जेलबाङ बन्याे उत्कृष्ट स्मार्ट कृषि गाउँ (तस्बिरहरू)

स्मार्ट कृषि गाउँ जेलबाङलाई यस वर्षको उत्कृष्ट स्मार्ट कृषि गाउँ पुरस्कार प्रदान गरिएको छ।

रोल्पाका ६ वटा स्थानीय तहमा सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रमहरुमध्ये यसवर्ष सबैभन्दा राम्रो काम गरे बापत् जेलबाङलाई नगद रु. २५ हजारसहित पुरस्कृत गरिएको हो।

लुम्बिनी प्रदेश सरकारद्धारा सञ्चालित उक्त कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र रोल्पाले कार्य सम्पादन मूल्यांकनका आधारमा जेलबाङलाई उत्कृष्ट ठहर गर्दै पुरस्कार प्रदान गरेको हो। उक्त पुरस्कार शनिबार जेलबाङमा आयोजित एक कार्यक्रमकाबीच उक्त पुरस्कार कृषि ज्ञान केन्द्र रोल्पाका प्रमुख राहुल पाण्डेले स्मार्ट कृषि गाउँ जेलबाङका संयोजक राज रोकालाई प्रदान गरेका हुन्।

कार्यक्रममा सुनछहरी गाउँपालिका– ७ का वडाध्यक्ष राजबहादुर रोकाले सामूहिक खेती प्रणालीलाई विकास गर्न गाउँ कार्यपालिकाबाटै निर्णय गरेको बताए। यस्तै जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासनिक अधिकृत युवराज परियारले किसानहरुको मेहनतको कदर भएको बताए। कृषि ज्ञान केन्द्र रोल्पाका प्रमुख पाण्डेले आगामी दिनमा पनि थप उत्कृष्ट काम गर्न आग्रह गरे।

‘यस वर्ष हामीले उत्कृष्ट पुरस्कार दिएका छौं,’ प्रमुख पाण्डेले भने ‘आगामी दिनमा योभन्दा कम काम नहोस्।’

कार्यक्रम संयोजक रोकाले दुर्गम गाउँमा निर्वाहमूखि खेतीलाई व्यावसायीक बनाउन कठिन भएको बताए। ‘थोरै जमिनमा सबै एकै प्रकारको खेती गर्न यहाँका किसानले मान्दैनन्’ रोकाले भने, ‘चुनौतिकाबीच पनि उत्कृष्ट पुरस्कार पाउँदा हामीलाई हौसला प्रदान गरेको छ।’

स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत जेलबाङमा अदुवा, बेसार, भटमास र तरकारी बाली लगाउने गरिएको छ। यसअघि आफूले खानको लागि मात्र उत्पादन गर्दै आएका जेलबाङीले अहिले धेरै उत्पदानहरु बाहिर निर्यात गर्दै आएका छन्।

प्रकाशित मिति: : 2022-07-04 07:32:00

प्रतिकृया दिनुहोस्