१२ वर्षपछि संस्कृत विश्वविद्यालयले दीक्षान्त समारोह गर्दै,  ५७५ जना विद्यार्थी दीक्षित हुने

प्रधानमन्त्रीसहित स्वदेशी-विदेशी पाहुना दाङ आउँदै

नेपाल संस्कृत विश्वविद्यालयले १२ वर्षपछि दीक्षान्त समारोह गर्दैछ। दाङको बेलझुण्डीमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयले भोली (जेठ ३१ गते) पाँचौं दीक्षान्त समारोह गर्न लागेको हो। 

बेलझुण्डीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा हुने दीक्षान्त समारोहको तयारी पुरा भएको समारोह मूल समिति संयोजक एवं विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले जानकारी दिए। 

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा हुने समारोहमा ५७५ जना विद्यार्थी दीक्षित हुँदैछन्। शैक्षिक शत्र २०६७ देखि २०७७ सम्म विद्यावारिधि, आचार्य, शास्त्री, आयुर्वेद स्नातक, एकवर्षे शिक्षाशास्त्रीमा उत्तीर्ण ४ हजार ७ सय ७३ विद्यार्थीमध्ये दीक्षित हुनका लागि आवेदन दिएका ५७५ जना दीक्षार्थी दीक्षित हुने परीक्षा नियन्त्रक डा. बाबुराम आचार्यले जानकारी दिए। 

उनका अनुसार बिहान साढे ११ बजेदेखि सुरु हुने समारोहमा ६२ जना विद्यार्थीलाई स्वर्ण पदकले सम्मान गर्ने कार्यक्रम रहेको छ।  कार्यक्रम प्रधानमन्त्री प्रचण्डको अध्यक्षता तथा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठीको प्रमुख आतिथ्यमा हुँदैछ।

यस्तै कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्व मुख्यमन्त्रीहरुका साथै संघ तथा प्रदेशका सांसदहरुको उपस्थिति रहने विश्वविद्यालयले जनाएको छ।

यसैबीच समारोहका पाहुँनाहरु आज (मंगलबार) साँझसम्म दाङ आइपुग्ने उपकुलपति कार्यालय प्रमुख उपप्रशासक विनय पोख्रेलले जानकारी दिए। उनकाअनुसार प्रधानमन्त्री प्रचण्ड भने भोलि विहान हेलिकप्टरबाट समारोहमा पुग्नेछन्। 
 

प्रकाशित मिति: : 2023-06-13 15:35:00

प्रतिकृया दिनुहोस्