गाजुरामको सीप : पालादेखि घैंटोसम्मले पाउँछन् आकृति

दाङको गढवा गाउँपालिका–१ पत्रिगाँ निवासी ६८ वर्षीय गाजुराम थारु कुमाल पाला बनाउन व्यस्त छन्। गाजुरामलाई सघाइरहेका छन्, उनका छोरा ताराबहादुर र नाति विनायक। उज्यालो पर्वकाे रूपमा मनाइने तिहारलाई लक्षित गरेर गाजुराम, उनका छोरा र नातिले पाला बनाउन थालेसँगै उनीहरुको दैनिकी व्यस्त बनेको छ।

जान्ने सुन्ने भएसँगै माटोबाट बन्ने सामाग्री बनाउन थालेका गाजुराम आजसम्म पनि माटाका विभिन्न सामाग्री बनाउन छाडेका छैनन्। उनको दैनिकी नै माटोबाट बनेका विभिन्न सामाग्री बिक्री गरेर चल्ने गरेको छ। अहिले नेपालीहरुको दोस्रो महान पर्व तिहारका लागि पाला बनाउँदैमा उनीहरुको पारिवारको दैनिकी बितिरहेको छ।

कसैले माटो भिजाउने, कसैले भिजेको माटोबाट पालालाई आकार दिने र कसैले ती पालाहरु सुकाउने काम गरिरहेका छन्। अन्य समयको तुलनामा तिहारमा माटाका पाला धेरै बिक्री हुने भएपछि परिवारले अन्य काम छाडेर पाला बनाउने काम गर्दै आएको गाजुराम बताउँछन्। ‘तिहारमा माटाबाट बनेका पाला धेरै बिक्री हुन्छ। खोज्दै घरसम्म पनि आउनुहुन्छ,’ उनी भन्छन्, ‘धेरै बिक्री हुने भएपछि हामी परिवार नै पाला बनाउन लागेका छौँ।’

यस वर्ष दसैँमा पानी परेकाले पाला बनाउन ढिला भएको उनी बताउँछन्। ‘तिहारका लागि दसैँलगत्तै माटोको पाला बनाउने सोच थियो। तर पानीका कारण सुकाउने समस्या हुँदा बनाउन सकिएन’, गाजुरामले भने, ‘जसले गर्दा अहिले पाला बनाउन हतार भइरहेको छ।’

तिहारमा प्लाष्टिकका झिलीमिली बत्ती र मैनबत्तीभन्दा माटोको पालामा दियो बाल्नु राम्रो हुने भएकाले पछिल्लो समय पालाको माग बढेको उनको भनाइ छ। ‘अरुबेला खासै बिक्री नहुने गरे पनि तिहारको समयमा धेरै बिक्री हुने गरेको छ’, उनी भन्छन्,‘अरू काम छाडेर परिवार नै पाला बनाउने र पकाउने काममा लागेका छौँ।’

गाजुरामले पछिल्लो समय घरबाटै नै पालाहरु बिक्री हुने गरेको बताए। बढी रुपमा घरबाटै पालाहरु बिक्री गर्ने गरेको बताउँदै उनले अडरअनुसार पाला घोराही, भालुवाङसँगै प्युठान र कपिलवस्तुलगायतका ठाउँमा पनि बिक्री वितरण गर्ने गरेको जानकारी दिए।

गाजुरामले अन्य समयमा माटोबाट बन्ने गमला, पैना, खुत्रुके, घैंटोलगायतका सामाग्री बनाउने गरेको विनायक थारु कुमालले बताए। फुर्सदमा पाला बनाउने काम गर्दा पढाइ खर्च जुटिरहेको उनको भनाइ छ। विनायक गाउँकै विद्यालयमा कक्षा ९ मा अध्ययनरत छन्।

उत्पादित माटोका भाँडा र पालाहरु देउखुरी उपत्यकासहित दाङ, प्युठान र कपिलवस्तुका विभिन्न ठाउँमा बिक्री गर्ने गरेको गाजुरामले बताए। उनकाअनुसार प्रतिपाला पाँचदेखि दश रुपैयाँमा बिक्री हुने गर्छ।

अहिले माटोका भाँडाहरु बिक्रीका लागि समस्या नभएको गाजुराम बताउँछन्। कुनै समय स्टिल तथा प्लाष्टिकका भाँडाहरुले गर्दा माटाका भाँडाहरु बिक्रीमा समस्या भएपनि पछिल्लो समय राम्रो बिक्री हुँदैआएको उनले बताए। उनले माटाका भाडाहरु बिक्रीबाट गरेर नै घरपरिवार चलिरहेको बताए।

प्रकाशित मिति: : 2022-10-23 21:15:00

प्रतिकृया दिनुहोस्