विदेशमा रहने नेपालीहरूले कसरी मनाउँदैछन् त दशैं? 

BreaknLinks
BreaknLinks

गाउँघरमा त यतिबेला दशैंको रौनक छ। काम गर्न सहर पसेकाहरू घर फर्केका छन् र विदेश गएकाहरू पनि थुप्रै चाडवाडको मुख पारेर स्वदेश फर्किरहेका छन् तर कतिपय भने घरपरिवार र चाडवाड सम्झिदै विदेशमै बस्न बाध्य छन्।

धेरै नेपालीहरू स्थायी बसोबास संगसंगै कामको सिलसिलामा विदेशिएका छन्। यसरी  विदेशिएमा यूरोपियन मुलुकहरूमा पनि नेपालीहरू प्रशस्त रहेका छन्। सधैँ आफ्नै कामको सिलसिलामा व्यस्त रहने उनीहरूलाई नेपालका चाडपर्वहरूमा नेपाल फर्केर परिवारसंगै मनाउन नपाउँदा साह्रै खल्लो अनुभव गर्ने गरेका छन। तर पनि आफ्ना सम्पूर्ण परिवार सहित बसेकाहरू वा स्थायी कागजातको पर्खाइमा बसेका नेपालीहरू थुप्रै रहेका छन यूरोपमा। 

कति त एक दशकसम्म नेपाल जान पाइरहेका छैनन् भने कति प्रत्येक वर्ष जाने गर्छन् तर दशैं तिहारमा जाने समय अनुकुल मिल्दैन। नेपालीहरूका संस्था धेरै छन् यूरोपका देशहरूमा।

प्रविधिको प्रयोगमा वृदिसँगै डिजिटल अर्थात् अनलाइनबाट टिका लगाउने परम्पराको विकास पनि विस्तारै बढ्दै गइरहेको छ। यो चलनले अभिभावक संगको सामिप्यतालाई केही हदसम्म पूरा गर्ने गरेको पनि देखिन्छ।

बेल्जियम निवासी मदन दवाडीको यसपालीको दशैँ डिजिटल हुनेछ। 'गत वर्ष सासु ससुरा यतै हुनुहुन्थो र सासु ससुरा सँग भौतिक र बुवा आमासँग डिजिटल हुन्थ्यो तर अहिले सासुससुरा पनि नेपाल हुने भएकाले कर्म र जन्म दिने दुबै अभिभावककसँग डिजिटलमा कुराकानी हुन्छ।' उनले भने। 

बेल्जियममा पछिल्लो समयमा धेरै नेपालीहरू आफ्नै व्यवसाय गरिरहेका छन्। त्यसमध्येका एक दवाडी पनि हुन्। दवाडीले यसपाली टिकाको दिनमा आफ्नो ३ वटै रेष्टुरेन्ट बन्द गर्ने योजना बनाएका छन्। आफ्नो व्यवसायमा काम गर्नेहरू धेरै नेपाली भएको कारण दशैं राम्रैसंग मनाउने उनको योजना छ।

यूरोपस्थित नेपाली संघ संस्थाहरूले नेपाली कलाकारलाई आफ्नो देशमा झिकाएर दशैं तिहारमा सबै एक ठाउँमा जमघट भएर खुसी तथा शुभकामना साटासाट गर्नै गर्छन्।

यूरोप रहने नेपालीहरूले कसरी मनाउँदैछन त यसपटकको दशैं? 

विगत लामो समयदेखि माल्टामा बस्दै आएकी दीपासा घिमिरे विदेशमा बसेर आफूलगायत परिवारको अभिष्ट पूरा गर्न रातदिन नभनी श्रममा लाग्नुपर्ने परिवेशमा चाहेर पनि चाडवाडको रमाइलो अनुभूति लिन त्यति सहज नहुने बताउँछन्।

दीपासाले समय मिलाएयर आफू बसेका ठाउँमा नेपाली साथीभाइहरूसँग भेटेर रमाइलो गर्ने योजना बनाएकी छिन्।

'समय अनुसार यो चाड नजिकदैँ जाँदा अपेक्षा र अनुभव पनि फेरिदैँ जान्छन्। बाल्यावस्थामा नयाँ कपडा लगाउन र मिठो खान पाइन्छ भन्ने खुसीमा दशैंको प्रतिक्षा हुन्थ्यो। पछिल्ला दिनमा आफन्तहरूसँग भेटघाट हुने र दुखसुखका अनुभवहरू साटासाट गर्न पाइने कुराले मन प्रफुल्लित हुन्थ्यो। तर अहिले परिस्थिति बेग्लै छ। विदेशमा तिनै सम्झना याद गर्दै दशैं मनाउनु पर्छ।' घिमिरेले अनुभव सुनाइन्।

मदन दवाडी र दीपासा घिमिरे जस्तै बेल्जियमको ब्रसेल्स निवासी सैलजा शर्माको यसपालीको दशैं विगतको भन्दा खल्लो रहने छ।

सैलजा र उनका श्रीमान टीकाको दिन नौँ घण्टा काम गर्ने सोचमा छन्। छोराछोरीको विद्यालयको खर्च उठाउनका लागि काममा खट्ने उनीहरूलाई दशैंको कुनै चासो छैन।

'सबै कामधन्दा सकिएपछि साँझमा परिवार जम्मा हुने र टिका लगाउने छौं। परदेशीको दशैं यस्तै हो। नेपालको जस्तो त कहाँ पाउनु र?' उनले दुखेसो पोखिन्।

विदेशमा बस्नेले अरू बेला भन्दा चाडपर्वको बेला घरपरिवार धेरै सम्झिन्छन्। गाउँमा हालिने लिंगे पिङ अनि गाउँमा हुने जमघट, मन्दिरमा हुने पूजा पाठलाई विदेशमा बस्नेलाई खड्किरहन्छ।

त्यसैले परदेशिएकाहरूलाई कतिबेला घर पुग्यौँ झैँ लाग्छ। तर पनि भविष्यको खोजीमा हिँडेका उनीहरू यी सबै कुराहरूलाई सम्झनामा राख्दै पीडा बिर्सिएर परदेशमै दशैं मनाइरहेका छन्।

प्रकाशित मिति: : 2022-10-02 22:10:00

प्रतिकृया दिनुहोस्