प्रजनन् स्वास्थ्य : अस्पताल नगएर प्रयोग गर्न सकिने ‘सायन प्रेस’ के हो ?

नेपालका आठ जिल्लामा मात्र विस्तार

File Photo
File Photo

‘सायन प्रेस’ महिलाले प्रयोग गर्न मिल्ने परिवार नियोजनको अस्थायी साधन हो। नयाँ अस्थायी साधन ‘सायन प्रेस’ हाल नेपालका आठ जिल्लामा मात्र प्रयोगमा ल्याइएको छ। २०७८ सालबाट नेपालका दुई जिल्लामा परीक्षणका रुपमा प्रयोग गरिएको यस गर्भ निरोधक अस्थायी साधन आर्थिक वर्ष २०७९/०८० बाट थप ५ जिल्लामा विस्तार गरिएको थियो।

सुरुमा सिन्धुली र नवलपरासी पूर्वका दुई जिल्लामा प्रयोगमा ल्याइएको सायन प्रेस नयाँ आर्थिक वर्ष २०७९/८० बाट मोरङ, पर्सा, ललितपुर, रोल्पा र कैलालीमा विस्तार गरियो। यहि पौष महिनाको अन्तिमदेखि दाङमा पनि सायन प्रेसको प्रयोगको विस्तार गरिने भएसँगै अब नेपालका आठ जिल्लामा सायन प्रेसको प्रयोग गरिने भएको छ।

फाइजरले निर्माण गरी पहिलो पटक सन् २०१२ मा प्रयोगमा ल्याएको यो सायन प्रेस सुई विश्वका ५२ देशले प्रयोग गरिरहेका छन्। यस सायन प्रेस सुईलाई तीन महिने डिपोप्रोभेरा सुईको विकल्पका रुपमा लिइएको छ। सायन प्रेस, डिपोप्रोभेरा जस्तै भए पनि अझ परिस्कृत रुपमा तयार पारिएको तथा प्रयोग गर्न पनि सजिलो साधनको रुपमा रहेको नेपाल परिवार नियोजन संघ दाङकी स्टाफ नर्स प्रभा केसीले जानकारी दिइन्।

डिपोप्रोभेरा सुई लगाउन तीन–तीन महिनामा अस्पताल जानुपर्ने र स्वास्थ्यकर्मीबाटै लगाउनु पर्ने हुन्छ। तर सायन प्रेस तीन महिने सुई भए पनि एक पटक स्वास्थ्यकर्मीको सल्लाहपछि अर्को पटकबाट आफैँ लगाउन सकिने सुईका रुपमा तयार पारिएको छ। अहिले २५ देशहरुका महिलाहरुलाई आफैँ लगाउनका लागि अनुमति दिइएको छ।

सायन प्रेस सुई प्रयोगमा आएको १० वर्षमै ५२ देशमा प्रयोगको विस्तार भएको र २५ देशमा आफैँ महिलालाई लगाउनका लागि अनुमति दिइएको छ। नेपालमा पनि सायन प्रेसको प्रयोगलाई छिट्टै देशभर विस्तार गरिने अभियान रहेको परिवार नियोजन संघ दाङका शाखा प्रबन्धक वसन्त खनालले बताए।

यो सुई नि:शुल्क रुपमा लगाउन पाइने छ। संयुक्त राष्ट्र संघ जनसंख्या कोष युएनएफपिएको सहयोगमा नेपालमा पनि सायना प्रेस सुई लगाइने भएको खनालले जानकारी दिए।

डिपोप्रोभेराभन्दा सायन प्रेस किन राम्रो?

गर्भ निरोधक साधन डिपोप्रोभेरा तीन महिने सुईका विकल्पका रुपमा सायन प्रेस सुईलाई लिइएको छ। नेपालमा सबैभन्दा बढी प्रयोग गरिने डिपोप्रोभेरा तीन महिने सुईभन्दा सायन प्रेस सुई किन राम्रो छ? भन्ने प्रश्नमा नेपाल परिवार नियोजन संघ दाङकी स्टाफ नर्स प्रभा केसी भन्छिन्, ‘सायन प्रेस नयाँ र परिस्कृति रुपमा आएको परिवार नियोजनको अस्थायी साधान हो।’ अर्को डिपोप्रोभेरा अस्पतालमा आउनुपर्ने र स्वास्थ्यकर्मीले नै लगाउनु पर्ने हुन्छ। तर सायन प्रेस सुई एक पटक अस्पतालबाट सल्लाह लिएपछि अर्को पटकबाट आफैँ पनि लगाउन सकिन्छ।

स्टाप नर्स केसीकाअनुसार डिपोप्रोभेरामा भएको प्रोजेस्टेरोन हर्मोन १५० मिलिग्राम हुन्छ भने सायना प्रेसमा १०४ मिलिग्राम रहेको हुन्छ। डिपोप्रोभेरा पाखुरा, तिघ्रामा लगाइन्छ भने मासुमा लगाउनु पर्ने हुन्छ। तर सायन प्रेस पाखुराको तल्लाको भागमा, तिघ्रामा र पेटमा लगाउन सकिन्छ भने छालाभित्र बोसोमा लगाउनु पर्ने हुन्छ।

यस्तै डिपोप्रोभेरा र सायन प्रेसको एउटै रहेको उनले बताइन्। सायन प्रेसले तीन महिनासम्म काम गर्ने र गर्भ रहनबाट रोक्न काम गर्छ। महिनावारी भएको सात दिनमा यो सुई लगाउन सकिने तथा सही तरिकाले प्रयोग गरेमा ९९ प्रतिशत प्रभावकारी रहेको उनको भनाई छ।

यसैगरी, स्तनपान गराइरहेकी सुत्केरी महिलाको हकमा ६ हप्तापछि लगाउन सकिने, स्तनपान नगराउने सुत्केरी महिलाको हकमा २१ दिनभित्र लगाउने तथा अन्य हर्मोनल साधन प्रयोग गरिरहेका महिलाले पनि यो साधन प्रयोग गर्न चाहेमा तुरुन्तै प्रयोग गर्न सक्ने मात्रै नभई गर्भपतनपश्चात तुरुन्तै लगाउन सकिने प्रभावकारी साधन मानिएको छ।

यस्तै महिलाले स्वनिर्णय गरी लगाउन सक्ने सुई भएको हुँदा लगाएको अरु व्यक्तिलाई थाहा नहुने केसीले बताइन्।

प्रकाशित मिति: : 2022-12-27 18:01:00

प्रतिकृया दिनुहोस्