लुताे फाल्ने साउने संक्रान्ति

साउने संक्रान्ति एक ऐतिहासिक सांस्कृतिक महत्त्व बाेकेकाे पर्व हाे। जाे किसानकाे जीवनसँग सम्बन्धित पर्वकाे रुपमा चिनिन्छ। 

सामान्यत: असारमा किसानहरु लामाे समय हिलाेमा रहन्छन्। हिलाेबाट लुताे, ततानेलगायतका छालासम्बन्धी राेग लाग्छन्।

असार महिनाकाे काम सकिएपछि साउनमा फुर्सद हुन्छ। यही फुर्सदको पहिलाे दिनलाई साउने संक्रान्ति वा लुताे फाल्ने दिनकाे रुपमा मनाउने गरिन्छ।

साउने संक्रान्तिमरकाे दिन जुम्लीहरुले प्रत्येक घरका छतमा राँकाे हालेर मनाउँछन्। राँका हालेकाे बेला खाेला पारिकालाई गाली गर्ने गरिन्छ।

यसरी राँका हालेर गाली गर्नुका मुख्यगरी तीनवटा कारणहरु छन्। पहिलाे, हनुमानले लंका जलाएकाे दिनकाे स्मरण गर्ने। दाेस्राे, लुताे, चिलाउने, आदि इत्यादि प्रदुषणजन्य राेगहरुकाे निवारणका लागि कण्डारककाे पुजा गर्न राँकाे हाल्ने धार्मिक विधान छ। जसले चर्म राेगहरु निकाे हुन्छन् भन्ने विश्वास भएकाे हुनाले नै राँकाे हाल्ने गरिन्छ।

तेस्राे कारणमा जुम्ला राज्यका संस्थापक राजा बलिराज दिल्लीमा भएको हिन्दु विराेधी मुसलमानहरुकाे विद्राेह जितेर आएपछि त्यसैकाे खुसियालीमा दिपावली स्वरुप राँकाे हाल्ने गरिएको जनश्रुति छ।

राँकाे घरकाे छतमा हालसकेपछि खाेला पारिका गाउँलेहरुलाई गाली गर्दै लुताे फाल्ने गरिन्छ। यसरी साउने संक्रान्तिकाे दिन गरिने गालीका शब्दहरु अपाच्य र सुन्न नमिल्ने, भद्दा वा व्यक्ति केन्द्रित नभई खाेलापारिका समग्र गाउँले केन्द्रित हुन्छन्।

जस्तै 'तुताे, पाब्डाे, खाइने खड्काउने लैजाउ ऐ पारिफाल्या ढाग्र्याै, फाटाे फेरुवा लैजाउ, नाैंलाे फेरुवा दिजाउ ऐ पारिपट्टीका ढाग्र्याै, दुहुनी गाई दिइजाउ बाँठ्या गाई लैजाउ आदि।' 

यस्ता गालीमा नराम्रो दिने र राम्राे ल्याउने कुरा हुन्छन्। लुताे फाल्नलाई राँकाे फाल्दै गाली गर्ने गरिन्छ।

जेठ, असारमा निरन्तर काममा खटिने छाेरीचेलीहरुलाई माइत बाेलाएर आराम गराउने र मिठाे मसिनाे खुवाउने गरिन्छ। 

एक दशक अघि मात्रै साउने संक्रान्तिकाे दिन महिलाहरुले मार्सी धानका जिउला नजिककाे थलामा गएर देउडा खेल लगाउने गरे पनि पछिल्लो समय याे चलन हराउँदै गएकाे छ।

महिलाहरु आफ्ना पिर बिसाउन, थकान मेट्न देउडा खेल लगाउँथे। त्यही जिउलाबाट फूल ल्याएर आउँथे। अनि घरमा राँका हालिन्थ्याे।

साउने संक्रान्ति पर्व लगीमानी प्रथासँग पनि जाेडिएकाे छ। साउने संक्रान्तिकाे दिन घरकाे छतमा राँका हाल्ने दियालो ल्याउने काममा लगीमानी प्रथाले खुब काम गर्छ।

हुने-खाने कथित माथिल्लो जातका बाहुन वा क्षेत्री कथित तल्लो जातका लगीमानी मानिन्छन्। दलितहरुले आफ्नाे लगीका धेरै काममा सघाउनुपर्ने हुन्छ। यसरी सघाएवापत कतिले कमसल खेत, पाखाेबारी वा वर्षकाे अन्तिममा केही अन्न खालाेका रूपमा दिन्छन्।

कथित माथिल्लो जातका लगीकाे गर्नुपर्ने थुप्रै कामकाे सूचीमा पर्छ साउने संक्रान्तिकाे झराे (दियालाे)। 

यसरी दलितहरु आफ्ना लगीकाे घरमा झराे पुर्‍याउन गइरहेकाे दृश्य हरेक साउने संक्रान्ति आउने बेला देखिरहेकाे हुन्छ।

प्रकाशित मिति: : 2023-07-17 21:00:00

प्रतिकृया दिनुहोस्