कर्णालीले देशलाई डाक्टर दिने क्षमता राख्याे– स्वास्थ्य राज्यमन्त्री केसी

स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशाला भवन र अक्सिजन प्लान्टको उद्घाटन गरेका छन्।

प्रयाेगशाला भवन १ करोड २७ लाख लागतमा निर्माण भएको हाे भने अक्सिजन प्लान्ट ५०.२ एनम.क्यु.एच.आर. क्षमताको छ। औपचारिक कार्यक्रमकाे बीच राज्यमन्त्री केसीले प्रतिष्ठानलाई ६ वटा डाईलासिस मेसिन पनि हस्तान्तरण गरेका छन्।

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले देशका अन्य प्रतिष्ठानको तुलनामा राम्राे काम गरी अब्बल सावित भएकाे बताए।

'कर्णालीले डाक्टर उत्पादन गरी देशलाई दिनसक्ने क्षमता राख्नु नै राज्यकाे गाैरव हाे,' उनले भने,'दुर्गममा देखिएको स्वास्थ्य समस्यालाई हल गर्न सक्ने क्षमता राखेका कारण प्रतिष्ठान स्थापना भएको औचित्य सावित भएकाे छ।'

उनले कर्णालीमा बारम्बार देखापर्ने कुपोषणको समस्या न्यूनिकरण गर्ने काममा प्रतिष्ठानकाे अग्रणी भूमिका हुनुपर्ने बताए। उनले भने,'चेरे चौरमा निर्माण हुने शैक्षिक भवन निर्माणका लागि आवश्यक सहयोग हुनेछ। यसका लागि ढुक्क हुनुहोस्। कर्णालीकाे स्वास्थ्य शिक्षामा लगानी गर्नु राज्यकाे दायित्व हाे।'

राज्यले चाहेमा कर्णालीमा हर कुरा सम्भव हुने प्रतिनिधिसभा सदस्य गजेन्द्र महत (कर्माले) बताए।

'व्यक्तिले चाहदैमा सबै कुरा सम्भव हुँदैन। व्यक्तिका सकारात्मक कदममा राज्यले कर्णालीका लागि भनेर विशेष किसिमकाे लगानी गर्नुपर्छ,' उनले भने, 'सबै राजनीतिक दलको सहयोग, सद्भाव र सहानुभूतिले स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यहाँका नागरिकाे स्वास्थ्यस्थितिमा सुधार ल्याउनेछ।'

'सबै मैले मात्रै गरे भन्नु गलत हुने' भन्दै उनले बहुवर्षीय शैक्षिक भवन निर्माण लागि सहयोग गर्न अनुरोध गरे।

उनले समग्र देश र कर्णालीका लागि कर्मचारीतन्त्र बाधक बनेकाे बताए। उनले भने,'अहिले जनप्रतिनिधिको काम कराउने मात्रै भएकाे छ। हामी कराउँदा एउटा पनि काम हुँदैन। तर, कर्मचारीले चाहेमा जति पनि योजना पर्ने गरेका छन्।'

उनकाअनुसार प्रतिष्ठानले दिएको सेवा गुणस्तरीय छ। अक्सिजनको अभावमा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गरेकोमा प्रतिष्ठान सधैं श्रेय पाइरहने छ।

प्रतिष्ठानले दिएकाे सेवाबाट आफू सन्तुष्ट भएको स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले बताए।

'प्रतिष्ठानले अघि सारेका बहुवर्षीय योजनामा मन्त्रालयका तर्फबाट सहयोग हुनेछ,' उनले भने, 'दुर्गमका सबै जिल्लामा स्वास्थ्य सेवा विस्तार गर्दे कर्णालीका बिरामीले सस्तोमा उपचार पाउने संयन्त्रकाे विकास गरिनुपर्छ।'

उनले अगाडि थपे,'देशलाई आवश्यक पर्ने डाक्टर उत्पादनले कर्णालीकाे शिर माथि उठेको छ।'

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुपति डाक्टर मंगल रावलले असुन्धानका लागि कर्णाली दुनियाकाे सबैभन्दा राम्राे ठाउँ रहेकाे बताए।

'भेरी अस्पतालसँग क्लिनिकल पोष्टिङका लागि सम्झौता गर्ने तयारी भइरहेको छ,' उनले भने, 'हाम्राे प्लान्टबाट एक दिनमा १ सय ६० वटा सिलिण्डर अक्सिजन उत्पादन हुन्छ।'

उनकाअनुसर प्लान्टबाट प्रतिमिनेट ८ सय ५० लिटर अक्सिजन उत्पादन हुन्छ। प्रतिष्ठानले उत्पादन गरेको अक्सिजन अन्य ठाउँमा पनि पठाउन सकिनेछ।

अक्सिजनका लागि प्रतिष्ठान सक्षम भएकाले अब बाहिरबाट अक्सिजन ल्याउनको लागि भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको उनकाे भनाइ छ। भवन अभावका कारण १३ वटा घर भाडामा लिएर काम गर्नु परेको प्रतिष्ठानका रजिष्ट्रार नृर्पेन्द्र महतले बताए।

'प्रतिष्ठानले संचालन गरेका स्नातक कार्यक्रमहरुको पठनपाठनका लागि निर्माण व्यवसायि संघ र जुम्ला बहुमुखी क्याम्पसको भवन भाडामा लिएर अध्यापन गराइरहेका छाैं,' उनले भने।

उनकाअनुसार प्रतिष्ठानले अब डायलासिस सेवा समेत संचालनमा ल्याउनेछ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डायलासिस मेसिन उपलब्ध गराएपछि उक्त सेवा सुरु हुन लागेको हाे।

'अस्पतालमा मिर्गौला रोगी आउने गरेका थिए। तर, उपकरण नहुँदा सेवा दिन सकेका थिएनौं,' रजिस्टार महतले भने,'अब जुम्ला अस्पतालमै यो समस्या समाधान हुने भएको छ।'

२०६८ सालमा स्थापना भएकाे प्रतिष्ठानले आकस्मिक सेवा, बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, शल्यक्रिया सेवा, प्रसूति सेवा, ब्लड बैंक, समुदायमा स्वास्थ्य सेवा, विस्तारित सेवा, एम्बुलेन्स सेवा र टेलिमेडिसिन सेवा दिँदै आएको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित मिति: : 2022-08-05 18:06:00

प्रतिकृया दिनुहोस्