लुम्बिनी प्रदेश : ५८ सांसदको समर्थनसहित मुख्यमन्त्रीका लागि गिरीले गरे दाबी पेश

लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीका लागि ५८ जना सांसदकाे समर्थनसहित एमाले संसदीय दलका नेता लिला गिरीले दाबी पेश गरेका छन्।

एमाले पोलिटब्युरो सदस्यसमेत रहेका गिरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बुधबार दिउँसाे करिब २ बजे मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन्।

गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन रहेको छ।

मंगलबारसम्म ५५ जना सांसदकाे समर्थन रहने गिरीले नै बताएका थिए। बुधबार ३ जना सांसद रहेकाे लाेकतान्त्रिक समाजवादी पनि सरकारमा सहभागी भएपछि गिरीलाई समर्थन गर्नेकाे संख्या ५८ पुगेकाे हाे।

८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ सांसद भए बहुमत पुग्छ। गिरीलाई प्रदेशसभाका १० मध्ये ७ दल र २ स्वतन्त्र सांसदको समर्थन रहेको छ।

गिरीलाई आजै मुख्यमन्त्री नियुक्त गरिने प्रदेश प्रमुखकाे कार्यालयले जनाएकाे छ।

प्रकाशित मिति: : 2023-01-11 14:16:00

प्रतिकृया दिनुहोस्