाेहाेर पनि दिनदिनै बड्दाे छ। हाल चन्दननाथ नगरपालिकामा ३ हजार ९ सय ९६ परिवारकाे बसाेबास रहेकाे छ। हरेक परिवारबाट नगरमा दैनिक एक सय ७० ग्राम फोहोर उत्पादन भइरहेकाे छ। यसरी हेर्दा हरेक दिन नगरपालिकामा ६ सय ७९ केजी फोहोर थुप्रिरहेकाे छ। हरेक महिना २० हजार तीन सय ७९ केजी र हरेक वर्ष दुई लाख ४४ हजार पाँच सय ५५ केजी फोहोर थुप्रिदा सुन्दर नगर झन्झन् कुरुप बन्ने निश्चित छ।

फाेहाेकाे उचित व्यवस्थापन गर्नेतिर ध्यान दिने विषयमा नागरिककाे सहभागिता नहुने हाे भने सभ्यताकाे सुरुवात गरेकाे क्षेत्रका नागरिक हाैं भनेर गाैरव गर्ने अवसर गुम्ने उपमेर खड्काले बताइन्।

'याे विडम्बनापूर्ण अवस्थाबाट चाँडै पार पाउन अति नै जरुरी भइसकेकाे छ। हाम्रै कर्मले नगरमा दिनानु दिन फाेहाेर बड्दै गएकाे छ,' उनले भनिन्, 'फाेहाेरकाे उचित व्यवस्थापन गर्नु पनि हाम्रै दायित्व हाे। व्यवहारमै सफा नगर बनाउन सबै नागरिककाे सहभागिता अति नै जरुरी छ।'

चन्दननाथ नगरपालिकाले बेलाबेला सरसफाइ अभियान चलाउँदा मात्रै बजार सफा हुन्छ। नगरबासी पनि आफ्नाे जिम्मेवारी बहन गर्ने दायित्वबाट विमुख भइरहेका छन्। बजार र बजारकाे साैन्दर्य बढाइरहेकाे जुगाड खाेलालाई सफा गरिराख्नु नगरबासीले आफ्नाे दायित्व सम्झिनुपर्ने नागरिक अगुवाहरुकाे मत छ।

हाल नगरले पहिलाे चरणमा बजार र जुगाड खाेला सफा गर्ने याेजना बनाएकाे छ। 'त्यसपछि हामी आफैंले सफा गरेकाे बजार र जुगाडखाेला फेरि फाेहाेर गर्नेछैनाैं र गर्न दिनेछैनौं भनी तन, मन र बचनले प्रतिबद्ध हुन जरुरी छ,' मेयर कठायतले भने,'यति गर्दा पनि कसैले अटेरी गरेकाे खण्डमा कारबाहीको विकल्प रहन्न।'

प्रकाशित मिति: : 2022-07-03 20:16:00

प्रतिकृया दिनुहोस्