डा. तिलक डाँगी, जसले गरे गाउँलेहरूको निःशुल्क उपचार

गाउँबाट सहर गएर डाक्टर पढेका अधिकांश व्यक्तिहरू आफ्नो गाउँ फर्किन चाहँदैनन्। फर्के पनि निःशुल्क सेवा गर्दैनन्। तर रोल्पाको परिवर्तन गाउँपालिका–२ राङ्सी भलाकामा जन्मिएका डा. तिलक डाँगीले भने शुक्रबार आफ्नो गाउँ पुगेर गाउँलेहरूको नि:शुल्क उपचार गरेका छन्।

विशेषज्ञ डाक्टरसहित त्यहाँ पुगेका डा. तिलकले दिनभरी गाउँलेहरूको स्वास्थ्योपचार गरे। जिल्ला अस्पताल रोल्पामा कार्यरत डा. तिलकलाई आफ्नै गाउँमा आएर एक दिन निःशुल्क सेवा गर्न स्थानीय स्वास्थ्य चौकी राङ्सीले आग्रह गरेपछि उनले त्यहाँ पुगेर सेवा दिएका हुन्।

आफू जन्मेको गाउँमा पुगेर गाउँलेहरूको सेवा गर्न पाउँदा आफूलाई छुट्टै आनन्द प्राप्त भएको डा. तिलकको भनाई छ। आफ्नै गाउँको डाक्टर आउँदै छ भनेपछि गाउँलेहरू पनि खुसी भएर सेवा लिन आएका थिए। ‘आफ्नै गाउँको केटो डाक्टर भएकोमा गाउँलेहरू खुसी देखिन्थे’, डा. तिलकले भने, ‘यही हो केटो भन्दै आफन्तहरूले त अङ्गालोसमेत हाले।’

स्वास्थ्य चौकी राङ्सीको आयोजना तथा सत्प्रयास समूहको सहकार्यमा भएको उक्त एक दिने शिविरबाट ५ सय ७५ जनाले स्वास्थ्य सेवा पाएका छन्। हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. सोम आले नेतृत्वको टोलीमा रोल्पाकै डा. सविना घर्तीले पनि सेवा दिएका थिए।

शिविरमा भिडिओ एक्सरे, डेन्टल र ल्याब सेवासमेत दिइएको थियो। शिविरबाट आर्थिक अभावका कारण उपचार गर्न नसकेकाहरूले शिविरबाट लाभ लिएको वडाध्यक्ष हरिप्रसाद बुढाको भनाई छ। उक्त अवसरमा डा. तिलकले स्थानीय जनसेवा माविका विद्यार्थीहरूलाई आफ्नो अनुभव समेत सुनाएका थिए।

प्रकाशित मिति: : 2023-02-21 11:22:00

प्रतिकृया दिनुहोस्

    शिविरमा एक दिन मात्र पनि नि:शुल्क काम गर्न तयार हुने डाक्टर पाउन मुस्किल छ, राङ्सीमा संचालन भएको शिविरमा श्रमदान गर्नुहुने डाक्टर सावहरुलाई सलुट,,,,,,

    • एक बर्ष अगाडि
    • KB Dangi