दाप्चाः धार्मिक–सांस्कृतिक पर्यटनकाे गन्तव्य

पूर्वी ढोकाका रूपमा परिचित काभ्रेपलाञ्चोकको दाप्चा क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन यहाँका नागरिकले जोड दिएका छन्। 

विपी राजमार्ग सञ्चालनमा आएसँगै पर्यटकीय र सांस्कृतिक सम्पदाले भरिपूर्ण ऐतिहासिक नगरी दाप्चा क्षेत्र विकास र प्रवर्दधनका हिसाबले पछाडि परेको भन्दै यहाँका नागरिकले उक्त क्षेत्रको विकासमा पहल गर्न आग्रह गर्दै आएका छन्।

राजधानी काठमाडौँबाट नजिक रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको नमोबुद्ध गुम्बाले परिचित सो ठाउँ नजिकै रहेको दाप्चामा प्रशस्त पर्यटकीय सम्भावना छन्। 

बनेपाबाट दाप्चा हुँदै पैदलयात्राबाट हुने व्यापारिक नाकाका रूपमा रहेको सो ठाउँ विपी राजमार्ग सञ्चालनमा आएसँगै ओझेल परेको हो।

विभिन्न कलात्मक घर, मठमन्दिर र प्राकृतिक सुन्दरताले भरिपूर्ण पुरानो ऐतिहासिक सम्पदा भएको सो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न कोटकालिका एकीकृत विकास तथा मन्दिर संरक्षण समितिसमेत गठन भएको छ। 

यहाँका युवाले पनि दाप्चाका दुई बजारमा ऐतिहासिक कृष्ण जन्माष्टमीको विशेष जात्रा हुने दाप्चा क्षेत्रको पर्यटकीय विकासका लागि योजना बनाइरहेका छन्। 

सांस्कृतिक हिसाबले विशेषगरी कृष्ण जन्माष्टमीको रथयात्रा र भीमसेन जात्रा हुने सो क्षेत्रमा दाप्चा आसपासका नागरिकको सहभागिता हुँदै आएको छ। 

करिब चार सय १५ वर्ष पुरानो जात्रालाई दाप्चाका स्थानीयले प्रत्येक घरधुरीबाट पैसा उठाएर जात्रा मनाउने कामलाई निरन्तरता दिँदै आएको स्थानीय बासिन्दा बताउँछन्।

श्रीकृष्ण जन्माष्टमी, नवदुर्गा जात्रा समिति, तल्लो हटियाका अध्यक्ष शिव श्रेष्ठले गुठियारबाट उठाएको पैसाले जात्रा चलाउन कठिन भएकाले राज्यबाट पनि सहयोग गर्नुपर्ने बताए। 

सांस्कृतिक संरक्षण र प्रर्वधनका लागि स्थानीय, प्रदेश र सङ्घ सरकारले समेत सहयोग गर्नुपर्ने बताउँदै दाप्चाका पुरानो जात्रा सञ्चालन र संरक्षणका लागि स्थानीय तहले सहयोग गरे पनि त्यो पर्याप्त नभएको माथिल्लो हटियाका स्थानीय युवा जीवन श्रेष्ठले बताए। 

तल्लो हटियामा विसं १६६४ देखि र माथिल्लो हटियामा विसं १९६० र कोट हटियामा विसं २००० देखि जात्रा सुरु हुँदै आएको शिलालेखहरूमा उल्लेख छ। 

दाप्चामा नवदुर्गासहित गणेश, लाखे नाच, महादेव,देवी, भैरव, पार्वती, विष्णु, लक्ष्मी, वाराही, महाकालीका साथै राजारानी र हंशभारत नाच हुन्छ। जात्रा मनाएपछि घरपरिवार र शरीरमा भएको सबै प्रकारका समस्या नाश भएर जाने धार्मिक मान्यता छ।

सो अवसरमा लाग्ने मेलामा रोजगार र व्यावसायिक कामले विभिन्न स्थानमा गएका परिवारका सदस्य र आफन्त आउने गरेका छन्।

अध्ययन, रोजगार, व्यापारलगायत विभिन्न कामका सिलसिलामा काठमाडौँ, बनेपालगायतका सहरमा बसोबास गर्न थालेपछि जात्रालाई निरन्तरता दिन समस्या उत्पन्न हुने भन्दै यहाँका स्थानीय युवा यसको संरक्षणमा जुटेका छन्। केही युवा परम्परागत नृत्य सिकेर यसलाई पछिल्लो पुस्तासम्म विस्तार गर्ने क्रममा छन्।

विविध क्षेत्रबाट महत्व बोकेको दाप्चा क्षेत्रको विकासका लागि नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले सो क्षेत्रको पर्यटकीय विकासका लागि नगरपालिका योजना बनाएर लागिरहेको बताए। 

आफू नगरपालिका प्रमुखमा विजयी भएपछि पहिलोपटक प्रदेश राजधानी हेटौँडा पुगेर संस्कृति तथा पर्यटनमन्त्रीलाई भेटी दाप्चा क्षेत्रको धार्मिक र सांस्कृतिक महत्वको क्षेत्र बनाउन प्रस्ताव पेश गरेको बताए। सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको विकासका लागि नगर प्रतिबद्ध रहेको उनले बताए।

कृष्ण जन्माष्टीको रथयात्रा र भीमसेन जात्रा अवलोकन गर्न शनिबार दाप्चा पुगेका बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले नमोबुद्ध नगरपालिकाको माथिल्लो भेग दाप्चा क्षेत्रको सांस्कृतिक र पर्यटकीय विकास गर्न बागमती प्रदेश मन्त्रालय प्रतिबद्ध रहेको बताए। 

‘पर्यटकीय र सांस्कृतिक सम्पदाले भरिपूर्ण ऐतिहासिक नगर दाप्चाको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ,’ उनले भने। 

यसअघि पनि प्रदेश सरकारले दाप्चा कोटकालिका मन्दिर क्षेत्रमा केही पूर्वाधारका लागि सहयोग गरेको र अब विभिन्न क्रमागत योजनामार्फत यो क्षेत्रको विकास गर्न प्रदेश सरकारले काम गर्ने उनले बताए। 

प्रकाशित मिति: : 2022-08-21 11:48:00

प्रतिकृया दिनुहोस्