नर्वेकी क्रिस्टिनले वसन्त ऋतुकाे याे सिजनमा मकालु हिमालमा पहिलाे पाइला टेकिन्

विश्वको पाँचौँ अग्लो हिमशिखर मकालु हिमाल (८४६३ मि.)मा वसन्त ऋतुको यस सिजनमा नर्वेकी क्रिस्टिन हरिलाले पहिलो आरोहण गरेकी छिन्।

उनले आज (शनिबार) बिहान ८:३५ बजे मकालु हिमाल आरोहण पूरा गरेको सामाजिक सञ्जालमार्फत् जानकारी गराएकी छिन्। टोलीमा सेभेन समिट ट्रेक्स कम्पनीका फिक्सिङ टिम लिडरमा लाक्पा शेर्पा र गाइड तेन्जेल (लामा) शेर्पा थिए।

त्यस्तै स्वीडेनका राउल एरिक हेलान्डरसहित पेम्बा छिरी शेर्पा र ङिमा नुरु शेर्पाको टोलीले बिहान ११ : ०५ बजे मकालु हिमाल आरोहण गरेको इम्याजीन नेपाल ट्रेक्सले जनाएको छ।

– imagine nepal

गत अप्रिल १५ मा कतारी राजपरिवारकी सदस्य शेखा अस्मा अल थानी पर्वतारोही निर्मल (निम्स) पुर्जासहितको टोलीले विश्वको दशौं अग्लो शिखर अन्नपूर्ण हिमालको आरोहण गर्दै स्प्रिङ सिजनको हिमाल आरोहण सुरुवात गरेको थियो।

अन्य ८ हजारमाथिका हिमाल सगरमाथा, धौलागिरी, कञ्चनजंगा, ल्होट्सेलगायतका हिमालहरु आरोहणका लागि सयौँ आरोहीहरु चढ्ने तरखरमा छन्। बिएल नेपाली सेवालाई प्राप्त जानकारीअनुसार उपयुक्त मौसमको पर्खाइमा आरोहणमा समस्या भएको र ढिलाइ भएको बताइएको छ।

पर्यटन विभागकाअनुसार यस वर्ष ५८ जनाले मकालु आरोहणका अनुमति लिएका छन्।

त्यस्तै सगरमाथाको लागि ४  सय ६६, अन्नपूर्णका ५४, ल्होट्से १ सय २६, धौलागिरी ३५, कञ्चनजंगा ४२, मनास्लु १५ लगायत अन्य पिकहरु गरी १ हजार ७९ जनाले आरोहण अनुमति लिएका छन।

प्रकाशित मिति: : 2023-05-13 14:50:00

प्रतिकृया दिनुहोस्