व्यक्तिगत खर्चमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर जसले जिते स्वर्ण पदक

भारतको कास्मिरमा गत जुलाई २ र ३ गते भएको कास्मिर इन्टरनेशनल टेक्वाण्डो च्याम्पीयनसिपमा रोल्पाका खेलाडी विरेन्द्र डाँगीले स्वर्ण पदक जित्न सफल भएका छन्।

व्यक्तिगत खर्चमा रोल्पाबाट अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामामा सहभागि भई डाँगीले स्वर्ण पदक हात पारेका हुन्। 

डाँगीलाई लिबाङस्थित बालकल्याण नमुना माविले बुधवार विद्यालयमै बोलाएर दोसल्ला र फूलमाला लगाई सम्मान गरेको छ। 

खेलाडीहरुको व्यक्तिगत रहरले मात्र त्यहाँ पुग्न सफल भएको डाँगीको भनाई छ।

‘यहाँ खेल भनेको भलिबल र फुटबल मात्र भन्ने बुझिन्छ’ डाँगीले भने ‘मार्सल आर्ट अन्तर्गतका खेलहरुमा पनि अब स्थानीय सरकारको ध्यान जानुपर्छ।’

भारत, पाकिस्तान र नेपालका खेलाडीहरुको सहभागीता रहेको टेक्वाण्डो च्याम्पीयनसिपमा ५४ केजी समूहको खेलमा डाँगीले स्वर्ण पदक हात पारेका हुन्।

खेलाडीहरुको लागि कुनैपनि निकायबाट सहयोग नभएको उनीहरुको गुनासो छ।

डाँगीले स्वर्ण पदक जितेर आएपछि मात्र चर्चा हुनु दुखद् भएको प्रशिक्षक लोकेन्द्र सेनले बताए। 

‘जितेर आएपछि सबैले दोसल्ला ओडाउछन्’ उनले भने ‘खेलाडीले कसरी खेल्यो र खर्च कहाँबाट लिएर खेल्यो भन्नेमा चासो हुनुपर्छ।’

उक्त च्याम्पीयनसिपमा डाँगीसहित नेपालबाट ९ जना खेलाडीहरुको सहभागिता रहेकोमा विभिन्न तौल समूहबाट विभिन्न पदकहरु जित्न सफल भएका थिए।


 

प्रकाशित मिति: : 2022-07-27 21:59:00

प्रतिकृया दिनुहोस्