रोल्पाको त्रिवेणीका शिक्षकलाई ट्याब्लेट वितरण

विगतको कोभिड–१९ ले गर्दा शिक्षा क्षेत्रमा भएको शैक्षिक क्षति न्यूनीकरणका लागि सहयोग पुर्याउने उद्देश्यले त्रिवेणी गाउँपालिकाका सबै विद्यालयहरुमा ट्याब्लेट वितरण गरिएको छ।

त्रिवेणी गाउँपालिकाको समन्वय र युनिसेफको सहयोगमा मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाद्वारा त्रिवेणी गाउँपालिकामा सञ्चालन भइरहेको कोभिड–१९ शिक्षाप्रति कार्यक्रम अन्तर्गत सो सहयोग गरिएको हो।

कक्षा १ देखि कक्षा ३ सम्म सबै बालबालिकाहरुको सिकाइ क्षति न्यूनीकरण गर्नका लागि ३८ वटै विद्यालयका १ सय १२ टोल शिक्षा कक्षाहरु संचालन भइरहेका छन्।

कक्षा १ देखि ३ सम्म टोल शिक्षामा अध्यापन गराउने शिक्षक शिक्षिकाहरुलाई डिजिटल शिक्षण सिकाइ सामग्रीहरुसहित एक-एक थान ट्याब्लेट र ब्लुटुथ स्पिकर एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ।

टोल शिक्षा सहजकर्ताका लागि दोश्रो चरणको दुई-दुई दिने शिक्षण सहजीकरण तालिममा ती सामग्री हस्तान्तरण गरिएको हो।

तालिमको उट्घाटन समारोहमा ती सामग्रीहरु हस्तान्तरण गर्दै त्रिवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर बाठाले शिक्षण सिकाइ प्रक्रियालाई डिजिटल माध्यममा लैजान आवश्यकता भएको बताए।

अध्यक्ष बाठाले त्रिवेणी गाउँपालिकामा शिक्षाको क्षेत्रमा हुरेक र युनिसेफले महत्वपूर्ण योगदान पुर्याएको बताए।

उपाध्यक्ष लेखमणि डाँगीले कोभिडले शिक्षा क्षेत्रमा पारेको असरलाई यस टोल शिक्षा कक्षाले क्षति न्यूनीकरण गर्ने अपेक्षा रहेको बताए। त्यस्तै कार्यक्रम गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीले शैक्षिक सुधारका लागि योजनाबद्ध रुपमा काम गर्दै आएको बनाए।

प्रकाशित मिति: : 2022-08-12 14:00:00

प्रतिकृया दिनुहोस्