भग्न सरकारी कम्पनीका कथा (श्रृङ्खला-३)

दुध बेचेर धनी भएकाे संस्थान अब टाट पल्टिँदैछ

BreaknLinks
BreaknLinks

नेपालमा वि.स २००९ सालमा चिज (दुधबाट बन्ने परिकार) उत्पादनकाे सुरुवात भयो। दुग्ध पदार्थसँग सम्बन्धित याे नै पहिलाे उत्पादन थियाे। विकास मन्त्रालयअन्तर्गतको दुग्ध विकास शाखाले रसुवाको लाङटाङमा चौरी गाई र याकको दूधबाट चिज बनाउन सुरु गरेको थियो। 

चिजकाे उत्पादन सुरु भएसँगै गाँउ–घरतिर गाई भैँसी पाल्ने चलन व्यावसायिक पनि हुन थाल्याे। घरघरमा गाई भैँसी थपिदैं जाँदा दुध पनि पर्याप्त परिमाणमा उत्पादन हुन थाल्यो। त्यसपछि किसानले उपभाेग गरेर बढी भएकाे दुध राख्नका लागि २०१० सालतिर काभ्रेको टुसालमा दुग्ध संकलन केन्द्र स्थापना भयो।

शाखाले सुरु गरेको केन्द्रमा त्यहाँ किसानहरू आफैं दुध लैजाने गर्थे। त्यहीबेला शाखाले काठमाडौंको भोटाहिटीमा बिक्री केन्द्र स्थापना गर्याे। र, बिस्तारै दुध पनि बिक्री गर्न थाल्यो। 

२०१३ सालमा शाखाले भक्तपुरको खरिपाटीमा पनि संकलन केन्द्रको सुरुआत गर्‍याे। र, सोही वर्ष लैनचौरमा पहिलो पटक पाँच सय लिटर क्षमताको दुध प्रशोधन कारखाना स्थापना भयो।

यो शाखाको पहलमा २०१४ मा रामेछापको थोदुङ र २०१९ सालमा सोलुखुम्बुको पिकेमा चिज उत्पादन केन्द्रकाे सुरुवात भयो।

नेपालभर फैलिदैँ गइरहेको दुधको शाखा २०१९ सालतिर उक्त ‘दुग्ध विकास बोर्ड’ को नाममा परिणत भयाे। 

२०२६ सालको आर्थिक वर्षको सुरुआतसँगै उक्त बोर्डलाई संस्थान ऐन अन्तर्गत साउन–१ गते दुग्ध विकास संस्थानकाे नाम परिचित बन्याे। 

शाखाबाट संस्थानमा परिवर्तन भएको डिडिसीले लैनचौरमा तीन हजार लिटर प्रति घण्टा क्षमताको दुध प्रशोधन गर्ने कारखाना निर्माण गर्‍यो। 

२०३० सालमा बालाजुमा १५ हजार लिटर प्रति घण्टा क्षमताको आईएसओ प्रमाणित प्लान्ट स्थापना भयो। त्यसलगतै विराटनगरमा आईएसओ प्रमाणित पाँच हजार लिटर प्रति घण्टा क्षमताको अर्को प्लान्ट स्थापना भएको थियो। त्यसपछि हेटौंडामा सोही मापदण्ड भएको तीन हजार लिटर प्रति घण्टाको अर्को प्लान्टको सुरुवात भयो।

देशैभर फैलिरहेको डिडिसीले २०३६ सालमा पोखरामा दुग्ध वितरण आयोजना र २०६१ सालमा निजीकरण गरी २०७१ सालमा आयोजनालाई पोखरा बिक्री केन्द्रको रुपमा परिणत गर्‍यो। २०४६ सालमा लुम्बिनीको बुटवलमा दुई हजार लिटर, नेपालगञ्जको कोहलपुरमा एक हजार लिटर, २०५२ मा विराटनगरमा तीन मेट्रिकको धुलो दूध कारखाना र २०६५ मा जनकपुरको ढल्केवरमा एक हजार पाँच सय लिटर क्षमताको प्लान्ट निर्माण भयो। त्यसपछि २०६६ मा एक हजार पाँच सय लिटरको धनगढीको अत्तरियामा पनि प्लान्ट निर्माण गरियाे। 

सरकारकाे स्वामित्वमा विगतमा पाँच दशकदेखि सञ्चालन भइरहेकाे डिडिसी विगतका दिनहरू मुनाफा रहेपनि अहिले घाटामा छ। खस्किदैं गइरहेकाे छ। 

कसरी खस्कियाे डिडिसी?

आजभन्दा पाँच वर्षअघि मुनाफामा थियो, डिडिसी। वार्षिक ६ देखि ८ अर्बसम्मको कारोबार गर्थ्यो। तर देशभर फैलिरहेको कोभिड–१९ को कारण कारोबार ठप्प भयो। जसकारण डिडिसी पनि खस्किदैं गयो।

डिडिसी घाटामा जानुकाे मुख्य कारण काेभिड–१९ मात्र हाेइन बजारमा धमाधम खुल्न थालेका डेरीकाे पसलहरू र चारैतिरबाट दुध संकलन गर्नु पनि रहेकाे दुग्ध विकास संस्थानले जनाएकाे छ।

अहिले डिडिसीले ४५ वटा जिल्लाहरूबाट दुध संकलन गर्छ। अझै तीन जिल्लामा पनि थपिदैं छ। संस्थानलाई पहिलेकै लयमा ल्याउने हाे भने डिडिसीले केही जिल्लाहरूसँग मात्र सहकार्य गर्नुपर्छ। डिडिसीले जति जिल्लाहरूसँग सहकार्य गर्दैजान्छ, त्यति नै संस्थान खस्किदै जान्छ। किनकी डिडिसीले दुधकाे मात्र नभइ त्याे ल्याएबापतकाे भाडा पनि भुक्तानी गर्नुपर्छ।

डिडिसीका अर्थविज्ञ अन्जन अधिकारीका अनुसार एक लिटर दुध बराबर एघार रूपैयाँ गाडी भाडा तिर्नुपर्छ। साेही कारण डिडिसी सीमित जिल्लाहरूसँग सहकार्य गरेर दुध संकलन गर्नुपर्ने उनकाे बुझाइ छ।

पछिल्लाे वर्ष डिडिसीले धनगढी र नेपालगञ्जबाट ३० लाख लिटर दुध संकलन गरेकाे थियाे। त्यहीअनुसार डिडिसीले ३ कराेड ३० लाख रूपैयाँ गाडी भाडामा खर्च गर्‍याे।

‘डिडिसीको नपत्याउने फर्जूल खर्च भइरहेको छ, यहीकारण डिडिसी खस्किदैं गइरहेको हो’, बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भने, ‘यदी डिडिसीलाई विगतको लयमा फर्काउने हो भने जिल्ला छानेर सहकार्य गर्नुपर्छ। यसले फर्जूल खर्च पनि जोगिन्छ।’ 

कुनैबेला नेपालको चर्चित प्रोडक्ट थियो, डिडिसी। यसले देशभर करिब ७० प्रतिशत भाग ओगटेको थियो भने ३० प्रतिशत मात्र निजी व्यवसायीको थियो। तर विस्तारै नेपालमा ‘च्याउ उम्रिएझैं’ सञ्चालन हुन थाले निजी ‘डेरी’ र विलिन थाल्यो डिडिसी। 

दुग्ध व्यापारमा कुनै समय ७० प्रतिशत हिस्सा ओगटेकाे डिडिसी अहिले ३० प्रतिशतमा झरेकाे छ। कुनैबेला वार्षिक ६–७ अर्बसम्म काराेबार गर्ने डिडिसीले अहिले साढे ४ अर्बकाे मात्र काराेबार गरिरहेकाे छ।

आर्थिक वर्ष २०७९–८० मा ३ करोड ५९ लाख लिटर दुधको कारोबार गरेको डिडिसीले यस पटक भने त्याे भन्दा धेरै कारेाबार गर्ने विश्वास लिएकाे छ। नेपालमा १८–१९ लाख लिटरसम्म दुध उत्पादन भएता पनि १० लाख लिटर मात्र बजारमा काराेबार हुन्छ। त्यहीमध्ये डिडिसीले दिनको एक लाख १० हजार लिटर दुध काराेबार गर्छ। संस्थाले सबैभन्दा धेरै काभ्रेबाट दैनिक २५ देखि ३५ लाख लिटरसम्म दुध संकलन गरिरहेकाे छ। 

किसानकाे ५० कराेड भुक्तानी बाँकी

सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले चैत–२ गते दुधकाे मुल्य बढायाे।

लगातार घाटामा गइरहेकाे डिडिसीले एकैपटक ११ देखि १६ रुपैयाँ दुधकाे मुल्य वृद्धि गराउँदा पनि किसानकाे भुक्तानी रकम भने चुकाउन सकेकाे छैन। डिडिसीले किसानहरूलाई  दुई महिनाकाे ५० कराेड रूपैयाँ भुक्तानी गर्न बाँकी छ। तर असाेजसम्म एक महिनामा झार्ने डिडिसीकाे आसा छ।

‘विगतका दिनहरूमा त किसानका सबै भुक्तानी चुक्ता गरिदिन्थ्यौं तर कोभिडपछि उहाँहरू भुक्तानी रकम दिन ढिला हुन थालेको हो’, उनले भने, ‘तर भदौ महिनादेखि कारोबार बढीरहेको छ। अब त झनै चार्डपर्वको माहोल हँदैछ, कारोबार बढ्न सक्छ। त्यसैले असोजसम्म किसानहरूको भुक्तानी रकम एक महिनामा झर्छ भन्ने आशा गरेका छौं।’

किसानहरूलाई ४५–५० कराेड भुक्तानी तिर्न बाँकी रहेता पनि डिडिसीलाई विश्वास गरेकाे उनले बताए। किसानहरूकाे विश्वास नै डिडिसीकाे उत्पादनकाे स्राेत भएकाे बताउँदै उनी भन्छन्, ‘डिडिसीले भुक्तानी ढिला गरेको भनेर किसानहरू रिसाउनु भएको होला तरपनि उहाँहरू डिडिसीलाई नै विश्वास गर्नुहुन्छ, त्यही भएर त हामीलाई दूध दिइरहनुभएको छ। किसानहरूले जति डिडिसीलाई विश्वास गर्छ, त्यति निजी संस्थानलाई गर्दैन। त्यसैले किसानहरूको विश्वास नै हाम्रो शक्ति हो।’ 

चिजबाट व्यवसायिक यात्रा सुरु गरेको डिडिसीले अहिले दुध, घ्यु, मखन, दही, पनिर, टी मिल्क, चिज, स्किम मिल्क पाउडर, स्लीम मिल्क, फ्रेस मिल्क, लालमोहन, पेडालगायतका दर्जनौं दुग्धजन्य पदार्थ उत्पादन गर्दै आइरहेकाे छ।  

निरन्तर घाटामा जान थालेपछि सरकारले दुग्ध विकास संस्थानका बारेमा बुझ्नका लागि एउटा समिति पनि बनाएकाे छ। याे  समितिले दुग्ध विकास संस्थानकाे ‍ओरालाे यात्रा अनि यसका विविध पक्षहरूकाे अध्ययन गर्नेछ र अब सरकारले चलाउने कि नचलाउने भन्ने सुझाव पनि दिनेछ। 


याे पनि

आफ्नै कम्पनी थला पारेर निजीसँग अर्बौंको औषधि व्यापार गर्छ सरकार

हेटौँडा कपडा उद्योग: भद्रगोल राजनीतिले मेटाएको एउटा नेपाली ‘सान’

 

प्रकाशित मिति: : 2023-08-29 21:20:00

प्रतिकृया दिनुहोस्