चुनावमा अरूले पैसा बाँड्लान् तर मैले देश विकास गर्ने एजेण्डा बाँड्छु: दिलबहादुर तामाङ (अन्तर्वार्ता)

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलहरूले विभिन्न एजेण्डासहित आ-आफ्नो उम्मेदवारहरूलाई चुनावी मैदानमा उतारेका छन्।

तिनै दल र उम्मेदवारहरु आफ्नो पार्टीको सिद्धान्त, विचार र एजेण्डा जनतालाई बुझाउँदै जनताको मत तान्न लागिपरेका छन्।

यसैबीचमा प्रतिनिधि सभा सदस्यका लागि भक्तपुर क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य दिलबहादुर तामाङ ‘छाता’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन्।

आम चुनावको तयारी र योजनाको विषयमा केन्द्रित रहेर उनै दिलबहादुर तामाङसँग बिएल नेपाली सेवाकाका लागि रविन पुन मगर (आइडु) ले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ :


चुनावी अभियानलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?

मंसिर ४ गते हुन लागिरहेको प्रदेश सभा र प्रतिनिधि सभाको चुनावको लागि म पनि जनता समाजवादी पार्टीको लागि छाता चुनाव चिन्ह लिएर उम्मेदवार छु। भक्तपुर जिल्लामा हाम्रो पार्टीको तर्फबाट व्यक्तिगत तर्फबाट चुनावी प्रसारप्रसारकाे लागि घरदैलो गर्दै जनताको घर आँगनमा गइरहेका छौँ। हामी प्रत्यक्ष रुपमा जनताको समस्या, अपेक्षा बुझ्दै र सुन्दै गएका छौँ। मेरो उम्मेदवारीप्रति जनता सकारात्मक हुनुहुन्छ।

तपाईंकै निर्वाचन क्षेत्रबाट एमालेका महेश बस्नेत, काँग्रेसका दुर्लभ थापालगायतकाे उम्मेदवारी छ, तपाईंलाई प्रतिस्पर्धीदेखि डर लागेन ?

चुनावको सन्दर्भमा कुरा गर्दा तपाईं हामी ढुङ्गे युगमा छैनौँ। हामी लोकतान्त्रिक व्यवस्थामा छौँ। यो अवस्थामा कोही व्यक्ति कुनै व्यक्तिसँग डराउनुपर्ने अवस्था छैन। जसरी एमालेको तर्फबाट प्रतिनिधि आउनुहुन्छ, जसरी काँग्रेसबाट प्रतिनिधित्व गर्दै गर्नुहुन्छ, त्यसरी नै मैले उम्मेदवारी दिएकाे हुँ। हार\जितको सन्दर्भमा भोलि जनताले जसलाई मत दिनुहुन्छ, उसले जित्ने हो। त्यसमाथि अहिलेको गठबन्धन चुनावी तालमेलसँग जनताको चाहना छैन। उहाँहरुले वैकल्पिक शक्ति खोजिरहनुभएको छ। जनताले यो पटकको चुनावमा धुलोलाई कुचोले बढारे जसरी बढार्ने छ। जसको वैकल्पिक शक्तिको स्वरुपमा मलाई जनताले मत दिनुहुनेछ।

त्यसाे भए विपक्षीलाई पराजित गर्न तपाईंसँग के छन्, याेजना ?

एजेण्डाकाे सन्दर्भमा भक्तपुर जिल्लामा कालान्तर इतिहास साँची छ। पुराना ठुला पार्टी भनाउँदाले त्यहाँका सोझा जनतालाई ठग्नु ठगे, अब फेरि त्यही एजेण्डा बोकेर त्यही जनताको आगनमा जाँदै हुनुहुन्छ। तर, उहाँहरुले विगतमा गरेको राजनीति जनताको लागि नभएको जगजाहेर छ। मेरो उम्मेदवारीको सन्दर्भमा कुरा गर्दा भक्तपुर क्षेत्र न. २ मा छाता चुनाव चिन्ह लिएर आएको छु। म सामान्य नागरिकका घर आँगनदेखि नै समस्याको समाधानका एजेण्डा बोकेर गएको छु। जसले मेरो पार्टी र कार्यकर्ताभन्दा पहिले जनताको भलाइ गर्नेछ।

चुनाव जित्नका लागि उम्मेदवारले पैसाको खोलो बगाइरहेको छन्, तपाईंले बगाउन सक्नुहुन्छ ?

जसले आफ्नो जुक्ति र मुक्तिका लागि चुनाव लड्छ, उसले पैसाकै लागि चुनाव लड्छ पैसा नै खर्च गर्छ। अहिले चुनावमा पैसाले भोट किन्छन् तर भोलि त्यो पैसा जनताबाटै उठाउँछन्। जनताले बुझ्नुपर्ने कुरा के हो भने पैसा बाँड्ने उम्मेदवारले बाँडेको पैसा हाम्रै पसिना हो भन्ने कुरा जनताले बुझ्नु पर्‍याे। पछिल्लो समय जनता पनि बाठो भइसके अब पैसा दिनेलाई मात्रै होइन सक्षम उम्मेदवारलाई भोट दिनुहुनेछ भन्ने कुरामा म ढुक्क छु। म पैसा बाँड्दिनँ मेरो एजेण्डा बाड्छु।

जसपा र एमालेको त चुनावी तालमेल छ भक्तपुरमा त तालमेल भएन छ त ?

हाम्रो पार्टीको हाइकमाण्डले तराईका केही जिल्ला र पहाडका केही जिल्ला गरी करिब ११ जिल्लामा मात्रै तालमेल गरेको हो। हामीले देशैभरि गठबन्धन गरेकाे हाेइन। त्यसअनुरुप हामी अन्य क्षेत्रमा सबैले आफ्नो ढङ्गले उम्मेदवारी दिएका छौँ। हामी मित्रवत् रुपमा चुनावी मैदानमा छौँ।

अन्तिममा भक्तपुर क्षेत्र न. २ का उम्मेदवारले छातामै भोट किन दिने ?

देशमा इतिहासको विभिन्न कालखण्डमा भएका क्रान्ति र क्रान्तिले लिएको उपलब्धिहरु छन्। त्यस्तै २०७२ मा बनेको संविधान हामी धेरै नेपालीको बलिदानकाे उपज हाे। त्यही संविधानमा आडिएकाे संविधान रक्षाका लागि र मेरो क्षेत्रका आम जनताको हितको लागि मेरो उम्मेदवारी हो। मंसिर ४ गते छाता चुनाव चिन्हमा भोट हालेर विजयी गराउनुहोस् भन्ने मेरो अनुरोध छ।

प्रकाशित मिति: : 2022-10-20 22:00:00

प्रतिकृया दिनुहोस्