वर्षायाम लागेपछि स्थानीय चिन्तित, बनेन 'बम्दा' पुल (भिडियोसहित)

बकैया गाउँपालिकास्थित बम्दा खाेलाकाे पक्की पुल तोकिएको समयै निर्माण नहुँदा स्थानीयवासीले दैनिक सास्ती भोग्नुपरेको छ।

मकवानपुरकाे बम्दा खाेलामाथि पक्की पुलका लागि दुईवटा पिलर ठडिएका छन्। तर बाँकी काम ज्यूँकात्यूँ छ। छेउमै एउटा जिर्ण काठे–पुल पनि छ। त्याे काठे–पुल, पुलजस्ताे छैन। डरलाग्दाे छ। बालबालिकाहरू त्राश बाेकेर आउजाउ गर्छन्।

बकैया–८ र ९ जोड्ने बम्दा खाेला माथिकाे पक्की पुलकाे पर्खाइमा छन्, स्थानीय। काठे–पुल बनेकाे वर्षाै भइसक्याे। दिनदिनै जाेखिम माेलेर बम्दा खाेला वारिपारि गर्न बाध्य भएकाे बताउँछन्, स्थानीय एक युवक।

बकैयामा मोटरबाटो छ। आजभाेलि सवारीसाधन चल्दैनन्। बम्दा खोला भारी वर्षायामले तर्नै नसकिने गरी उर्लिन्छ। काठे–पुलबाट स्थानीयहरू वारिपारि गर्छन् तर वस्तुभाउ थुनिएका छन्।

बम्दा खाेलाकाे पक्की पुल समयमै नबन्दा स्थानीयवासी चिन्तित छन्। उनीहरू उर्लिँदाे बर्खे बाढी थेग्न बाध्य छन्। खाेलाेमा पक्की पुलकाे याेजना छ। दुईवटा पिलर पनि छन्। तर काम अधूरै छ।

शिखरापुर वर्षामा सुनसान छ। मोटरबाटोमा गाडी–घाेडा चल्दैनन्। हिउँदकाे समयमा पानी कम बग्दा खोला तर्न सकिन्छ। मोटरबाटो खुल्छ। तर वर्षामा बाढीकाे कारण त्रासित स्थानीयहरू खाेला छेउछाउ नै पर्दैनन्।

अब वर्षायाम लाग्याे आउजाउ गर्नै गाह्रो हुन्छ। पानीको बहाव ह्वात्तै बढ्दा आउजाउ गर्न समस्या भएकाे स्थानीयवासीकाे गुनासाे छ। पक्की पुल नबन्दा यहाँका स्थानीयले सास्ती खेप्नुपरेको हो। 

बैशाख–जेठमा पुलकाे निर्माण कार्य सकिने भनिएता पनि दुईवटा पिलर मात्रै ठडिएका छ्न्। पुल निर्माणको जिम्मा लिएका ठेकेदारले काम रोकेका छन्। उनी रमिते बनेका छन्। स्थानीय दुःख पाइरहेका छन्। स्थानीय सरकार माैन छ। खाेलामा निर्माणाधीन पक्की पुल अधूरै छ।

'पुल अलपत्र छ। अधुरो पक्की पुल हेरेर मात्रै कति बस्नु। न पुल बनाउँछन्। न त ठेकेदारलाई कारबाही गर्छन्,' स्थानीय युवाले भने। समयमै पक्की पुल नबन्दा बकैयावासीले तनाब झेलिरहेका छन्।

भारी वर्षायामपछि खोलामा पानी बढ्दा एम्बुलेन्स पनि चल्दैन। खोला तर्नको लागि एकमात्र विकल्प जोखिमपूर्ण जिर्ण काठे–पुल हाे। तर त्याे पुलबाट एम्बुलेन्स गुड्दैन। 

पुल निर्माणको जिम्मा ठेकेदार क्षितिज रानामगरले लिएका हुन्। बैशाख–जेठभित्रै पुल निर्माण सम्पन्न गर्छु भनेर सर्वसाधारणलाई आश्वासन बाँडेका उनी अहिले माैन छन्। ठेकेदार रानामगरकाे बोली नै फेरिएको छ।

ठेकेदारको बजेट र वर्षामै अल्झिएका छन्। जनताले डरलाग्दाे काठे–पुल प्रयाेग गर्छन्। गाउँ–गाउँमा एम्बुलेन्स पुग्दैन। वर्षाकाे पानी उर्लेकाे उल्यै छ। यता वडाध्यक्ष टङ्कध्वज लोप्चन ठेकेदारकाे ढिला–सुस्ती पत्ताे पाएर पनि नपाए झैँ गर्छन्। बेतिथिरूद्ध मुख खाेल्न सक्दैनन्। खाेलाछेउमा उभिएका दुईवटा पिलर हेरेर बसेका छन्।

प्रकाशित मिति: : 2022-07-12 19:02:00

प्रतिकृया दिनुहोस्